
काठमाडौं, साउन २४-
रामचन्द्र तिमल्सीनाकी श्रीमती सरिता तिमल्सिनालाई सपना जस्तै भयो सोमवारको दिन । साउदीको जेलमा २७ महिना बिताएका श्रीमान फोन नै नगरी घर आइपुग्लान भन्ने कल्पना समेत गरेकी थिएनन् सरिताले । केस अलि जटिल भएको कारण परिवारले पनि पत्याएको थिएन यति चाँडै रामचन्द्र घर फर्किन्छन् भनेर । तर यति चाँडै घर फर्किएकोमा परिवार दंग त छँदैछन् । सधैँ मलिन अनुहारमा हुने परिवारमा खुशीयाली छाएको छ । घरमा बुवा, आमा, श्रीमती, छोरा र भाइ छन् ।
उनकी श्रीमतीले मात्रै होइन कमाउन गएको छोरो रित्तो हातको पखाईमा बसेका परिवारले समेत नपत्याउने गरी तिमल्सिना नेपाल आएका छन् ।
अहिले उनको घरमा खुसीयाली छाएको छ । साउदीमा २७ महिना १३ दिन जेल बसेका रामचन्द्रलाई पनि थाहा थिएन, सोमबार नेपाल आइन्छ र परिवारसँग भेटिन्छ भनेर । उनले भावुक हुदै भने,‘जब प्रहरीले एक्कासी लुगा लगा भनेपछि किन मलाई अन्यत्रै सार्न लागेको भन्ने सोचेका थिए । तर, एयरपोर्टसम्म ल्याएपछि ल तिम्रो टिकट लिउ र नेपाल जाउ भन्नेपछि मेरो खुशीको सिमा नै रहेन ।’ कुन दिन जाने भन्ने आफुलाई थाहा नदिइएका कारण आफू आउँदै गरेको कुरा परिवारमा पनि भन्न नपाएको उनले बताए ।
‘त्रिभुवन अन्र्तराष्ट्रिय एयरपोर्ट झरे पछि एउटा ट्याक्सी रिजर्भ गरेँ र त्यहि ट्याक्सी चालकको फोन मागेर श्रीमतीलाई फोन गरे । तर, परिवारमा विश्वास नै गरेनन, कसैले पत्याएनन, एक घण्टामा घर पुग्दा सबै छक्क पर्नुभयो । घरमा बुवा पछिको रामचन्द्रको दाइ हुनुहुन्थ्यो । दाइको पनि केही समय अगाडि निधन भएपछि घरमा बुवा भन्दा दोस्रो अभिभावक थिए रामचन्द्र ।
पाकिस्तानी नागरिकको हत्याको अभियोगमा पक्राउ परेका तिमिल्सीनालाई साउदीको अदालतले आजिवन कारावासको सजाय तोकेको थियो । तिमिल्सीनाले चलाएको गाडीको ठक्करबाट ति पाकिस्तानी नागरिकको मृत्यु भएको र तिमिल्सीनाले मादक पदार्थ सेवन गरी गाडी चलाएको अदालतले ठहर गरेको थियो । तिमिल्सीनालाई आजिवन कारावासको सजाय तोकिएको भएपनि विश्वका विभिन्न देशमा रहेका नेपालीले रकम उठाएर पाकिस्तानी नागरिकको परिवारलाई व्लड मनी तिरेपछि तिमिल्सीना जेलमुक्त भएका हुन् ।नयाँ पत्रिकाबाट