काठमाडौं, बैशाख २८-
स्टुडेन्ट होस् वा वर्किङ भिसा, कोरिया प्रवेश गर्न चाहने नेपाली युवाको कमी छैन । ईपीएसमार्फत् कोरिया जान चाहनेको संख्या पनि बर्सेनि बढ्दो छ । अघिल्लो वर्षको तुलनामा रोजगारीको लागि कोरिया जान इच्छुक नेपालीको संख्या यो वर्ष करिब १५ हजारले बढेको छ । अघिल्लो वर्ष कोरियन भाषा परीक्षाका लागि ६० हजारले आवेदन दिएकोमा यो वर्ष सो संख्या बढेर ७५ हजार पुगेको छ । विगत १० वर्षको तथ्यांकले नेपाली कामदार कोरिया जाने क्रेज क्रमशः बढ्दै गइरहेको देखाउँछ । अझ नेपालीको ‘कोरिया क्रेज’ विगत ५ वर्षदेखि भने तिव्र रूपमा बढ्दै गइरहेको छ ।
नेपालीको कोरिया क्रेजसँगै कोरिया सरकारले समेत नेपाललाई दिने कामदार माग कोटा बढाउँदै लगेको छ । कोटा वृद्धिले नेपालीका लागि कोरिया आकर्षक रोजगार गन्तव्य बन्दै गइरहेको देखाएको छ । कोटासँगै दक्षिण कोरियाले त्यहाँ जाने विदेशी कामदारको तलब वृद्धि गर्ने गरेका कारण त्यहाँ जाने नेपालीको संख्या ५ वर्षमा दोब्बरले वृद्धि भएको छ ।
यसरी रोजगारीको लागि कोरिया जाने चाहना राख्दै परीक्षा दिने नेपालीको संख्या बढेपछि कोरिया सरकारले यो वर्ष पास गराउने संख्या वृद्धि गरेर १० हजार पु¥याएकोे छ । रोजगार अनुमति प्रणाली ९ईपीएस० अन्तर्गत हालसम्म ४४ हजार ४५४ नेपाली रोजगारीका लागि कोरिया प्रवेश गरिसकेका छन् ।
हालसम्म ३ लाख ३२ हजार नेपालीले कोरिया भाषा परीक्षामा सहभागी भए पनि ४४ हजार ४५४ जना नेपालीमात्र कोरिया सफल भएका छन् । रोजगारीका लागि कोरिया खुला गरिएपछि सन् २०१६ मा सबैभन्दा बढी नेपाली कोरिया प्रवेश गरेको तथ्यांक छ ।
सो एक वर्षको अवधिमा मात्र ८ हजार ७९ नेपाली कामदार कोरिया प्रवेश गरेको ईपीएस शाखाका अधिकृत शोभाकर भण्डारीले जानकारी दिए । सन् २०१६ मा ७ हजार ५०१ पुरुष र ५७८ महिला रोजगारीका लागि कोरिया प्रवेश गरेका थिए । यसरी नै सन् २०१७ को अप्रिल २८ सम्म १ हजार ८३९ पुरुष र २१७ महिला गरी २ हजार ५६ जना कोरिया गइसकेको शाखाले जनाएको छ । आउने शनिबारसम्म थप २५० कोरिया जाने तयारीमा रहेका छन् ।
बर्सेनि बढ्छ विदेशी कामदारको तलब
कोरिया सरकारले ईपीएसअन्तर्गत रोजगारीका लागि लैजाने कामदारको तलब बर्सेनि वृद्धि गर्ने प्रणाली विकास गरेका कारण रोजगारीका लागि त्यहाँ जाने नेपाली युवाको संख्या बढ्दै गइरहेको छ । कोरिया सरकारले ईपिएस प्रणाली लागू हुनु अघिदेखि नै कामदारको न्यूनतम तलब बर्सेनि वृद्धि गर्ने गरेका कारण पनि त्यहाँ जाने नेपालीले अन्य देशको तुलनामा राम्रो आम्दानी गर्ने गरेको अधिकृत भण्डारी बताउँछन् । सन् २०१७ पछि कोरियामा कार्यरत कामदारले मासिक न्यूनतम १ लाख २५ हजार रुपैयाँ पाउनेछन् भने दिनमा १(२ घन्टा ओटी गर्ने कामदारले १ लाख ५० हजार भन्दा बढी आम्दानी गर्ने गरेका छन् ।
भाषा परीक्षा अनिवार्य
रोजगारीका लागि कोरिया जान भाषा परीक्षा अनिवार्य पास गर्नुपर्छ । विगत ८ वर्षदेखि कोरिया सरकारले नेपालबाट लैजाने युवाको प्रारम्भिक छनोटका लागि भाषा परीक्षा लिँदै आइरहेको छ । कोरियन भाषा परीक्षाका लागि बर्सेनि युवाको आवेदन पर्ने भए पनि कोरियाको एचआरडीले १० प्रतिशतभन्दा कमलाई मात्र छनोट गर्ने गरेको छ । परीक्षा पास गर्न निश्चित अंक नतोकी आवश्यक कामदार संख्या बराबर सबैभन्दा बढी अंक ल्याउने परीक्षार्थीलाई छनोट गर्ने गरेको छ ।
अवैधानिक नबसे कोटा बढ्ने
कोरियामा कामदार पठाउँदै आएका १६ राष्ट्रमध्ये अवैधानिक बस्ने विदेशी कामदारहरूको संख्या गणना गर्दा नेपाली सबैभन्दा कम रहेका छन् । कोरियामा कार्यरत नेपाली कामदारमध्ये हालसम्म लगभग ३ प्रतिशत कामदार अवैधानिक रूपमा काम गर्दै आएको कोरिया सरकारको तथ्यांकमा उल्लेख छ ।
