
काठमाडौं, साउन ४-
मलेसियामा असार १३ गते धरानकी राधिका बस्नेतको सडक दुर्घटनामा मृत्यु भयो । मृत्यु भएको ५ दिनभित्रै वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको पहलमा शव नेपाल ल्याइयो ।
सरकारले मृतक बस्नेतको शव नेपाल ल्याउन पहल गरेको भएपनि उनको परिवारले पाउने क्षतिपूर्ति भने श्रम स्वीकृतिको म्याद सकिएकाले तत्काल नपाउने जनायो । मृतकको भिसा र कम्पनीको करार अवधि वैधानिक भएपनि उनका परिवारले क्षतिपूर्ति पाएनन् ।
नेपालमा क्षतिपूर्ति दाबीका लागि आवश्यक पर्ने श्रमस्वीकृतिको समय सिमाका कारण अधिकांश मृतकका परिवार क्षतिपूर्ति पाउनबाट वञ्चित हुने गरेका छन् । वैधानिक रूपमा मलेसियामा काम गर्दागर्दै मृत्यु भएको भएपनि नेपालबाट श्रमस्वीकृति गरेर गएको म्याद सकिएकाले मृतककी आमा लिताकुमारी धितालले मंगलबार वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा क्षतिपूर्तिका लागि दिएको निवेदनको प्रक्रिया अगाडि नबढ्ने भएको त्यहाँका कर्मचारीले जानकारी दिए ।
मृतककी आमा लिला कुमारीले कानुनी रूपमा ५ वर्षसम्म कम्पनीको नियमअनुसार भिसामा बसेको हुनाले क्षतिपूर्ति पाइन्छ कि भनेर निवेदन दिएको भएपनि अहिले नपाउने जानकारी पाएको बताइन् । “भिसा अवधिमा नै मृत्यु भएकी छोरीको क्षतिपूर्ति लिन नपाउने कस्तो नियम हो ?” उनले गुनासो गरिन्, “के कारणले नपाएको हो, त्यसको व्यवस्था विदेशमा नै सरकारले गर्नुपर्छ ।”
नेपालबाट श्रमस्वीकृति लिएर गएको भएपनि समयमा श्रमस्वीकृति नवीकरण गर्न नेपाल नआए विदेशमा वैधानिक हैसियतमा बसेपनि हालको नियमअनुसार क्षतिपूर्ति दाबी गर्न पाइँदैन ।
सरकारले रोजगारदाता मुलुकमा नै श्रम स्वीकृतिको व्यवस्था गर्न नसक्दा विदेशमा मृत्यु भएका हजारौं नेपालीका आफन्तले क्षतिपूर्ति नपाउने गरेका छन् ।
बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले वैदेशिक रोजगारमा गएर श्रमस्वीकृतिको म्याद सकिएको १ वर्षसम्म पनि क्षतिपूर्ति दाबी गर्न सक्ने गरी हालै वैदेशिक रोजगार नियमावली संशोधन गरी राजपत्रमा प्रकाशित हुने तयारीमा रहेको बताए ।
कतिले पाए क्षतिपूर्ति ?
आर्थिक वर्ष २०७३र२०७४ मा विदेश गएर श्रम स्वीकृति अवधिमा नै ज्यान गुमाएरका ६८७ नेपाली कामदारका आफन्तले मात्र क्षतिपूर्ति पाएको तथ्यांक वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा रहेको छ । गत आर्थिक वर्षमा सबैभन्दा बढी मलेसियामा २३२ जना नेपालीको मृत्यु भएको छ ।
यो संख्या श्रम स्वीकृतिको अवधिमा मृत्यु भएर क्षतिपूर्ति दाबी गर्न बोर्डमा निवेदन दिएको संख्यामात्र हो । गत आवमा रोजगारीका क्रममा धेरै नेपालीको ज्यान जाने दोस्रो मुलुकका रूपमा साउदी अरब देखिएको छ ।
यो अवधिमा साउदी अरबमा २२७ नेपालीले रोजगारीका क्रममा ज्यान गुमाएका छन् । यसमध्ये महिलाको संख्या १७ रहेको छ । धेरै नेपाली मर्ने मुलुकको रूपमा कतारले तेस्रो स्थान ओगटेको छ । कतारमा गत आवमा १३२ जना युवाले ज्यान गुमाएको बोर्डको तथ्यांकमा उल्लेख छ ।
यसरी नै चौथो स्थानमा युएई रहेको छ, जहाँ ४१ नेपालीको मृत्यु भएको छ । गत वर्षमात्र विदेशमा मृत्यु भएका ६८७ नेपालीले सरकारबाट २० करोड ५७ लाख ५० हजार रूपैयाँ क्षतिपूर्ति लिएका थिए ।
यसरी नै विगत एक वर्षमा रोजगारीका लागि विदेश गएका १९८ नेपाली बिरामी र अंगभंग भई स्वदेश फर्किएर क्षतिपूर्ति दाबी गरेको तथ्यांक रहेको छ । सो अवधिमा मलेसियामा सबैभन्दा बढी ६४ जना बिरामी र अंगभंग भएको बोर्डले जनाएको छ ।
यसरी नै कतारमा ४९, साउदी अरबमा ४६ र युएईमा २२ बिरामी र अंगभंग भएका थिए । गत वर्ष बिरामी र अंगभंग भएका १९८ जनाले बोर्डबाट २८ करोड ८२ लाख २५ हजार ५०० रूपैयाँ क्षतिपूर्ति लिएका थिए । यसरी बिरामी र अंगभंग भई क्षतिपूर्ति लिनेमा ५ महिला रहेका छन् ।
विदेशमा मृत्यु हुने नेपालीको आँकडालाई हेर्ने हो भने लगभग ५५ प्रतिशत कार्यस्थल दुर्घटना, २० प्रतिशत विभिन्न रोग, १५ प्रतिशत ट्राफिक दुर्घटना र झगडा १ प्रतिशत र अन्य ९ प्रतिशत रहेको छ । यो तथ्यांक वैधानिक ढंगबाट श्रम स्वीकृति लिएर गएका कामदारको मात्र हो ।
यसरी हेर्दा अवैध ढंगबाट गएर मृत्यु भएका कामदारको संख्या पनि ठूलै रहेको अनुमान छ । सबैभन्दा बढी कामदारको मृत्यु मलेसियामा भएको छ । साउदी अरब, कतार, युएई र कुवेतमा पनि बढी कामदारको मृत्यु भएको बोर्डले जनाएको छ ।
विगत सात वर्ष ६ महिनायता ५ हजार ७ सय ८४ जना नेपालीले विदेशी भूमिमा मुत्युवरण गरिसकेका छन् । सो अवधिमा मृत्यु भएका कामदारहरूका लागि ३८ करोड ८० लाख ८४ हजार सहयोग रकम उपलब्ध गराएको बोर्डले जनाएको छ ।
यो अवधिमा ६ सय ६४ जना क्षतिपूर्ति पाउने गरी अपांग भएका थिए । हात, खुट्टा, आँखा तथा शरीरको कुनै अंग काम नलाग्ने भएमा बोर्डका विज्ञको टोलीले मूल्यांकन गरी क्षतिपूर्ति निर्धारण गर्ने गर्छन् । कारोवारबाट
यो पनि पढ्नुहोस्
युएईमा पहिलो नेपाली सामाजिक संस्था दर्ता, आधिकारिक रुपमा कार्यक्रम गर्ने बाटो खुल्यो