मृत्यु भएको भन्दै दाहसंस्कार गरिसकिएका व्यक्ति नेपाल आइपुगे 

 

काठमाडौं, जेठ १२-

बैदेशिक रोजगारीका लागि साउदी अरव गएका एक नेपाली मृत्यु भएको भन्दै दाहसंस्कार गरी परिवारले राहत रकम समेत लिइसकेपछि स्वदेश आइपुगेका छन् । मोरङका सुवास तामाङ साउदीमा मृत्यु भएको भनिएको झण्डै दुई बर्षपछि शुक्रवार त्रिभुवन विमानस्थलमा उत्रिए । 

साउदीको हुुण्डाई कम्पनीमा २०७२ बैशाखमा रोजगारीका लागि पुगेका सुवास असारमा दुर्घटनामा परेका थिए । लेवरको काममा गएका उनी तलव बुझेर नेपाल पठाउन जाँदा दुर्घटनामा परेका थिए । सो दुर्घटनामा परेर तीनजनाको घटनास्थलमा नै मृत्यु भएको थियो भनें सख्त घाइते भएका दुईजनालाई अस्पताल लगिएको थियो । 

दुर्घटनामा परेर अनुहार चिन्न समेत नसकिने अवस्थामा रहेका सुवास तामाङ र तेजेन्द्र भण्डारीको उपचार अस्पतालमा भइरहेको थियो । उपचारकै क्रममा भोलिपल्ट सुवास तामाङको मृत्यृ भएको जानकारी अस्पतालले कम्पनीलाई गराएको थियो । सोही आधारमा प्रहरीले तामाङको मृत्यु भएको भन्दै साउदी स्थीत नेपाली दुतावासलाई जानकारी गराएको थियो । 

सोही आधारमा साउदीस्थीत नेपाली दुतावासले शव नेपाल पठाउन आवश्यक कागजात बनाइदिएपछि शव नेपाल आइपुगेको थियो । तामाङ परिवारले शव बुझेर दाहसंस्कार गरेको थियो । साउदी अरेवियाबाट शवसँगै आएको कागपत्रको आधारमा आवश्यक प्रक्रिया पुरा गरि तामाङ परिवारले वैदेशिक रोजगार प्रवद्र्धन वोर्डबाट तथा विमा कम्पनीबाट क्षतिपुर्ति रकम लिइसकेको छ । 

भयो के ?  

तामाङसँगै दुर्घटनामा परेर बाँच्न सफल भएको भनिएका व्यक्तिको अनुहार अस्पताल भर्ना भएको ३-४ महिना पछि विस्तारै चिनिंदै आउन थाल्यो । उनी विस्तारै बोल्न पनि थाले । अनी सोही कम्पनीमा काम गर्ने साथिहरुले थाहा पाए मृत्यु भएको भनिएका तामाङ जीवित थिए र यसअघि नै सद्गत गरिएको शव थियो तेजेन्द्र भण्डारीको । यो जानकारी उनीहरुले कम्पनी, दुतावास र नेपालमा पठाए । केहि प्रकृया पुरा गरी शुक्रवार नेपाल आईपुगेका सुवासको मस्तिष्कमा गहिरो असर परेपनि हाल उनको मानसिक अवस्था सुधारात्मक रहेको छ । 

कसरी फर्किन सफल भए स्वदेश ? 

सुवास जीवितै रहेको जानकारी पाएपछि, परिवारले रामेछाप स्थीत  सुरक्षित आप्रवासन सूचना केन्द्रमा उनलाई स्वदेश फर्काइदिन सहयोगका लागि निवदेन दिएको थियो । सो निवेदनको आधारमा सुवासलाई नेपाल फर्काउन र तेजेन्द्रको परिवारलाई न्याय दिलाउन सहयोग गर्न भन्दै सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेश्नल रिलेसन्स(सिएमआइआर) मा प्राप्त भएको सो संस्थाका कार्यक्रम अधिकृत बसन्त घिमिरेले बताए । निवेदन प्राप्त भएपछि साउदीमा रहेको नेपाली दुतावासमा सम्पर्क गरि आवश्यक प्रक्रिया अगाडि वढाउन सहकार्यका लागि आग्रह गरेको उनी बताउँछन् । 

सुवासलाई नेपाल फर्काउन तेजेन्द्रको परिवारलाई सम्पर्क गर्दा क्षतिपुर्ति चाहिने भनेपछि सो कुरा नेपाली दुतावासलाई जानकारी गराएको र सोही आधारमा दुतावासले कम्पनीसँग क्षतिपुर्ति दिन पत्राचार गरेको थियो । सुरुमा कम्पनी १० हजार साउदी रियाल दिन तयार भएपनि भण्डारी परिवारले मानेको थिएन । पछि कम्पनी १५ हजार रियाल(झण्डै ४ लाख) दिन तयार भएपनि सहमति गर्न भण्डारी परिवार राजी भएको हो ।

न्वारन र विहे गर्ने तयारी 

मृत्यु भएको भनेर शव नै नेपाल ल्याएर दाहसंस्कार गरिसकेको अवस्थामा श्रीमान स्वदेश फर्किने भएपछि उनलाई लिन सुवासकी श्रीमति सन्तोषि तामाङ आफैं काठमाडौं आउने तयारीमा थिइन् । तर शुक्रवार उनी विमानस्थलमा थिइनन् । कारण, मृत्यु भइसकेको भन्दै काजकिरिया भइसकेको अवस्थामा श्रीमानलाई उनले भेट्नु हिन्दु धर्म अनुसार मिल्दैन भन्ने मान्यता । त्यसैले शुक्रवार सुवासलाई लिन उनका साईंला भाई अम्वर तामाङ काठमाडौं आएका थिए । सुवास माइला हुन् । 

शनिवार दुई दाजुभाई मोरङको लक्ष्मिमार्गमा रहेको घर जान गाडी चढ्दै छन् । अव सुवासलाई घर लगेपछि उनको न्वारन र श्रीमति सन्तोषिसँग पुनः विवाह गर्ने परिवारको योजना छ । देशपरदेशसँगको कुराकानीमा अम्वरले भने माया मारिसकेको दाजुसँग भेट्न पाउँदा निक्कै खुशी छु । दुर्घटनामा परेर मस्तिष्कमा गहिरो चोट लागेका कारण सुवासको स्मरण शक्ति भनें निक्कै कमजोर भएको छ ।   

यो पनि पढ्नुहोस् 

आमाको आँशु, परदेशमा छोरो हराएपछि (भिडियो) 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: