डोल्मा भन्छिन्ः कुवेत, साउदी जाँदै नजानुस्

 

काठमाडौ, साउन ५-

पासाङ डोल्मा शेर्पाको अनुहारमा मृत्युलाई जितेर आउँदाको खुसी र मृत्युसँग संघर्ष गर्दाको पीडा प्रष्टै झल्किन्थ्यो ।  ‘बरु पानी मात्रै खानुस, आफनै गाउँघरमा बस्नुस,कुवेत वा साउदी वा खाडी मुलुकमा जाँदै नजाउनुस’नेपाली दिदीबहिनीहरुलाई डोल्माको सल्लाह यहि छ । शरिरमा पहिलेका पीडा केहि नदेखिएपनि मानसिक पीडाको असर भने उनले अहिले पनि भोगिरहेको उनीसँगको कुराकानीबाट प्रष्टै झल्किन्थ्यो । खुट्टा दुख्ने र टाउको दुख्ने जस्ता समस्या उनले अहिले पनि बेहोरिरहेकी छिन् ।

घरायसी कामदारका रुपमा भारतको बाटो हुँदै ०६२ कुवेत पुग्नु भएकी शेर्पा मृत्युदण्डको फैसला,१० बर्षको जेल सजाय र गणना नै गर्न नसकिने मानसिक पीडा बोकेर ११ दिन अगाडि नेपाल आएकी हुन् । गाविसको बासिन्दा भएर कुवेत पुगेकी शेर्पा फर्कदा गाउँपालिका निवासी भएकी छिन् । यो १२ बर्षको अवधिमा नेपालमा भएका राजनीतिक, आर्थिक, सामाजिक र भौगोलिक परिवर्तनले डोल्मालाई अर्कै संसारमा आए जस्तो अनुभुति गराइरहेको छ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ मा जन्मेकी शेर्पा ३० महिनाको छोरा छोडेर कुवेत गएकी थिइन् । उनको छोरा अहिले १४ बर्षका भए । ‘मैले छोरा जन्माएँ तर छोरालाई कसाङ छिरिङ लामाले कर्म दिनु भएको छ’ शेर्पाले भनिन् । उनका श्रीमान भने इराकमा छन् । श्रीमानले दोस्रो विवाह गरेपनि बिहिबार शेर्पासँगै उनकी नन्द पासाङ शेर्पा आएकी थिइन् । पासाङले भनिन् ‘भाउजुको स्वास्थ्यमा सुधार भएपछि गाउँको घरमा लिएर जान्छु ।’ पासाङका अनुसार डोल्मा फर्किएकोमा परिवारका सबै सदस्यहरु खुसी छन् । ‘म अव छोराका लागि बाँच्छु’डोल्माले भनिन्  ‘छोराको भबिश्य राम्रो बनाउन चाहन्छु ।’

आफूलाई सरकारले रोजगारीको अवसर दिए आफनो बाँकी जीवनलाई सहज हुने डोल्माले बताइन् । ‘म छोराका लागि बाँच्न चाहन्छु । सरकारले जागिर दिए हुन्थ्यो’उनले भनिन्  ‘विदेशिने महिलाका लागि सरकारले पनि केहि व्यवस्था गर्नुपर्छ ।’

दुई तीन पटक आम माफी पाएर पनि कागजपत्र साउदीमा भएको कारणले नेपाल फर्कन नपाएको पनि डोल्माले बताइन् । ‘जेल पसेदेखि नै कहिले छुटने दिन आउला भनेर दिन गनेर बसे ’ उनले भनिन् ।

एक फिलीपिनो महिलाको हत्याको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएकी डोल्मा शेर्पा १० वर्षको काराबास जीवन सकाएर कुवेतबाट नेपाल फर्किएपछि बिहिबार माइती नेपालले एक कार्यक्रमको आयोजना गरेर उनको नाममा संकलन भएको रकम हस्तान्तरण गरेको छ ।

कुवेतमा कार्यरत राजु नागपाल नाम गरेका ब्यक्तिले माइती नेपालमा एक इमेल मार्फत डोल्माको बारेमा जानकारी पठाएपछि २०६४ पुस २६ गते सोही संस्थामा एक सचिवालय स्थापना गरी डोल्मा जीवन बचाउ अभियान शुरु गरिएको थियो । त्यतिबेला सरकारले दिएको चार लाख रुपैंया सिड मनीमा अन्य संघसंस्था र ब्यक्तिहरुले दिएको सहयोगमार्फत १० हजार डलर संकलन गरेर ‘ब्लड मनी’का रुपमा उक्त पीडित फिलिपिनो परिवारलाई दिएपछि उनको सजाय घटेर १० वर्षको काराबास हुन पुगेको थियो ।

माइती नेपालमा विहीबार भएको कार्यक्रममा संस्थाकी अध्यक्ष अनुराधा कोइराला र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयकी सहसचिव राधिका अर्यालले डोल्मालाई संकलित एक लाख ६० हजार ४३ रुपैंया हस्तान्तरण गरे । अन्नपूर्ण पोष्टबाट

यो पनि पढ्नुहोस्

विदेशमा रहेका नेपालीले  भोट हाल्न पाउनुपर्छस् श्रम मन्त्री मन्सुर

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय