
सुदीप निउरे, क्वालालम्पुर, असार २७-
नेपाल र मलेसियाबिच द्धिपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने बिषयमा छलफल भएको छ । मलेसिया आएका नेपालका परराष्ट सचिव शंकरदास बैरागी र यहांका समकक्षी दातो रामलान ईब्राहिमबिच भएको भेटघाटका क्रममा संयन्त्र स्थापना गर्ने बिषयमा संवाद भएको हो ।
मलेसियाको पुत्राजयास्थित परराष्ट मन्त्रालयमा नेपाल र मलेसियाका परराष्ट सचिवले द्धिपक्षिय भेटवार्ता गरेका हुन । भेटघाटका क्रममा हाल वार्ताको चरणमा रहेको श्रम संझौतालाई मुल मुद्धा बनाएर छलफल गरिएको राजदुतावासद्धारा जारी प्रेस बक्तब्यमा उल्लेख गरीएको छ ।
भेटघाटका क्रममा मलेसियामा नेपाली कामदारले भोग्नु परेका सबै खाले समस्याहरुको समाधान श्रम संझौताबाट मात्रै गर्न सकिने द्धिपक्षीय ठहर छ । अब ढिला नगरी जति सक्दो चांडो दुई मुलुकले श्रम संझौतामा हस्ताक्षर गर्नु पर्ने आवश्यकता समेत औल्याईएको छ ।
भेटघाटका क्रममा परराष्ट सचिवहरुबिच दुईदेशको आपसी सम्बन्ध थप प्रगाढ कसरी बनाउन सकिन्छ भन्ने बारेमा छलफल गरिएको दूतावासले जनाएको छ । मलेसियामा रहेका नेपाली कामदारहरुको हित प्रवद्र्धन तथा उनीहरुले भोगीरहेका बिभिन्न खाले समस्या समाधान कसरी गर्न सकिन्छ भन्नेबारेमा पनि कुराकानी भएको छ । नेपाल र मलेसियाबिच अफिसियल र कुटनितीक राहदानी वाहकहरुलाई प्रवेशाज्ञामा सहजता दिनेबारे सम्झौता गर्ने बिषयमा पनि भेटघाटमा छलफल गरीएको छ।
मलेसिया सरकारलाई नेपालमा पर्यटन, ब्यापार लगायत अन्य क्षेत्रमा लगानी बिस्तार गर्न यहांका निजी क्षेत्रलाई प्रोत्साहन गर्न परराष्ट सचिव बैरागीले आग्रह गरेका छन् ।
यसैबिच परराष्ट सचिव बैरागी र मलेसियाका मानव संसाधन मन्त्रालयका समकक्षी दातो श्री आदेनान बिन एबि रहमान बिचपनि भेटबार्ता भएको छ । भेटघाटका क्रममा मलेसियामा नेपाली कामदारले भोग्नु परेका बिभिन्न खाले समस्या, द्धिपक्षिय श्रम सम्झौता, श्रमिकहरुले मलेसिया आउंदा तिर्नु पर्ने प्रबेशाज्ञा शुल्कहरु घटाउने एव ठगि तथा अनियमितता नियन्त्रण कसरी गर्ने भन्ने सन्दर्भमा पनि छलफल भयो ।
यसैगरि छलफलको क्रममा बिमाको ब्यबस्था, अचानक हृदयको गति बन्दभै श्रमिकहरुको मृत्यु हुने जटिल समस्या लगाएतका कुराहरु कसरी समाधान गर्ने भन्नेबारेमा पनि छलफल भएको छ । साथै परराष्ट सचिव बैरागीले मलेसियाको ईन्सीच्युट अफ डिप्लोमेसी एण्ड रिलेशन(आइडीएफआर) का महानिर्देशक दातूक मोहमद सदिक केथेरगानीसंग पनि भेटघाट गरेका छन् ।
भेटघाटका क्रममा महानिर्देशक केथेरगानी मातहतको संस्था र नेपालका कूटनितीक सेवाका कर्मचारीहरुलाई तालीम दिलाउने तथा आइडीएफआर र नेपालको परराष्ट मामिला अध्ययन प्रतिष्ठान (आइएफए) बिच सहयोग आदान प्रदान गर्ने बिषयमा कूराकानी भएको छ । परराष्ट सचिब बैरागीले मलेसियामा गरेका सबै भेटबार्तामा मलेसियाका लागी नेपाली राजदूत डाक्टर निरंजनमानसिंह बस्न्यात, श्रम बिभागका महानिर्देशक भूवन आचार्य लगाएत नेपाली दूतावास तथा मन्त्रालयका अन्य अधिकृतहरु सहभागी थिए ।
मलेसिया बसाईका क्रममा सचिव बैरागीले यहांका ब्यबसायी, लगानीकर्ताहरुसंग नेपालमा लगानी तथा ब्यापार बृद्धि गर्ने बिषयमा पनि अन्तरकृया गरेका छन् । यसैगरि मलेसियामा रहेका नेपाली कामदार तथा बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुसंग छलफल तथा अन्तरकृया गरि उनीहरुले भोग्नू परेका समस्याहरुबारे पनि जानकारी लिए । मलेसियामा रहेको नेपाली राजदुतावासको कामकारवाहीको निरीक्षण गर्दै सचिव बैरागीले नेपाली कामदारको समस्याहरु समाधानका लागी सक्दो पहल गर्न समेत निर्देशन दिए ।