अबुधाबी (युएई)- घरको आर्थिक जिम्मेवारी पुरुषले मात्र सम्हाल्नुपर्ने सोचमा परिवर्तन हुनथालेसँगै रोजगारीका लागि महिलाहरु विदेशिन थालेका छन्। रोजगारीको मुख्य गन्तव्यमध्येको एक दुबईमा पनि नेपाली कामदारको सङ्ख्या उल्लेख्य छ । अन्तर्राष्ट्रिय ट्रान्जिटका रूपमा रहेको अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै तीनसय भन्दा बढी नेपाली महिलाहरु काम गर्छन्।
आर्थिक अवस्था सुधार्न कति महिलाहरु काखे बच्चा छोड्दै त कतिले पढाइ समेत पूरा नगरी परदेशिएका छन्। आवुधावीको एयरपोर्टमा सुकिला पोसाकमा ठाँटिएका हँसिला कामदारहरु नेपाली महिला नै हुन् भनेर ठम्याउनै मुश्किल पर्छ । तर जब उनीहरु एकापसमा बोल्न थाल्छन् नेपालकै गाउँघर पुगेजस्तो लाग्छ।
बुटवल मुर्गियाकी निरु परियारको सपना त ब्यूटीपार्लरमा काम गर्ने थियो। तर अहिले उनी एयरपोर्टको शौचालयमा सफाइको काम गरिरहेकी छिन्।
एयरपोर्टको शौचालयमा भेटिएकी उनी नेपाली गीत गुनगुनाउँदै थिइन्। ब्युटिपार्लरमा काम गर्ने रहरका साथ दुबर्इ आएकी उनी सरसफाइको काम गरिरहेकी थिइन्। किन त ? उनले ब्यूटीपार्लरमा काम गर्न दिएको आवेदनमा भिसा लागेन रे। ‘दोस्रो पटक सरसफाइको काममा भिसा लगाएर आएँ। अहिलेसम्म यस्तो काम गरेको थिइन’ उनी भन्छिन्।
निरुमात्र होइन परिवार र बच्चाको उज्ज्वल भविष्यको सपना बोकेर छ वर्षअघि दुबई छिरेकी संगीता पनि सुरुमा यहाँ काम सिक्दाका दुःख बिर्सन नसकिने बताउँछिन्। “बाध्यता सबैको उस्तै हो। बच्चा र परिवारको यादले कति भक्कानो फुट्छ हामीलाई मात्र थाहा छ तर पनि काम गर्नैपर्छ।” – उनी भन्छिन्।
३६ वर्षकी संगीतालार्इ अहिले शरीर पोल्ने, झमझमाउने, टाउको दुख्ने समस्या सुरु भएको छ तर परदेशमा दैनिक १२ घण्टा खटिन्छिन् उनी। “आराम गरे तलब आउँदैन घर फर्कौ भने बिदा पाइँदैन । ओभरटाइम पनि गर्नैपर्यो।” आफूलार्इ धेरै गार्ह्रो पर्दा अरु नेपाली दिदीबहिनीले सघाउने उनले बताइन्।
अबुधाबी अन्तर्राष्ट्रिय एयरपोर्टमा सानोदेखि ठूलो पदमा रही काम गर्ने महिलाको सङ्ख्या तीनसयको हाराहारीमा छ। हेटौँडाका ३० वर्षीय एक नेपाली युवाले नाम नभन्ने शर्तमा भने पुरुषको तुलनामा एयरपोर्टमा महिला कामदारको सङ्ख्या धेरै छ। उनी भन्छन् – “एयरपोर्ट बाहिर त पुरुषकै सङ्ख्या बढी छ तर एयरपोर्टमा नेपाली पुरुष २५० जना छन् ३ सयको हाराहारीमा छन्।’’
यहाँ काम गर्ने नेपालीहरू आपसमा नेपाली भाषामै बोल्ने गर्छन् । कोही नेपाली जस्तो लागेमा सोधीखोजी गर्छन् । यहाँ काम गर्ने महिला कामदारलाई बाहिरी व्यक्तिसँग बोल्ने अनुमति छैन अझ खासगरी सुरक्षाकर्मीहरूसँग । उनीहरु बाथरुममा लुकेर कुराकानी गर्छन्।
दुबईमा रोजगारीका लागि पुग्ने नेपालीहरु कम पढेकामात्र हुन्छन् भन्ने बुझाइ हामीमा छ । तर अबुधाबी एयरपोर्टमा कार्यरत क्यासियर मेरिना प्रधानलाई भेटेपछि यो भ्रम टुट्छ ।
राजनीतिशास्त्रमा स्नातकोत्तर उनी पढेर राम्रो जागिर नपाएपछि दुबर्इ पुगेको बताउँछिन्। उनको परिवार भने दार्जिलिङमा छ । दुर्इ वर्षअघि दुबर्इ पुगेकी मेरिना भन्छिन्–‘परदेशमा सबै नेपाली आफ्ना लाग्छन्। अनि मिलेसम्म सबैलार्इ सहयोग गरिन्छ।’
प्रधानले एयरपोर्टमा कार्यरत कुनै पनि नेपालीलार्इ समस्या परेको छ भने त्यसको समाधान खोजिहाल्छिन्। ‘सुरु सुरुमा धेरै दिदीबहिनीहरु अत्तालिन्छन्, उनीहरूलाई सान्त्वना दिन पाउँदा खुशी मिल्छ’ उनी भन्छिन्।
देशमा रोजगारी नहुँदा विदेशिएका नेपाली महिलाले आफूहरूले पनि घरव्यवहार चलाउन सकेकोमा सन्तुष्टि व्यक्त गरे । कामको सम्मान हुने भएकाले विदेशी मुलुकमा काम गर्न सजिलो भएको नेत्रा कार्कीले बताइन्। “हामीलाई आफ्नो देशमा काम गर्न कठिन छ तर यहाँ सजिलो छ” – उनी भन्छिन्।
एयरपोर्टमा कार्यरत महिलाले अन्यत्रभन्दा बढी कमाइमात्र गर्दैनन्, व्यक्तित्वसमेत गजबले विकास गरेका छन् । मेरिना प्रधानका अनुसार विश्वका मानिसको आवतजावत हुने भएकाले यहाँ काम गर्ने हरेक महिलाको व्यक्तित्व र आत्मबल उच्च छ । रासस