
रञ्जना लम्साल, नवलपरासी, साउन ३-
हाल कार्यान्वयनमा रहेको फ्रिभिषा, फ्रिटिकटमा के कामदार जान पाएका छन् ? धेरैको र सजिलो उत्तर छैनन् । तर यो पूरै कार्यान्वयनमा छैन भन्ने उत्तरलाई तथ्याँकले गलत सावित गर्दछ ।
सरकारले खाडीका ६ वटा मुलुक र मलेसियामा रोजगारीका लागि जाने नेपालीसँग भिषा र हवाई टिकट वापत रकम लिन नपाउने व्यवस्था गरेको छ । विसं २०७२ असार २१ गते देखी लागु भएको यो व्यवस्था फ्रिभिषा फ्रिटिकटका नामले परिचित छ । सो निर्णय अनुसार यदि कामदार पठाउने मेनपावर कम्पनीले विदेशमा रहेको कम्पनीबाट सेवा शुल्क नपाएको अवस्थामा मात्र बढीमा १० हजार लिन पाउँछन् ।
सरकारले यस्तो व्यवस्था गरेपनि हाल पनि बैदेशिक रोजगार व्यवसायी र तिनिहरुका लागि गाउँ गाउँमा कार्यरत एजेण्टहरुले बैदेशिक रोजगारमा जान चाहनेहरुसँग ठूलो रकम उठाइरहेका छन् । कावासोतीमा सञ्चालित सुचना केन्द्रमा परामर्शका लागि आउने अधिकाँश युवाले आफूलाई धेरै रकम मागिएको गुनासो गर्ने गरेको सुचना केन्द्र सञ्चालन गरिरहेको संस्था हिमालयन सामुदायिक बिकाश मञ्च –हिकोडेफ_ का सामी परियोजना संयोजक रितुराम सोती बताउँछन् । सोतीका अनुसार त्यसरी आउने युवाहरुलाई बैदेशिक रोजगारीमा लाग्ने यथार्थ लागत तथा प्रकृयाका बारेमा जानकारी दिइएपछि उनीहरुको ‘बार्गेनिङ’ गर्ने क्षमता बढ्ने गरेको छ ।
यसरी लागत खर्चका बारेमा पूर्ण जानकारी पाएपछि बैदेशिक रोजगारमा जान ठिक्क परेका युवाले स्थानीय एजेण्ट तथा मेनपावर कम्पनी र तिनका शाखा कार्यालयहरुमा लागत खर्चका बारेमा मोलमोलाई गर्ने गरेको र लागत खर्च कम हुने गरेको देखिएको छ ।
यसैगरी हालै गरिएको एक सर्वेक्षण अनुसार सयमा झण्डै १० जना युवा फ्रिभिषा, फ्रिटिकटमा पनि जान सफल भएको देखिएको छ । नवलपरासी जिल्लामा दाउन्ने पुर्वका ४ नगरपालिका र ४ वटा गाउँपालिकामा ५ हजार ६ सय ८४ जनामा गरिएको सर्वेक्षण अनुसार त्यसमध्ये ३ सय ७३ जना फ्रिभिषा फ्रिटिकटमा बैदेशिक रोजगारीमा गएको भेटिएको छ । सामी परियोजनाका लागि स्वयंसेवकका रुपमा कार्यरत बैदेशिक रोजगारीबाट फर्केर आएकाहरुले घरदैलो गरेर तथ्याँक संकलन गरेका हुन् । कार्यक्रम संयोजक सोतीले यसले फ्रिभिषा, फ्रिटिकटको व्यवस्थाका बारेमा जानकारी पाएकाहरुले सोहि अनुरुपको अवशर खोज्ने गरेका कारण पनि न्यून संख्यामा भएपनि बैदेशिक रोजगारमा जानेहरु लाभान्वित भएको बताए ।
कोहि निःशुल्क, कसैले १० हजार
सर्वेक्षणमा सहभागि मध्ये नवलपरासीको मध्यबिन्दु नगरपालिकाका खै बहादुर गिरीले हालै रोजगारीका लागि युएई गएका उनका छोरो सनम गिरी एजेण्ट तथा मेनपावर कम्पनीलाई कुनै शुल्क नतिरी जान सफल भएको बताए । उनले छोराले सवैकुरा बुझेको र सोही अनुरुपको अवशर खोजेर बैदेशिक रोजगारमा गएको बताए ।
सर्वेक्षणमा सहभागि हुप्सेकोट गाउँपालिका ४ की गीता भूर्तेलले आफ्ना श्रीमान् मन भूर्तेल १० हजार तिरेर मलेसिया गएको बताइन् । लागत खर्च कम परेका कारण आफूहरुले कुनै ऋण लिनु नपरेको भन्दै यसले आफूहरुलाई सजिलो भएको उनको भनाई छ ।
अझ पछिल्लो समयमा सीप सिकेर जोर्डनमा गार्मेण्टको काममा जाने महिलाको लागत खर्च निःशुल्क छ । त्यसरी जाने महिलाको आम्दानी पनि राम्रो रहेको र काम पनि नेपालमा सिकेर गए अनुसार नै तथा कम्पनीको काम हुने गरेका कारण पछिल्लो समयमा महिलाको आकर्षण गार्मेण्ट तर्फ रहेको परियोजना संयोजक सोतीले बताए ।
मोलमोलाई गर
बैदेशिक रोजगारमा जान चाहने युवालाई सुचनाको अभाव तथा मोलमोलाई गर्ने क्षमता बढाउनु मुख्य आवश्यकता देखिएको छ । सरकारले गरेको व्यवस्था, कानूनी व्यववस्था, मोलमोलाई गर्न सकिने ठाउँ लगायतका बारेमा जानकारी पाएकाहरु तुलनात्मक रुपमा कम ठगिएको देखिएको छ । सुचना केन्द्रका अनुसार फ्रिभिषा, फ्रिटिकटको निर्णय पश्चात सुचना केन्द्रमा जानकारी लिन आएका मध्ये ५० जना युवाले त्यसरी नै मोलमोलाई गरेर ८ लाख ४९ हजार रकम घटाएर बिदेश गएको भेटिएको छ । यो सरदर प्रतिव्यक्ति १७ हजार रुपैंयाँ कम हो ।
समस्या चर्कै
केहि व्यक्ति फ्रिभिषा, फ्रिटिकटमा तथा केहि व्यक्ति रकम केहि घटाएर जान सफल भएपनि अझै पनि खाडीका मुलुक र मलेशियामा जाने नेपाली चर्को शुल्क तिरेर जान बाध्य छन् । मेनपावर कम्पनी वा एजेन्टले बढी रकम मागेको अवस्थामा मोलमोलाई गर्दा रकम केहि घटाउन सकिने भएपनि बैदेशिक रोजगारमा जान ठिक्क परेका युवाले मागेजति रकम सहजै दिने गरेका कारण पनि उनीहरु चर्को आर्थिक शोषणमा पर्ने गरेको देखिएको सुचना केन्द्रले जनाएको छ ।
तस्वीर साँकेतिक रुपमा प्रयोग गरिएको हो ।
यो पनि पढ्नुहोस्
सीप हुनेलाई स्ववदेशमै छ रोजगारी