कतार जानेको संख्या ४० प्रतिशत घट्यो

 

काठमाडौं-

वैदेशिक रोजगारीका लागि नेपालीहरुको आकर्षक गन्तव्य रहेको कतारमा उत्पन्न पछिल्लो संकटसँगै त्यहाँ जाने कामदारहरुको संख्या गत एक महिनामा उल्लेख्य रुपमा घटेको वैदेशिक रोजगार विभागले जनाएको छ।

गत एक महिनामा कतार जाने श्रमिकको संख्या झन्डै ४० प्रतिशतले घटेको अधिकारीहरुले जनाएका छन्। आन्तरिक संकटका कारण कतारबाट नयाँ रोजगारीका मागहरु समेत आउन छाडेको नेपाली अधिकारीहरु बताउँछन्।

रोजगारीको अनिश्चितता वा द्वन्द्व बढ्न सक्ने आशंका जस्ता कारणले श्रम स्वीकृति लिइसकेका कामदारहरु समेत कतार जान हिचकिचाउन थालेको बताइएको छ।

चिन्ता

चार महिना लामो छुट्टी मनाउन आएका महोत्तरीका मोहम्मद अख्तर बिदा सकेपछि कतार जाने श्रम स्विकृती लिन ताहाचालस्थित वैदेशिक रोजगार विभागमा बिहीबार पुगेका थिए।

तर गत महिनादेखि कतार उसका छिमेकी देशहरुबीचको सम्बन्ध बिग्रिएको कारण आफ्नो जागिरमा असर पर्ने चिन्ताले उनी ढुक्क हुन सकेका छैनन्। उनी भन्छन्, ‘ एक लाख रुपैयाँ तिरेर जाँदैछु त्यो कम्पनीले मलाई फर्काइदियो भने डुब्छु भन्ने चिन्ता लागेको छ।’

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार कतारविरुद्ध साउदी अरेबिया संयुक्त अरब एमिरेट्स लगायत अन्य छिमेकीले नाकाबन्दी लगाउनु अगाडी त्यहाँ एक महिनामा सरदर १० हजारको हाराहारीमा नेपाली कामदारहरु जाने गर्दथे। तर पछिल्लो एक महिनामा त्यो संख्या झन्डै हजारमा झरेको छ।

वैदेशिक रोजगार विभागको कतार शाखाका अधिकृत हिमालय जिवी उपाध्यायका अनुसार कतार जान चाहने श्रमिकको सख्या दिन प्रतिदिन घटिरहेको छ।

उनी भन्छन्, ‘कतारमा समस्या भएपछि कामदार पठाउने क्रम एकदम घटेको , पहिला दैनिक ५०० देखि ६०० को संख्यामा कामदारहरु कतार जाने गरेका थिए भने अहिले त्यो १५० को हाराहारीमा झरेको छ।’

त्यहाँ द्वन्द्व चर्कने हो कि भन्ने त्रासका कारण नयाँ कामदारहरु आकर्षित हुन कम भएको श्रम स्वीकृति लिइसकेकाहरु पनि पर्ख हेरको स्थितिमा रहेको बताइन्छ।

माग

साथै कतारस्थित कम्पनीहरुले पनि पछिल्लो समय कामदार मगाउन कम गरेको वैदेशिक रोजगार व्यवसायीहरु बताउछन्। वैदेशिक रोजगार व्यवसायी भुवन श्रेष्ठ भन्छन्, ‘मानिसहरुलाई डर त्यही भएर सम्झाएर पठाउनुपर्छ। अर्को तर्फ कामदारको माग पनि कम हुन थालेको छ।’

कतारमा हाल आधिकारिक रुपमा साढे लाख नेपालीहरु रहेको त्यो त्यहाँको जनसंख्याको १३ प्रतिशत रहेको बताइन्छ। यसरी त्यहाँ रोजगारीमा जानेको संख्या घटेमा नेपाल भित्रिने रेमिट्यान्स अर्थात विप्रेषणमा पनि प्रत्यक्ष असर पर्ने देखिन्छ। विविसी

यो पनि पढ्नुहोस्

अरवको आकाशमा मडारिएको कालो बादल नेपाली भूमिमा त्यसको छायाँ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: