
राम तामांग, युएई– दैलेखी सेवा समाज युएईले युएईको रस अल खेमामा २०७४ सालको तीज कार्यक्रम आयोजना गर्ने भएको छ । रस अल खैमहमा कृयाशिल विभिन्न संघसंस्थाहरूको मार्च १०, २०१७ शुक्रबार सम्पन्न भेलाले यस बर्षको तीज कार्यक्रम दैलेखी समाज यूएईले गर्ने भन्ने सर्वसम्मत निर्णयलाई मध्यनजर गर्दै कार्यक्रम सञ्चालनका लागि स्थानीय प्रशासनको अनुमतिका लागि निवेदन अगाडि बढाईएको थियो । कार्यक्रम आयोजना गर्न पुर्ण सहमति भएको अनुमति पत्र रस अल खैमह पुलिस जेनेरल हेडक्वार्टरबाट जुलाई ११ तारिखमा प्राप्त भए पश्चात बसेको बैठकले यस बर्षको तीज कार्यक्रम पूर्व घोषित समय तालिका अनुसार नै अगष्ट १८ तारिख सुडानी क्लबको कार्यक्रम हलमा दिउँसो १ बजे देखि भव्य रूपमा गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज लगायत अन्य विभिन्न संघसंस्थाहरूको सहयोगमा आयोजना हुने भएको हो ।
कार्यक्रममा नेपालबाट ख्यातीप्राप्त लोक गायक नबिन पौडेल, लोक गायिका चिजा तामाङ लगायत यूएईमा कार्यरत स्थानीय नेपाली कलाकारहरूको उपस्थिति रहने आयोजकले जनाएको छ । रस अल खैमहमा कार्यरत नेपालीहरूको उत्साहपूर्ण उपस्थिति रहने र सो कार्यक्रमले मनोरञ्जन दिने दैलेखी सेवा समाजका अध्यक्ष गणेश शाहीले बताएका छन् ।
पहिले नै कार्यक्रम तय भएपनि अनुमती पत्र प्राप्त नभएका कारण प्रचारप्रसार गर्न ढिलाई भएको र कार्यक्रम छोटो समयमा नै सबै तयारी पुरा गर्नुपर्ने भएको हुँदा रस अल खैमहका रहेका सबै संघसंस्थाहरूलाई हातेमालो गर्न समाजका सचिव दिपक विष्टले आव्हान गरेका छन् ।