काठमाडौं, असार १-
नेपाल बैदेशिक रोजगार व्यवसायी संघको आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष विमल ढकाल र वर्तमान महासचिव रोशण गुरुङ भिड्ने भएका छन् । ढकाललाई नेपाल काँग्रेस निकटको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले पुनः अगाडी सारेपछि संघको आगामी नेतृत्वको लागि गुरुङ र ढकालबीचको प्रतिस्पर्धा तय भएको हो । गुरुङलाई यसअघि नै नेकपा एमाले निकटको प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले उम्मेदवार घोषणा गरिसकेको छ ।
गुरुङलाई माओवादी केन्द्र निकटको वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, गुरुङ व्यवसायीहरुको संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी तमुधीँ (समाज), वैदेशिक रोजगार तामाङ व्यवसायी समाज, विश्वकर्मा वैदेशिक रोजगार व्यवसायी समाज नेपाल र वैदेशिक रोजगार मगर समाजले सघाउने घोषणा गरिसकेका छन् ।
प्रष्टवक्ता गुरुङले महासचिव हुँदा व्यवसायीको पक्षमा महत्वपूर्ण समयमा ठूलो लविङ गर्ने गरेका कारण व्यवसायी माझ उनी चर्चित छन् । ढकालले भनें वर्तमान कार्यकालमा व्यवसायीका पक्षमा त्यतिधेरै आवाज उठाउन नसकेको गुनासो छ । सार्वजनिक कार्यक्रमहरु तथा मन्त्रालय र विभागमा आयोजना हुने छलफलहरुमा संघका महासचिव गुरुङले नै प्रतिनिधित्व गर्दै आएका थिए ।
असार १७ गते हुने संघको २५ औँ साधारणसभाले नयाँ नेतृत्व चुन्नेछ ।
यो पनि पढ्नुहोस्
चार लाखले साउदी छोड्ने अनुमति लिए, आममाफी सकिएपछि कडा कारवाही सुरु हुने