रोजगारीका लागि विदेश जानेलाई स्वदेशमा नै अवशर सिर्जना गर्नुपर्छः ओली  

 

काठमाडौं, साउन ५-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिनहुँ बैदेशिक रोजगारमा गइरहेका १५ सय भन्दा धेरै युवालाई स्वदेशमा नै रोजगारीको अवशर सिर्जना गर्नुपर्ने बताएका छन् । उनले नेपालबाट उड्ने धेरै जहाज रोजगारीका लागि जानेहरुबाट नै भरिने गरेको भन्दै उनीहरुलाई स्वदेशमा नै  रोजगारीको अवशर सिर्जना गर्दै मुलुकलाई आत्मनिर्भर बनाउन सकिने बताए ।

नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) को सातौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको उद्घाटन  गर्दै एमाले अध्यक्ष ओलीले नेपालमा राजनीतिक अवस्था फेरिएसँगै ट्रेड युनियन आन्दोलनको स्वरुप पनि फेरिनु पर्ने धारणा राखे । उनले नेपालमा लोकतन्त्र स्थापित गर्न जिफन्टको नेतृत्वमा मजदुरले गरेको योगदानको स्मरण गर्दै अव आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनका लागि लड्नु नपर्ने बताए । 

एमाले अध्यक्ष ओलीले ७० बर्ष अघि मनमोहन अधिकारीको नेतृत्वमा संगठित भएका मजदुरले जनतालाई सार्वभौम बनाएको धारणा राखे । उनले हालै भएको स्थानीय तहको निर्वाचनमार्फत धेरै जिफन्टकर्मीहरु स्थानीय तहमा निर्वाचित भएर आएको भन्दै अव मजदुर नीति बनाउने ठाउँमा पुगिसकेको बताए ।

सो अवशरमा सहभागिहरुलाई स्वागत गर्दै जिफन्ट अध्यक्ष विष्णु रिमालले लोकतन्त्रका लागि गरिने आन्दोलन र लोकतन्त्रमा गरिने आन्दोलन फरक हुने भन्दै त्यो कस्तो हुन्छ भनेर प्रश्न गरे । उनले जिफन्ट र यसको आस्थावान दल नेकपा एमाले सक्नेले खान्छ, नसक्ने जान्छ भन्ने दर्शनलाई विश्वास नगर्ने दल भएको भन्दै त्यसरी सोच्नेहरु संसारका अन्य देशमा पनि पतन भएर गएको दृष्टान्त प्रस्तुत गरे  ।

सो अवशरमा बोल्दै अध्यक्ष रिमालले यहि महिना भित्रमा संसदमा छलफलका क्रममा रहेको श्रम ऐन र सामाजिक सुरक्षा ऐन पारित हुने विश्वास प्रकट गरे । यसले अव श्रम ऐन घर घरमा पस्ने भन्दै धेरै भन्दा धेरै श्रमिक यसबाट लाभान्वित हुने अपेक्षा प्रकट गर्दै अध्यक्ष रिमालले स्थानीय निकायको अव महत्वपूर्ण जिम्मेवारी हुने धारणा राखे । श्रम निरिक्षण प्रणाली लागु हुने अपेक्षा प्रकट गर्दै जिफन्ट अध्यक्ष रिमालले श्रमिकको पञ्जिकरण आफूहरुले महत्वका साथ उठाइरहेको मुद्धा भएको पनि जानकारी गराए ।

कार्यक्रममा जिफन्ट महाधिवेशन प्रतिनिधि परिषद प्रमुख मुकुन्द न्यौपानेले हालको चुनावमा २ सय ५० को हाराहारीमा जिफन्टकर्मीहरु निर्वाचित भएको भन्दै आगामी ५ बर्षभित्र त्यसलाई बढाएर १ हजार पुर्याउन सकिने धारणा राखे । उनले लामो प्रयत्नपछि उद्योगि, व्यवसायी र मजदुरबीच सहज सम्वन्ध विकास भएको भन्दै यसले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण सहयोग गर्ने अपेक्षा प्रकट गरे । तर मुलुक संघिय संरचनामा गएको र अव प्रादेशिक संरचनासँगै ट्रेड युनियन आन्दोलनलाई बराल्ने प्रयत्न पनि हुनसक्ने तर्फ सजग रहन उनले आग्रह गरे । संघियताका नाममा क्षेत्रीय वा जातिय ट्रेड युनियन खोल्न प्रयत्न हुनसक्ने भन्दै त्यसले युनियन आन्दोलनलाई कमजोर बनाउने न्यौपानेको भनाई थियो ।   

