
काठमाडौं– नेपाल स्वरोजगार व्यापार श्रमिक संघको पाँचौ राष्ट्रिय अधिवेशन काठमाडौंमा सुरु भएको छ । जिफन्टको घटक युनियन स्वरोजगार श्रमिक संघको अधिवेशनले नयाँ नेतृत्व पनि छनौट गर्नेछ ।
अधिवेशनको उद्घाटन गर्दै जिफन्ट अध्यक्ष विष्णु रिमालले रोजगारी दिन नसक्ने राज्यले आफैं गरेर खान्छु भन्ने स्वरोजगार श्रमिकलाई सम्मान गर्नुपर्ने बताए । उनले फुटपाथमा बसेर व्यवसाय गर्नु कसैको रहर नभएको भन्दै यसलाई व्यवस्थीत गर्न राज्य अघि सर्नुपर्ने र त्यसमा सहयोग गर्न ट्रेड युनियन तयार रहेको बताए ।
स्थानीय तहको निर्वाचन भइसकेको अवस्थामा अव स्वरोजगार श्रमिकका समस्या समाधानका लागि स्थानीय तहसँगै मिलेर छलफल गर्दै समस्याको समाधान गर्न सकिने भन्दै अध्यक्ष रिमालले त्यसतर्फ लाग्न सुझाव दिए ।
अर्को प्रसंगमा बोल्दै अध्यक्ष रिमालले हालै संसदले पारित गरेको सामाजिक सुरक्षा ऐनका लागि झण्डै १५/२० बर्ष अघि देखि प्रयत्न गर्नुपरेको स्मरण गरे । आफूहरुको लामो प्रयास पछि ऐन आएको भन्दै सन् २०१७ भित्रै त्यो व्यवहारमा लागु हुने अपेक्षा प्रकट गरे । सामाजिक सुरक्षा योगदानमा आधारित हुने भएका कारण त्यसमा सहभागि हुन अध्यक्ष रिमालले सवै श्रमिकलाई आग्रह गरे । उनले स्वरोजगार श्रमिकलाई पनि सो ऐनले समेट्ने भन्दै यसका बारेमा बढी भन्दा बढी श्रमिकलाई जानकारी गराउनु आवश्यक रहेको बताए ।
सो अवशरमा विशेष अतिथिका रुपमा बोल्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले खुल्ला ठाउँमा बसेर आर्थिक उपार्जन गर्नु बाध्यता भएको आफूले बुझेको बताए । उनले स्वरोजगार श्रमिकका समस्या समाधान गर्न आफू सर्प पनि मर्ने, लठ्ठी पनि नभाँचिने उपाय अवलम्वन गर्ने पक्षमा रहेको बताए । महानगर प्रमुख शाक्यले समस्या समाधानका विकल्पमा आफू स्वरोजगार व्यापार श्रमिक संघको नयाँ नेतृत्वसँग बसेर छलफल गर्न ईच्छुक रहेको पनि बताए । उनले रात्री बजार सञ्चालन कसरी गर्न सकिन्छ भनेर आफूले प्रहरीसँग समेत छलफल गरिरहेको जानकारी गराए ।
दुई दिनसम्म चल्ने अधिवेशन उद्घाटन समारोहमा स्थानीय तहको निर्वाचनमा विजयी भएका नेपाल स्वरोजगार व्यापार श्रमिक संघका सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि विष्णु रिमालले सम्मान पनि गरे । नेपाल स्वरोजगार व्यापार श्रमिक संघका अध्यक्ष कुमार सापकोटाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नरनाथ लुईंटेल, भवानी शर्माले पनि मन्तव्य राखे । देशभरीबाट आएका १ सय ९ जना प्रतिनिधिले साउन २६ गते नयाँ नेतृत्व चयन गर्नेछन् । तस्वीरः भीमज्वाला राई
यो पनि पढ्नुहोस्
घरबाट नागरिकता मगाएपछि हराएको छोरो खोजिदिन आमाको आग्रह