कोरिया सरकारले कामदार पठाउने देशका अवैधानिक कामदारको संख्या हेरेर कोटा थपघट गर्ने गरेको छ । कोरियामा जुन देशका कामदारको अवैधानिक बस्ने संख्या कम छ, सोही देशलाई कोटा थप गर्दै आएका कारण नेपाललाई दिने कोटा बढ्दै गईरहेको ईपिएस कोरिया शाखाले जनाएको छ ।
कोरिया सरकारले स्वेच्छिक स्वदेश फर्कने विदेशी कामदारलाई पुनः रोजगारीको अवसर दिने योजना ल्याइसकेको छ । कोरियाले नेपाली कामदार लिन नेपालसँग सन् २००८ देखि श्रमसम्झौता गर्दै आइरहेको छ । यो श्रम सम्झौता प्रत्येक २ वर्षमा नवीकरण गरिँदै आएको छ ।
कोरिया सरकारले ईपीएसअन्तर्गत रोजगारीका लागि लैजाने कामदारको तलब बर्सेनि वृद्धि गर्ने प्रणाली विकास गरेका कारण रोजगारीका लागि त्यहाँ जाने नेपाली युवाको संख्या बर्सेनि बढ्दै गइरहेको छ । कोरिया सरकारले ईपिएस प्रणाली लागू हुनुअघिदेखि नै कामदारको न्युनतम तलब बर्सेनि वृद्धि गर्ने गरेका कारण पनि त्यहाँ जाने नेपालीले अन्य देशको तुलनामा राम्रो आम्दानी गर्ने गरेका छन् ।
भाषा पास गर्नु रोजगारीको ग्यारेन्टी होइन
कोरियन भाषा परीक्षा उत्तीर्ण हुनु भनेको कोरियामा रोजगारीको ग्यारेन्टी होइन । रोजगार आवेदन गर्न योग्य हुनु मात्र हो । यी कुरा विगत वर्षहरूमा राम्रोसँग सुसूचित गर्न नसक्दा भाषा परीक्षा उत्तीर्ण भएपछि आफ्नो पेशा, व्यवसाय र अध्ययन नै छाडेर लामो समय कोरिया जान प्रतीक्षा गरेर बसेका युवाहरू सबैले रोजगारीको अवसर नपाउने हुँदा उनीहरूमा मानसिक, आर्थिक, सामाजिक समस्याहरू पैदा हुने गरेको छ ।
कोरियामा रोजगारीका लागि जाने उत्पादन क्षेत्रको तुलनामा कृषि तथा पशुपालनतर्फ कार्यरत कामदारहरूमा धेरै समस्या रहेको छ । कोरियाका रोजगारदाताले महिला कामदारहरूको माग न्यून गरिनु, कामदारहरूमा डिप्रेसन, आत्महत्या र कुनै बिमारीबिना नै सुतेकै स्थानमा मृत्यु हुने जस्ता समस्या देखिएका छन् । त्यसैगरी मृतकको शव नेपाल ल्याउने व्यवस्थापन खर्च व्यहोर्न समस्या देखिएको छ भने गैरकानुनी बसाइ र कार्यस्थल छिट्टै परिवर्तन गर्ने जस्ता प्रवृत्ति पनि देखा परेका छन् ।
विदेशको कमाइ थोरै लगानी
वैदेशिक रोजगारीबाट फर्केका नेपाली कामदारको कमाइ उत्पादनमूलक क्षेत्रमा लगानी गरी स्वदेशमा नै रोजगारीको स्रोत खोज्नुपर्नेमा घर, जग्गा, विलासी वस्तुको खरिदमा सकिने गरेको देखिएको छ । सरकारले रेमिट्यान्सलाई मुलुकभित्रै उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातारवरण बनाउन नसक्दा परदेशमा पसिना बगाएर कमाएको विदेशी मुद्रा अर्को बाटो हुँदै पुन विदेशिएको छ ।
कोरियाबाट फर्केका क्रियाशिल नेपालीको समूह अंकुर नेपाल नामक संस्थाले गरेको एक अध्ययनअनुसार कोरियाबाट काम गरेर फर्केका नेपालीले केही न केही पेशा व्यवसाय सञ्चालन गरी स्वरोजगार तथा आयमूलक कार्यमा लगानी गरेको देखाएको छ ।
सो संस्थाको सर्वेक्षणअनुसार कोरियाबाट फर्केका ६३ दशमलव १५ प्रतिशत उद्योग व्यवसायमा लागेको र ५ दशमलव २६ प्रतिशत कृषि तथा पशुपालन क्षेत्रमा लागेको देखाएको छ । त्यसैगरी ५ दशमलव ७८ प्रतिशत सामाजिक कार्यमा समेत लागेको देखाएको छ । २ दशमलव १० प्रतिशत पर्यटन क्षेत्रमा लागेको देखिन्छ भने २० प्रतिशत बेरोजगार रहेको देखिएको छ ।
कारोवारबाट
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/C9xZLuwltyU?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}