पीडितले यसरी पक्राउ गरेर ल्याए विदेश पठाइदिने नामका कुख्यात ठगलाई 

 

काठमाडौं-

‘तपाईंलाई रकम अपुग भयोजस्तो छ । हामी थप ६ लाख रुपैयाँ दिन तयार छौं,’ तिङ्ला–९, सोलुखुम्बुका फुर्वा शेर्पाले डा. धनपति महतोलाई भाइबरमा सन्देश पठाए, ‘बुबाले पैसा पठाइदिनुभयो, कहाँ भेटेर थप रकम दिनुपर्ने हो ?’

फुर्वासहित ७ जना युवा दिल्लीमा मार्च २० देखि होटलमा बसिरहेका थिए । धनुषाका महतो उनीहरूसँग प्रतिव्यक्ति ९ लाख रुपैयाँ लिएर दिल्लीमै सम्पर्कविहीन भएर बसेका थिए । शेर्पाहरूले आफूहरू ठगिएको महसुस गरेपछि उनलाई समात्न थप रकम दिन तयार भएको भाइबर सन्देश पठाएका थिए । 

महतो दक्षिण कोरिया, क्यानडा, अस्ट्रेलिया, रुसलगायत देशमा जाने युवाहरूलाई दिल्लीमा बसेर ठगी गर्थे । उनीविरुद्ध वैदेशिक रोजगार विभागमा दर्जनौं उजुरी परेका थिए । फुर्वाको टोलीलाई पनि उनैले दक्षिण कोरिया लैजान्छु भन्दै दिल्लीमा झुलाएर राखेका थिए । एउटा पीडितले फेसबुकमा उनीविरुद्ध विभागले जारी गरेको पक्राउ पुर्जी र फोटो हालेको पोस्ट फेला परेपछि पक्राउ गरेर नेपाल लैजाने योजना बनाएका थिए उनीहरूले ।

फुर्वाको म्यासेज हेर्नासाथ धनपतिले तुरुन्तै दिल्लीको न्यु फ्रेन्ड्स कोलनी (एनएफसी) मा भेट्न बोलाए, ‘तिमीहरू सबै नआऊ । शंका हुन्छ । तीन जना मात्रै आउनू ।’ सोलुखुम्बुका फुर्वाछिरी शेर्पा, फुर्वा शेर्पा, आङफुरी शेर्पा, पेम्बा शेर्पा र दोलखाका साजन खडका दुईवटा टेम्पो चढेर गए । तीन जना कोलनीमा छिरे । तीन जना टेम्पोमै बसिरहे । 

‘तपाईंले हामीलाई भोलि–भोलि भन्दै झुक्याउनुभयो । साथीहरू सबै तनावमा छन् । हामीसँग लिएको रकमको कागज बनाउनुपर्‍यो । त्यसपछि मात्रै छाडिदिन्छु,’ छिरीले आवेगमा नआई भने, ‘जाऔं हाम्रो होटलमा । त्यहाँ कागजात बनाऔं । अनि छाडिदिन्छौं ।’

महतोले यसलाई सामान्य रूपमा लिए । दिल्लीमा कागज बनाइदिन उनलाई गाह्रो थिएन । उनीहरूलाई राखिएको होटलमा पुगेर सबैका लागि छुट्टाछुट्टै कागजात बनाइदिए । त्यसपछि आङफुरीले अर्को सर्त राखे, ‘अब तपार्इं हामीसँग नेपाल जानुपर्छ । नेपाल गएर हाम्रो सबै रकम दिनुहोला । त्यसपछि दिल्लीमा आएर आफ्नो काम गर्नुहोला ।’ 

उनीहरूले चार दिनदेखि एउटा गाडी भाडामा लिएर तयारी अवस्थामा राखेका थिए । महतो भाग्न सक्ने स्थितिमा थिएनन् । उनी खुरुखुरु गएर गाडी चढे । उनीहरूले विभागद्वारा जारी पक्राउ पुर्जीबारे उनलाई केही थाहा दिएनन् । दिल्लीबाट रुपैडिया हुँदै गाडीमा हालेर ल्याए । सीमा क्षेत्रनजिक महतोले जब भारतीय प्रहरी देखे, कराउन थाले, ‘मलाई यिनीहरूले अपहरण गरेर नेपाल लैजाँदै छन् । म भारतीय नागरिक हुँ ।’ 

पीडितहरूले घटनाबारे बताएपछि प्रहरीले छाडिदियो । भन्सार क्षेत्रमा फेरि भारतीय प्रहरी देख्नेबित्तिकै उनी उसरी नै चिच्याए, ‘मलाई अपहरण गरे ।’ 

फुर्वाले भारतीय प्रहरीलाई विभागद्वारा जारी पक्राउ पुर्जी देखाए । भारतीय प्रहरीले नेपालको प्रहरीलाई बोलाएर जिम्मा लगायो । ‘नेपालगन्जको प्रहरीले जिम्मा लिएपछि हामीलाई ठूलो राहत मिल्यो,’ फुर्वाले भने, ‘प्रहरीले तिमीहरू असली प्रहरीको काम गर्न सफल भयौ भन्दै हामीलाई धन्यवाद दिए ।’ 

नेपालगन्ज प्रहरीले सबैसँग बयान लियो । महतो मानव तस्करीमा संलग्न रहेको पुष्टि हुने फाइलसमेत बनाएर दुई जना प्रहरीको साथमा काठमाडौं पठाइदियो । काठमाडौं प्रहरीले महतोलाई विभागको जिम्मा लगायो । ‘अहिले विभागले मुद्दा दर्ता गरेको छ । अनुसन्धान जारी राखेको छ,’ शेर्पाले भने, ‘उनलाई दिल्लीबाट काठमाडौंसम्म ल्याउन हाम्रो ८ लाख रुपैयाँभन्दा बढी खर्च भयो ।’

वैदेशिक रोजगार विभागका अनुसार विभिन्न देश पठाइदिने भन्दै महतोले करोडौं रुपैयाँ ठगी गरेको उजुरी परेको छ । ‘हामी दलाललाई पक्रेर दिल्लीबाट काठमाडौंसम्म ल्याउन सफल भयौं । तर उनीसँग सम्पर्क गराउने ट्रम ट्राभल्स एन्ड टुरका निर्देशक रामचन्द्र राय र विराटनगरका विजयबहादुर सिंह फरार छन्,’ छिरी शेर्पाले भने, ‘उनीहरूको पनि खोजी गरिरहेका छौं ।’

कान्तिपुरबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: