
सुनिल न्यौपाने-
छिमेकी दुष्ट भयो भनें के हुन्छ < हामी नेपालीले पनि त्यो भोगिसकेका छौं । संविधानको सर्वस्वीकार्यताको स्वाङमा आफ्ना मुद्धा स्थापित गराउने भारत सरकारको प्रयासको फलस्वरुप दाउरे युगमा फर्किएको र भातभान्साको जोहो गर्न पनि झण्डै झण्डै मुस्किल परेको तीतो विगत सायदै कमै राजधानीबासीले विर्सिएका होलान् । त्यो क्रुर नाकावन्दीले देशका अरु भागमा पनि निक्कै पिडा दिएको थियो, तर राजधानी अझ त्यसको टार्गेटमा थियो ।
ठ्याक्कै त्यहि स्वरुप यतिबेला नेपालीको मुख्य गन्तव्य मुलुक कतारमा देखिएको छ । आतंकवादलाई प्रश्रय दिएको आरोपमा नाकावन्दीकै तहमा उत्रिएका साउदी अरव, युएई, बहराइन लगायतका मुलुकको वास्तविक उद्धेश्य के हो यतिबेलासम्ममा लगभग छर्लङ्ग भइसकेको छ । अमेरिकी स्वार्थबाट टाढिंदै कतै कतार ईरान र रुससँग नजिकिंदै गएको आभाष भएपछि नेपथ्यमा बसेको अमेरिकाको हातमा लगाम सुम्पिएर नाकावन्दीको दौडमा निस्कीएका साउदी अरव नेतृत्वका प्रतिआतंकवादी अरवी राष्ट्रहरुको कदम नेपालीका लागि पनि नचाहेर पनि मूल्य चुकाउनु पर्ने अवस्थातिर उन्मुख छ ।
केहि बर्ष अघिसम्म नेपालीको मुख्य गन्तव्य मुलुक रहेको मलेसियालाई फ्रिभिषा, फ्रिटिकटको बादल लागेको छ । आप्रवासी कामदारलाई काममा पनि जोताउनु पर्छ र रकम पनि उनीहरुलाई नै तिराउन पाउनु पर्छ भन्ने सोच्ने मलेसियाली सरकारको ध्यान पछिल्लो समय जतिपनि पैसा तिर्न तयार बंगलादेशी मार्केट भएको छ । त्यसैले नेपालले फ्रिभिषा, फ्रिटिकटमा मात्र कामदार पठाउने निर्णय गरेपछि त्यसको विकल्प भन्दै मलेसियाले सस्ता कामदार सप्लाई गर्ने भनेर कहलिएको बंगलादेशतिर हात लम्काएको छ । एकातिर रिंगिटको भाउ घटेर २४ भन्दा तल आइपुग्नु र अर्कोतिर स्वयं मलेसियाले नेपालीको सट्टा बंगलादेशी कामदारतिर रुचि राख्नुले त्यहाँको रोजगारी नेपालीका लागि घट्यो ।
यो परिस्थीतिमा त्यसअघि तेश्रो स्थानमा रहेको साउदी अरव नेपालीका लागि पहिलो रोजाईको गन्त्व्य बन्न पुग्यो । तर पेट्रोलियम पदार्थको मूल्यमा लगातार आएको गिरावटले कामदारको खपत कम भएपछि साउदीमा पनि नेपालीका लागि रोजगारीको अवशर खुम्चियो । र, नेपालीका लागि ठूलो रोजगार गन्तव्य रह्यो कतार ।
सन् २०२२ मा विश्वकप फुटवल प्रतियोगिता हुन गइरहेको अवस्थामा कतारमा निर्माणको क्रम तिव्र गतिमा भएका कारण पनि नेपालीका लागि त्यहाँ रोजगारीको अवशर धेरै रह्यो । विगत लामो समयदेखि नेपालीको एउटा मुख्य रोजागार गन्तव्य मुलुक भएका कारण पनि कतारमा नेपालीको संख्या आप्रवासी कामदारमा दोश्रो स्थानमा छ । झण्डै ५ लाख नेपालीले काम गर्ने कतारमा पछिल्लो समय मडारिएको कालो वादलले त्यहाँ कार्यरत नेपाली र तिनका परिवारका सदस्यलाई त चिन्तित तुल्याएको छ नै, रोजगारीका लागि कतार जान ठिक्क परेकाहरुलाई पनि दोधारमा पारेको छ ।
व्यवसायीहरुका अनुसार हाल कतारमा कामदार पठाउने विषयमा पर्ख र हेरका अवस्था छ । कामदार पठाउने वित्तिकै फर्काउनु पर्ने अवस्था पो आउने हो की भनेर व्यवसायी डराएका हुन् । अर्कातर्फ स्वयं कतारमा कार्यरत कम्पनीहरुलाई पनि लम्विंदै गएको संकटले अत्याएको हुन सक्छ ।
यसले तत्कालमा प्रभाव पारिनहाले पनि समस्या लम्विंदै गएमा नेपालमा पनि त्यसको प्रभाव पर्ने देखिन्छ । मुख्यगरी रोजगारीका लागि तयार युवाका लागि मलेसिया र साउदी अरवको बाटो खुम्चिएको अवस्थामा अर्को ठूलो रोजगारदाता मुलुक कतारको ढोका बन्द भएमा त्यसले बेरोजगारीको समस्या चर्काउनेछ ।
बैदेशिक रोजगारमा आकर्षक गन्तव्य सरकारले खोज्ने भन्दा पनि जता माग छ उतै बग्ने नेपाली श्रमिकले पठाउने रेमिट्यान्समा आश्रित भएको मुलुकले यसका बारेमा जुन रुपमा चासो देखाउनु पर्ने हो त्यो देखाएको छैन । हजारौं माईल टाढाको देशमा उसकै दुष्ट छिमेकीद्धारा सिर्जित समस्याले हामीलाई पनि विस्तारै गाँज्दै जाने संकेत देखिएको छ । सञ्चार माध्यम बन्द गर्न र अर्को कुनै छिमेकीसँगको सम्वन्ध तोड्नु पर्ने जस्ता शर्त राखेर नाकावन्दीमा उत्रिएका छिमेकीसँग कतारले बरु भाँच्चिने तर नझुक्ने नीति अख्तियार गर्ने जनाउ दिइसकेको छ । यसले अझ उत्तेजित भएका साउदी लगायतका मुलुकले अव कस्तो नीति अगाडी बढाउँछन् त्यसले नै कतारमा कार्यरत नेपालीको रोजगारीको भविष्य निर्धारण गर्दछ । हुन त त्यहाँ के हुन्छ यसमा हाम्रो सरकारको भूमिका हुन्न । तर यो समस्या, सम्भावित जोखिम र त्यसबाट बच्ने उपायका बारेमा भनें नेपाल सरकारले आफ्नै रणनीति बनाउन भनें ढिलो गर्नुहुन्न ।
यो पनि पढ्नुहोस्
नेपाली समाज युएईः अवको नेतृत्व चर्चा