काठमाडौंः रोजगार अनुमति प्रणाली (इपिएस) आठौँ कोरियन भाषा परीक्षाअन्तर्गत पहिलो दिन भएको परीक्षामा परीक्षा केन्द्रसम्बन्धी विवरण फरक पर्दा एक परीक्षा केन्द्रका चार सय परीक्षार्थीको परीक्षा छुटेको छ।
एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट खुमलटारमा परीक्षा केन्द्रको प्रवेशपत्र नम्बरको विवरण अन्यथा पर्न गएकाले सिनं १००७२८७३ देखि १००७३५५८ सम्मका परीक्षार्थीमध्ये केही परीक्षार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । सो केन्द्रमा ७५० जना परीक्षार्थी रहेकामा ४०० को परीक्षा छुटेको हो ।
वैदेशिक रोजगार विभाग, इपिएस शाखाका अधिकृत शोभाकर भण्डारीले मानवसंशाधन कोरियासँगको सहमतिमा छुटेका परीक्षार्थीलाई यथाशक्य छिटो परीक्षा दिने व्यवस्था मिलाउन आवश्यक पहल भइरहेको जानकारी दिए ।
उनले भने ‘हामीले जेठ १९ गते परीक्षा केन्द्रको सूचना जारी गर्छौं भनेका थियौँ, तर १८ गते नै वेबसाइटमा राख्यौँ, सो परीक्षा केन्द्रको विवरण केही फरक परेपछि लगत्तै सच्यायौँ । तर परीक्षार्थीले पुरानै तालिका हेरेर गएछन् ।’
परीक्षामा ७५ हजार ५८० जनाले आवेदन दिएकामा शनिबार राजधानीको २६ वटा केन्द्रमा ३७ हजार बढीले भाषा परीक्षामा सहभागी भए । बाँकीले आइतबार परीक्षा दिनेछन् । बिहान र दिउँसो गरी दुई चरणमा परीक्षा भइरहेको छ ।
भाषा परीक्षामा सहभागीमध्ये १० हजार २०० जना मात्र उत्तीर्ण हुनेछन् । जसमा कृषि क्षेत्रमा छ हजार २०० र उत्पादनमा चार हजार उत्तीर्ण हुनेछन् । परीक्षामा नौ हजार ७९६ महिला र ६५ हजार ७८४ पुरुषले आवेदन दिएका छन् ।
कारोवारबाट