‘कतारमा कार्यरत नेपाली आत्तिनु पर्दैन’

काठमाडौं- खाडी क्षेत्रमा विकसीत क्षेत्रिय कुटनीतिक घटनाक्रमबाट वैदेशिक रोजगारीमा गएका नेपाली कामदार तत्काल आत्तिहाल्नु पर्ने अवस्था नरहेको कतारका लागि पूर्व नेपाली राजदूतले बताएका छन् । साउदी अरब, संयुक्त अरब इमिरेट्स ९युएई०, बहराइन, इजिप्ट, यमन र माल्दिभ्सले कतारसँग कुटनीति सम्बन्ध विच्छेद गरेको घोषणापछि कतारमा कार्यरत नेपाली कामदार आगमि दिनको विषयमा अन्योलमा छन् । कतारवाट साउदीलाई ट्रान्जिट बनाएर गाडी चलाउने चालकको काम भने रोकिएको छ ।    

‘यो नितान्त कुटनीतिक सम्बन्ध हो । कतार पूर्ण रुपमा साउदी र युएईमा निर्भर छैन । कुटनीतिक सम्बन्धमा तलमाथि हुने वित्तिकै तुरुन्तै कामदारको रोजगारमा असर पर्दैन,’ कतारका लागि नेपाली पूर्व राजदूत सुर्यनाथ मिश्रले भने, ‘नेपालीले अहिले तुरुन्तै बदलिएको कुटनीतिक सम्बन्धलाई लिएर चिन्ता नजनाउदा हुन्छ ।’ 

विकसित घटनाक्रमले कतारी नागरिक र विदेशीको सामान्य जीवनमा कुनै असर नगर्ने कतार सरकारको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ । कतारी समाज र अर्थतन्त्रलाई प्रभावित हुन नदिन कतार सरकारले आवश्यक सबै उपाय अपनाउने पनि विज्ञप्तीमा उल्लेख छ । 

कतारमा आप्रवासीसहित झन्डै २३ लाख जनसंख्या छ । जसमा ४ लाख नेपाली कामदार छन् । ती नेपाली मध्ये झन्डै ६० प्रतिशत कामदार निर्माणधिन कम्पनीसँग प्रत्यक्ष जोडिएका छन् । ‘साउदीले स्थल सीमा पनि बन्द गरेपछि निर्माण क्षेत्र, खाद्यान्य लगायत क्षेत्रमा असर गर्छ कि भन्ने धेरैले चिन्ता गरेका होलान्,’ मिश्रले भने, ‘कतारले प्रमुख खाद्यान्य भने भारत, पाकिस्तान र बंगलादेशबाट आपूर्ति गर्ने गरेको अवस्था छ ।’  

युएईले कुटनितिक सम्बन्ध बिच्छेद गरेको घोषणा गरेपनि कतारसँग जोडिएको समुन्द्रको बाटो प्रयोग गर्न दिने कि नदिने भन्ने बारे मौन छ । खाद्यान्यदेखि कतारलाई चाहिने आवश्यक सामग्री त्यही बाटो हुँदै आउने गरेको छ । ‘साउदी र कतारबीच पहिलादेखि नै चिसो सम्बन्ध थियो । क्षेत्रीयस्तरमा दुवैले आ–आफ्नो पहुँच विस्तार गर्न चाहिरहेको हो । यो खालको सम्बन्ध धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन,’ पूर्व राजदूत मिश्रले भने ।

दुई वर्षअघि अघि पनि साउदी, युएई, बहराइनले कतारबाट राजदूतलाई फिर्ता बोलाएको थियो । त्यसको केही महिनापछि फेरी राजदूतलाई पठाएको थियो । यसपटक भने साउदी अरबले कतारी अधिकारीबाट आतंकवादलाई प्रोत्साहन मिल्ने गरी गतिविधि र आर्थिक सहयोग लगायत आरोप लगाई कुटनीतिक सम्बन्ध तोडेको साउदी प्रेस एजेन्सीले जनाएको छ । कतारले ती देशले लगाएको आरोप आधारहिन भन्दै कुटनीतिक सम्बन्ध तोड्ने कार्य तथ्यपरक नभएको जनाएको छ ।

कान्तिपुरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय