म्यानपावर कम्पनीसँग लाखौं उठाएको आरोप

काठमाडौं, असार १२-

फ्रि भिसा, फ्रि टिकट सम्बन्धी स्पष्ट विवरण नबुझाएको भन्दै वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीसँग २ देखि ७ लाख रुपैयाँसम्म असुलिरहेको व्यवसायीहरूले आरोप लगाएका छन् । विभागले दुई म्यानपावरका बिचौलिया प्रयोग गरेर कारबाही प्रक्रिया नबढाउने सर्तमा महानिर्देशकका नाममा पैसा उठाइएको उनीहरूको दाबी छ ।

विभागको कारबाहीबाट बच्न दुई दर्जन म्यानपावर व्यवसायीले बिचौलियालाई २ लाख रुपैयाँ बुझाइसकेको दाबी व्यवसायीको छ । विभागले बिचौलिया प्रयोग गरेर व्यवसायीबाट रकम उठाइरहेको छ,’ वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले भने, ‘सम्पर्कमा आएका व्यवसायीलाई पैसा नबुझाउन भनेको छु, केहीले बुझाइसकेका छन् ।

विभागले गत फागुन ३० गते ७ सय म्यानपावरलाई विभिन्न शीर्षक तोकेरै हिसाबकिताब पेस गर्न निर्देशन दिएको थियो । प्रवद्र्धन खर्च, पूर्वस्वीकृति, कामदार पठाएको कम्पनी, हवाई टिकट (एयरलाइन्सको नामसहितको टिकट नम्बर), हवाई टिकटबापत रकम पठाएको रेमिट्यान्स कम्पनीको नाम, कामदार पठाएबापत प्राप्त गरेको सेवा शुल्क, शून्य लागतमा पठाइएको कामदारको संख्यासहित कम्पनीको बैंक स्टेटमेन्ट विवरण बुझाउन भनिएको थियो । विवरण बुझाएका म्यानपावरलाई पनि विभागले छानबिनका क्रममा विवरण नखुलेको भन्दै अर्को पत्र पठाएको छ । रिभर ओभरसिज, एसओएस, प्रुडेन्टिएल, अन्जली, प्याराडाइजलगायत ८ म्यानपावरलाई पुनः विभिन्न प्रश्न राखी पत्र पठाइएको छ । अध्यक्ष ढकाल यो पत्र पनि कमाउने हिसाबले काटिएको बताउँछन् । 

विभागका कर्मचारीले शून्य लागतको नीतिलाई कमाउने हतियार बनाएको ढकालले बताए । अति नै भएपछि व्यवसायीहरूले विभागका महानिर्देशकसमक्ष आपत्ति प्रकट गरिसक्यौं । बिचौलियाको भूमिका निर्वाह गर्ने केही राजनीतिक दलका नेतालाई पनि भेटेरै सचेत गराएका छौं,’ उनले भने । महानिर्देशकका नाममा पैसा उठाउने काम भइरहेको भन्दै ढकालले त्यसो नभए बिचौलियालाई कारबाही गर्न विभागलाई सुझाए । 

विभागका महानिर्देशक विश्वराज पाण्डे भने म्यानपावरसँग रकम असुल गर्ने कार्य नगरेको बताउँछन् । हामीले कसैलाई परिचालन गरेका छैनौं,’ उनले  भने, ‘उठाएको प्रमाण भए कारबाही गर्छौं ।विवरण नबुझाउनेलाई ५० हजार जरिवानादेखि इजाजत रद्दसम्म कारबाही गरिने उनले बताए ।

कान्तिपुरबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: