
पोखरा, असार ८-
देशमा रोजगारी नभएर दैनिक हजारभन्दा बढी युवा विदेश गइरहेका छन् । तर, पोखराकी एक महिला भने बेलायतको भिषा त्यागेर स्वदशमै उद्यम गरिरहेकी छन् । पोखराकी मीना गुरुङ सञ्चार, सौन्दर्य व्यवसाय र राजनीतिलाई एकैसाथ अघि बढाएर समाजमा आफ्नो छुट्टै पहिचान स्थापना गर्न सफल छिन् ।
पोखरा रानीपौवाकी गुरुङ बेलायती लाहुरेकी श्रीमती हुन् । उनलाई पैसाको कुनै कमी थिएन । तर, आफ्नो खुट्टामा आफैँ उभिनुपर्छ भन्ने मान्यताका साथ गुरुङले सञ्चार तथा ब्युटिसियनसम्बन्धी कामको सुरुवात गरेकी छन् । बेलायतको आवासीय भिसा हुँदाहुँदै पनि स्वदेशप्रतिको मायाले नेपाल नै बसेको उनी बताउँछिन् ।
पोखरामा आफ्नो घरबाटै ब्युटीपार्लर सुरु गरेकी उनले मलेसियामा रहेको क्लारा इन्टरनेसनल कलेजबाट अनुबन्धित भई मास्टर फ्रेन्चाइजीको रूपमा क्लारा इन्टरनेसनल स्पा तथा ब्युटी कलेज स्थापना गरेकी छिन् ।
सीटीईभीटीबाट मान्यता प्राप्त हङकङ हर्बल ब्युटी इन्स्टिच्युटबाट सुरु भएको नेपालकै पहिलो ब्युटी स्पा कलेज अहिले पोखरामा सञ्चालन भइरहेको छ । उनी विभिन्न सामाजिक संस्थामा आवद्ध हुनुका साथै राजनीतिलाई पनि अगाढि बढाइरहेकी छिन् ।
उनी भन्छिन्, “हामी धेरै महिलाहरू अझै पनि घरको चुलोबाट र मनको कमजोरीबाट माथि उठ्न सकेका छैनौँ । संसारमा अर्थतन्त्र जसले चलाउँछ, ऊ नै स्वतन्त्र र मालिक बन्न पाउँछ । त्यसैले अब हामीले आफ्नो जीवनस्तरलाई गरिबीको मूल धारबाट हैन, सम्पन्नताको माध्यमबाट आफनो अधिकार प्राप्त गर्नुपर्छ ।”
पोखरामा छरिएर रहेका व्युटिसियनहरुलाई एकीकृत पारी राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल नामक संस्था गठन गरी महिलाहरुलाई व्यावसायिक रूपमा अघि बढाउन पहलकदमी गरेकी मीनाले हाल नेपालमै अन्तर्राष्ट्रिय स्तरको ब्युटी कलेज स्थापना गरी समाजमा सम्भावित कार्यको थालनी गरेकी छिन् । “बेलायतको भिसा र हङकङको आईडीले मलाई धनी बनाउँथ्यो होला, तर आज आफ्नै देशमा बसेर काम गर्न पाउनु मेरो लागि खुसीको कुरा हो,” गुरुङ भन्छिन् ।
कारोवारबाट