काठमाडौँ, असार १-
वैदेशिक रोजगारीका लागि कतार जाने नयाँ कामदारको माग ठप्प भएको छ । यसले गर्दा रोजगारीका लागि कतार जाने मानसिकता बनाएका कामदार अन्योलमा परेका छन् । खाडीका देशले कतारलाई नाकाबन्दी लगाएसँगै त्यहाँ नयाँ कामदारको माग गर्ने संस्थाहरू पर्ख र हेरको अवस्थामा छन् ।
कतारमा ड्राइभरका लागि श्रमस्वीकृति लिएर बसेका कास्की पोखराका रमेश कार्की त्यहाँ जाने कि नजाने भन्ने दोधारमा परेका छन् । उनले भने, भिसा पनि लागिसकेको छ, दुई महिनाभित्र पुगिसक्नुुपर्छ, अहिले त्यहाँ देखिएको समस्या केही मत्थर होला र जाउँला भनेर टिकट नलिई बसेको छु ।
भिसा लिएर बसेका केहीको मनस्थिति दोधारको भए पनि अहिले पनि दैनिक करिव डेढसयको हाराहारीमा श्रमिक गइरहेको पाइएको छ । यो सङ्ख्या पहिले दैनिक करिव चार सय थियो ।
कतारका लागि नेपाली राजदूत रमेश कोइरालाले कतारमा भएको पछिल्लो राजनीतिक घटनाले तत्काल कतारमा कार्यरत नेपाली श्रमिकलाई कुनै समस्या नभएकाले भिसा लिइसकेकाहरू ढुक्कसँग आउन सक्ने बताए । उनले भने, कतारमा विभिन्न कामका लागि भिसा लागेकाहरू अहिले पनि आउने क्रम रोकिएको छैन, यहाँ कार्यरत कामदारमा पनि कुनै समस्या छैन ।
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिव रोहन गुरुङले कतारमा वैदेशिक रोजगारीका लागि नयाँ कामदारको माग नआए पनि भिसा लिएर बसेका जाने क्रम नरोकिएको बताए । उनले भने, अहिले पनि दैनिक एकदेखि डेढ सयको हाराहारीमा विभिन्न कामका लागि नेपाली कामदार कतार गइरहेका छन् ।
उनले कतारमा नयाँ कामदारको माग नआउनुको कारण मुस्लिमको पर्व रमजानले हो कि कतारमा पछिल्लो पटक विकसित राजनीतिक घटना क्रमले हो भन्ने कुरा असार २०÷२५ गतेपछि मात्रै भन्न सकिने बताए ।
यो समयमा यसअघिका वर्षमा पनि कतारबाट कामदारको खासै माग आएको पाइँदैन किनभने कामदारको माग गर्ने रोजगारदाताहरू यो बेला रमजानमा सार्वजनिक बिदामा बस्ने गर्छन् त्यसैले अहिले नै यो कारण भनेर भन्न सकिँदैन, महासचिव गुरुङले भने ।
यता वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीले कतार जानेले श्रमस्वीकृति लिने कार्य भने नरोकिएको बताए । उनले भने, वर्षभरिको हिसाव गर्दा कतार जानका लागि औसतमा दैनिक चार साढे चार सयको हारहारीमा श्रमस्वीकृति लिएको पाइन्छ, अहिले पनि दुई–तीन सयको हाराहारीमा श्रमस्वीकृति लिइरहेका छन् ।
वैदेशिक रोजगार विभागका प्रवक्ता अधिकारीले कतार आर्थिक रूपले धेरै सम्मृद्ध मुलुक हो भन्दै केही महिनाको नाकाबन्दीले तत्कालै विकराल समस्या नआउने भएकाले भिसा लागिसकेकाहरू ढुक्कसँग जानसक्ने बताए ।
कतारले खाडी क्षेत्रमा अस्थिरता बढाएको तथा आतङ्ककारीलाई संरक्षण दिने काम गरेको भन्दै कतारका छिमेकी मुलुक साउदी अरब, संयुक्त अरब इमिरेटस् (युएई), इजिप्ट, बराइनलगायतका देशले गएको २२ गतेदेखि नै कतारका विमानलाई आफ्नो हवाई क्षेत्रमा उड्न नपाउने गरी प्रतिबन्ध लगाएका छन् ।
साउदी अरब, बहराइन, इजिप्ट, युएईले कतारसँगको हवाईस्थल तथा समुद्री बाटो बन्द गरेका छन् भने यमन, लिबिया र माल्दिभ्स्ले पनि कतारसँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेका छन् । खाडी मुलुकबीचको विवादले रोजगारीका लागि यी देशमा पुगेका नेपाली पनि अन्योलमा परेका छन् ।
कतारस्थित नेपाली राजदूतावासका अनुसार कतारमा रोजगारीका लागि आएका नेपाली कामदारको सङ्ख्या चार लाखभन्दा बढी रहेको छ ।
कतार नेपाल जस्तो भूपरिवेष्ठित मुलुक होइन, उसको समुन्द्रसँग पहुँच छ, आर्थिक रूपमा पनि सम्पन्न छ । कूटनीतिक रूपमा समस्या समाधान गर्न सक्षम पनि छ । यो समस्या लामो समय रहन्छ जस्तो लाग्दैन, राजदूत कोइरालाले थपे ।
राजदूत कोइरालाले कतारका अर्थमन्त्री अली सरिफ अल इमादीलाई उद्धृत गर्दै भने, युएई, साउदी अरब लगायतका देशले हवाई र सामुन्द्रिक बाटो समेत बन्द गरे पनि त्यसले कतारमा खाद्य सङ्कट र सामान आयातमा समस्या हुँदैन ।
कतारले पहिले नै आवश्यक खाद्यलगायत अन्य सामग्री ब्राजिल र अस्ट्रेलियाबाट आपूर्ति गरिसकेको छ । उसले अब यसलाई निरन्तरता दिनेछ । त्यति मात्र हैन कतारले अरू थुप्रै देशबाट पनि सामान आयात गर्न सक्छ, अर्थमन्त्री इमादीलाई उद्धृत गर्दै राजदूत कोइरालाले भने ।
गोरखापत्रबाट
