
काठमाडौं, साउन १-
नेपाल बैदेशिक रोजगार व्यवसायी संघले साउन महिना भित्रै भलाई कोष सुरु गर्ने तयारी गरेको छ । संघको यहि साता सम्पन्न २५ औं वार्षिक साधारणसभाले भलाई कोष स्थापना गर्ने निर्णय गरिसकेको छ । सो विषय विधानमा नै संशोधन गर्ने निर्णय साधारण सभाले गरिसकेका कारण अविलम्व त्यसलाई कार्यान्वयनमा लैजाने संघले तयारी गरेको छ ।
संघका नवनिर्वाचित अध्यक्ष रोहन गुरुङले भलाई कोष स्थापना आफ्नो प्राथमिक काम भएको देशपरदेशलाई बताए । उनका अनुसार कोषमा रकम संकलनका लागि बैदेशिक रोजगारमा जाने कामदारको अन्तिम श्रम स्वीकृति लिनु अघि प्रति व्यक्ति रु. ३ सयका दरले व्यवसायीले रकम जम्मा गर्नुपर्नेछ । “यो रकम कामदारसँग उठाउने होइन, व्यवसायीले नै आफ्नो कम्पनी मार्फत अन्तिम श्रम स्वीकृति लिने प्रति व्यक्ति रकम जम्मा गर्ने हो” गुरुङले भने “यसबाट संघमा ठूलो रकम जम्मा हुने अपेक्षा गरिएको छ ।”
भलाई कोषमा जम्मा हुने रकमबाट ७ वटै प्रदेशमा अन्तराष्ट्रिय स्तरको तालिम केन्द्र सञ्चालन गर्ने व्यवसायीले योजना बनाएका छन् । ति तालिम केन्द्रमा अन्तराष्ट्रिय बजारमा आवश्यक पर्ने सीपको तालिम दिइने र तालिम लिएका व्यक्ति बैदेशिक रोजगारमा जान वा स्वदेशमा नै कुनै उद्यम गर्न स्वतन्त्र हुने गुरुङ बताउँछन् । यसैगरी संघका कोहि सदस्यलाई गम्भीर समस्या परेमा पनि सो कोषमा जम्मा भएको रकमबाट सहयोग गर्ने योजना छ ।
यसैबीच नेपाल बैदेशिक रोजगार व्यवसायी संघले नेपाली कामदारको प्रमुख गन्तव्य मुलुकहरुमा आफ्नै प्रतिनिधि राख्ने भएको छ । ति मुलुकमा रोजगारीका लागि पुगेका नेपाली कामदारले नेपालमा भनिए अनुसारको तलव, सुविधा नपाएको गुनासो गर्ने तर कम्पनीहरुले सोही अनुरुप दिएको बताउने समस्याका कारण यथार्थ बुझ्न व्यवसायीलाई आर्थिक भार परिरहेको भन्दै संघले केहि मुलुकमा प्रतिनिधि राख्ने योजना बनाएको हो । उनीहरुले सम्वन्धित कामदार, कम्पनीहरु तथा नेपाली दूतावाससँगको समन्वयमा काम गर्नेछन् । उनीहरुलाई संघले निर्माण गर्ने भलाई कोषबाट नै तलव, सुविधा दिने योजना बनाइएको छ ।
संघको नवनिर्वाचित कमिटीले आफ्नै भवन निर्माणलाई पनि प्राथमिकतामा राखेको छ ।
यो पनि पढ्नुहोस्
नाकावन्दी पछि कतारी रियालको मूल्य दिराम भन्दा घट्यो