काठमाडौ– व्यवस्थापिका संसदले श्रम विधेयक पारीत गरेको छ । संसदको शुक्रवारको बैठकले सो विधेयक पारीत गरेको हो । विगत लामो समयसम्म छलफल भई संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समिति हुँदै सो विधेयक संसदको बैठकमा पुगेको थियो । सो विधेयक पारीत गरियोस् भन्दै श्रम मन्त्री फरमुल्लाह मन्सुरले राखेको प्रस्ताव संसद बैठकले पारीत गरेको हो । पारीत विधेयकलाई अव राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेपछि सो ऐन हुनेछ र लागु हुनेछ ।
नयाँ श्रम विधेयक श्रमिकका लागि यसअघिको ऐन भन्दा धेरै हिसावले उपलव्धीपूर्ण रहेको छ । शुक्रवार पारीत भएको विधेयकले अव एक जना श्रमिक कार्यरत भएपनि श्रम ऐनको दायरामा आउनेछ । यसअघिको ऐनमा कम्तीमा १० जना श्रमिक कार्यरत स्थानमा मात्र श्रम ऐन लागु हुने व्यवस्था थियो ।
यसैगरी पारीत विधेयकमा काम सुरु गरेको पहिलो दिनदेखि नै लागु हुने गरी श्रमिकको नाममा सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ । यसअघि पारीत सामाजिक सुरक्षा विधेयक हाल राष्ट्रपति कार्यालयमा प्रमाणिकरणका लागि पुगेको छ । सो विधेयक प्रमाणिकरण भएपश्चात सो ऐन अनुरुप योगदान गर्ने श्रमिकहरुले सामाजिक सुरक्षा पाउनेछन् । त्यसैले श्रम ऐनले गरेको यो व्यवस्था श्रमिकका लागि महत्वपूर्ण छ ।
यसैगरी पारीत विधेयकमा यसअघि सञ्चय कोष जम्मा नभएको भएपनि नयाँ ऐन लागु भएकै दिनदेखि लागु हुनेगरी हरेक श्रमिकको सञ्चयकोष जम्मा हुने व्यवस्था गर्नुपर्ने व्यवस्था पारीत विधेयकमा छ ।
यो पनि पढ्नुहोस्
प्रवासी नेपाली मञ्चले भेट्यो राजदूतलाई
