
काठमाडौं- प्रदेश नम्वर १ का श्रमिकहरुको क्षमता अभिवृद्धिका लागि तीन दिने तालिम सम्पन्न भएको छ । तालिममा तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लाका ३७ जना कृषि श्रमिक सहभागि थिए ।
श्रमिकका आधारभूत अधिकार तथा कार्यथलोमा प्राप्त हुने अधिकारका बारेमा श्रमिकलाई सचेत गराउने उद्धेश्यले आइएलओको सहयोगमा नेपाल ट्रेड युनियन महासंघ –जिफन्ट_ ले तालिम आयोजना गरेको हो ।
सो तालिममा जिफन्टका सचिव समेत रहेका जिफन्ट प्रदेश नं १ का संयोजक दिपक पौडेल, प्रदेश सचिव किशोर धमला, भैरव पाठक, निलम ढुँगेलले सहभागिहरुलाई संगठन स्वतन्त्रताको अधिकार, सामुहिक सौदावाजीको अधिकार, बाध्यकारी श्रम, बाल श्रम निवारणका लागि गर्नुपर्ने प्रयास लगायतका बारेमा प्रशिक्षण दिनुभयो ।
प्रशिक्षणको समापनका अवशरमा प्रमुख अतिथिका रुपमा बोल्दै जिफन्टका महासचिव विष्णु लम्सालले संगठनको महत्व, यसको आवश्यकता तथा सामाजिक सुरक्षाका बारेमा जानकारी गराउनुभयो । तालिम साउन १६, १७ र १८ गते विराटनगरमा सम्पन्न भएको हो ।