
म्याग्दी, असार १३-
म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा विदेशबाट फर्किएका युवाले व्यावसायिक माछापालन सुरु गरेका छन् । गाउँमै स्वरोजगार बन्ने उद्देश्यले तीनजना युवाले बेग फिस फार्म स्थापना गरेर माछापालन सुरु गरेका हुन् ।
बेगका महेन्द्र गर्बुजा, धनबहादुर तिलिजा र युबहादुर फगामीले पाँच लाख रुपैयाँ लगानी गरी माछापालन सुरु गरेका हुन् । उनीहरू वैदेशिक रोजगारीका लागि दुबईमा तीन वर्ष काम गरेर फर्किएका थिए ।
“विदेशभन्दा गाउँमै परिश्रम गरौं भन्ने सोचाइले व्यवसाय सुरु गरेका हौं,” महेन्द्र गर्बुजाले भने । वार्षिक ६ हजार रुपैयाँ भाडा बुझाउने गरी पाँच रोपनी जग्गा भाडामा लिएका उनीहरूले माछापालनका लागि आठवटा पोखरी बनाएका छन् ।
पहिलो चरणमा कमन कार्प, ग्रास र ट्राउट जातका आठ हजार माछाका भुरा पोखरीमा छाडेका छन् । व्यवसायलाई भविष्यमा अझै विस्तार गर्ने लक्ष्य रहेको युबहादुर फगामीले बताए ।
माछापालनका साथै बंगुर, कुखुरा र हाँसपालन पनि गर्ने उनीहरूको योजना छ । सानो लगानीमा व्यवसाय सुरु गरेको बताउने उनीहरूले भविष्यमा लगानीलाई बढाउँदै लैजाने जानकारी दिए ।
व्यवसाय सुरु गर्नुअघि प्राविधिक र आर्थिक सहयोगको अपेक्षा राखेर जिल्ला कृषि र पशुसेवा कार्यालयमा पुग्दा सहयोग नपाएकोमा उनीहरूले गुनासो गरे ।
कारोवारबाट