यसैगरी कार्यक्रममा नेकपा एमालेका सचिव गोकर्ण विष्टले विजयी कठिनाईलाई चिर्दै नेकपा एमालेको गरिमा र जिफन्टको पहिचानलाई स्थापित गर्न जनप्रतिनिधिहरुलाई शुभाकामना दिए । उनले जिफन्टको आफ्नै गौरवशाली ईतिहास रहेको भन्दै नेपालमा लोकतन्त्र स्थापनाका लागि यसले गरेको योगदानको सदैव स्मरण गरिने बताए । उनले उद्योगि र श्रमिकबीचको सम्वन्ध हाल पहिलेको जस्तो तित्ततापुर्ण नरहेको भन्दै यसलाई नयाँ ढंगले विकसित गरिनुपर्ने बताए ।     

सो अवशरमा बोल्दै आइएलओ गभर्निङ बडीकी डेपुटी मेम्वर विन्दा पाण्डेले स्थानीय तहको निर्वाचनमा थुप्रै ट्रेड युनियनकर्मी निर्वाचित हुनु खुशीको कुरा भएको बताइन् । सुरुको संविधानसभामा १ प्रतिशत श्रमिक प्रतिनिधि सभाषद रहेकोमा हालको संसदमा त्यो भन्दा केहि बृद्धि भएको र स्थानीय तहको निर्वाचनमा पनि श्रमिकका प्रतिनिधि निर्वाचित हुनु सन्तोषको विषय भएको उनको भनाई थियो । प्रदेश नम्वर २ को निर्वाचनसम्ममा सवै युनियनबाट विजयी हुनेको संख्या जोड्दा ५ सयको हाराहारीमा युनियनकर्मीहरु स्थानीय तहमा निर्वाचित हुने अवस्था देखिएको भन्दै आगामी दिनमा यसलाई अझ बढाउन जोड दिनुपर्ने धारणा राखिन् । स्थानीय निकायमा विजयी भएका ट्रेड युनियनकर्मीहरुले सामाजिक सुरक्षा, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको पनि पञ्जिकरणको विषयलाई प्राथमिकताका साथ उठाउनु पर्ने पाण्डेको भनाई थियो ।

सो अवशरमा बोल्दै आइएलओका नेपाल कन्ट्री डाइरेक्टर रिचार्ड हावार्डले जिफन्टका सदस्यहरु ठूलो संख्यामा स्थानीय तहमा विजयी हुनु महत्वपूर्ण कुरा भएको बताए । उनले निर्वाचित ट्रेड युनियनकर्मीहरुबाट ठूलो अपेक्षा राखिएको पनि धारणा राखे । जिफन्टले बैदेशिक रोजगारीका क्रममा रहेका श्रमिकका लागि गरेको काम महत्वपूर्ण रहेको भन्दै हावार्डले यो अन्य युनियनहरुका लागि पनि सिक्न योग्य कुरा रहेको बताए । मर्यादित कामका लागि आइएलओले सदैव सहयोग गर्दै आएको भन्दै आगामी दिनमा पनि यसमा सहकार्य हुने उनको भनाई थियो ।

कार्यक्रममा स्थानीय तहमा निर्वाचित जिफन्टकर्मीहरुलाई सम्मान तथा ट्रेड युनियनकर्मीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । सो अवशरमा माधव न्यौपाने स्मृति अवार्ड नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, कास्कीका अध्यक्ष विष्णु खत्रीलाई प्रदान गरियो । उनले संगठन विस्तारमा खेलेको भूमिकाको कदर गर्दै पुरस्कृत गरिएको हो ।

यसैगरी नुरु वाङछु शेर्पा स्मृति अवार्ड राज तामाङलाई प्रदान गरियो । साउदीमा जिफन्टको संगठन विस्तार र जोखिमपूर्वक नेपाली महिला श्रमिकको उद्धारमा उहाँले खेलेको भूमिकाको कदर गर्दै तामाङलाई पुरस्कृत गरिएको हो । 

यसैगरी सोही अवशरमा गंगादेवी स्मृति छात्रबृत्ति पुरस्कार कास्कीकी दुर्गादेवी उप्रेतीलाई प्रदान गरियो । गंगादेवी स्मृति स्वास्थ्य उपचार सहायता सिजी फुड्समा कार्यरत दुर्गा प्रसाद देवानलाई प्रदान गरिएको थियो । पुरस्कारहरु जिफन्टको महाधिवेशन प्रतिनिधि परिषद प्रमुख मुकुन्द न्यौपाने तथा जिफन्ट अध्यक्ष विष्णु रिमालले प्रदान गरे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: