१० हजारलाई सीपमूलक तालिम

काठमाडौं, साउन २२-

सरकारले गएको आर्थिक वर्षमा वैदेशिक रोजगारमा जाने युवालाई लक्षित गरी सञ्चालित निःशुल्क तालिममा झण्डै दस हजार युवाले तालिम लिएका छन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको आयोजनामा देशका सातै प्रदेशलाई समेट्ने गरी वैदेशिक रोजगारमा जाने युवालाई यस्तो एकमहिने तालिम दिइएको हो ।

नेपालबाट वैदेशिक रोजगारीमा अधिकांश अदक्ष कामदार जाने र उनीहरू उच्च जोखिममा पर्ने गरेपछि सरकारले गएको आर्थिक वर्षदेखि वैदेशिक रोजगारमा जाने युवालाई दक्ष बनाउने उद्देश्यले तालिमका लागि १५ करोड रुपियाँ छुट्याएको थियो । सोही बजेटबाट बोर्डले त्यो सङ्ख्याका बेरोजगार युवालाई निःशुल्क तालिम उपलब्ध गराएको हो । 

बोर्डका निर्देशक निर्मला थापाले विदेश जान चाहने युवालाई निर्माण र होटलका विभिन्न १२ वटा विधामा सीपमूलक तालिम निःशुल्क उपलब्ध गराएको जानकारी दिइन् । नेपालबाट वैदेशिक रोजगारीमा जानका लागि बढी माग निर्माण क्षेत्रबाट आउने भएकाले तालिम लिएकामध्ये झण्डै ७५ प्रतिशत  यसै क्षेत्रको रहेका र अन्य अरु क्षेत्रको रहेको उनको भनाइ छ ।

निर्देशक थापाका अनुसार निर्माणतर्फ प्लम्बिङ, कार्पेन्टर, स्क्याफोल्डर, स्टील फिक्सर र हाउस रेन्टरको तालिम लिएका छन् भने होटलतर्फ कुक, वेटर र हाउस किपिङको तालिम सञ्चालन गरिएको थियो । गएको वर्ष सञ्चालित तालिममा सात प्रदेशको ४० जिल्लाका दस हजार बेरोजगार युवा सञ्चालित भएको र आउँदा वर्षमा सकेसम्म ७५ जिल्लाका युवा समेटिने गरी तालिम सञ्चालन गर्ने तयारीमा बोर्ड रहेको पनि थापाले जानकारी दिइन् । वैदेशिक रोजगारीमा जाने युवालाई लक्षित भएकाले यसमा विदेश जाने तयारीमा रहेका युवालाई तालिम लिएको उनको भनाइ छ । 

एक अध्ययन अनुसार नेपालबाट वैदेशिक रोजगारीमा जानेमध्ये झण्डै ८५ प्रतिशत अदक्ष कामदार जोखिम युक्त कामका संलग्न हुने गर्छन् । अर्धदक्ष १३ प्रतिशत र चार प्रतिशत मात्रै दक्ष कामदार विदेशमा रोजगारीका लागि जानेछन् । 

श्रम तथा रोजगार मन्त्रालयले आर्थिक वर्ष २०७२/०७३ मा पनि बेरोजगार युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्न र विदेशमा दक्ष कामदार मात्रै पठाउन सकियोस् भन्ने उद्देश्यले तालिम सञ्चालनका लागि सरकारले झण्डै १५ करोडको हाराहारीमा बजेट छुट्याएको थियो । तर प्रवद्र्धन बोर्डले प्राविधिक कारण देखाउँदै तालिम सञ्चालन गर्न सकेन । उक्त बजेट फ्रिज भएको थियो । 

वैदेशिक रोजगार सरोकारवाला निकाय भने युवालाई तालिम दिएर विदेश पठाउने भने पनि करोडौं बराबरको रकम खर्च गरे पनि त्यो तालिम त्यति उपलब्धिमूलक हुन नसकेको बताएका छन् ।  वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङले दस हजार युवालाई एक महिने तालिम दिएको भने पनि त्यो खाली बजेट सक्नेबाहेक कुनै उपलब्धिमूलक हुन नसक्ने बताए । विदेशमा साच्चिकै दक्ष जनशक्ति उत्पादन गरेर पठाउनका लागि कम्तीमा पनि छ महिनाको तालिम दिनु प¥यो, एक महिना तालिम लिएर के सिकिन्छ, खाली टाउको गनेर बजेट सकाउनेबाहेक के उपलब्धि हुन्छ उनले प्रश्न गरे ।  

बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले नेपालबाट वैदेशिक रोजगारमा जानेमध्ये अधिकांश बिनासीप र ज्ञान विदेशिने हुँदा उनीहरू उच्च जोखिममा पर्ने गरेको विषयलाई ध्यानमा राखेर बोर्डको पहलमा तालिम सञ्चालन गरिएको र यसलाई आगामी वर्षमा अझै व्यवस्थित गरेर सञ्चालन गरिने बताए ।  यसअघि सञ्चालन गरिएका तालिम एक महिनाको मात्रै भएकाले अब तीन महिने मोडालिटीसञ्चालन गर्ने कि भन्ने विषयमा सरोकारवालासँग छलफल गरिरहेका र यति नै भन्ने अहिलेसम्म टुङ्गो नलागेको पनि उनले जानकारी गराए । काफ्लेका अनुसार यस मोडालिटीको तालिमको उद्देश्य भनेको विदेशमा मात्रै नभएर स्वदेशमा पनि केही गर्न सकून् भन्ने रहेको छ । गोरखापत्रबाट

यो पनि पढ्नुहोस् 

घरबाट नागरिकता मगाएपछि हराएको छोरो खोजिदिन आमाको आग्रह

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय