‘विदेश जाँदा ठगिएपछि एजेण्ट भएँ’ 

सिर्जना बस्नेत, रामेछाप- 

खैरो रंगको टिसर्ट र कालो ट्राउजर लाएका हरि बहादुर (नाम परिवर्तन) को हातमा हरियो पासपोर्ट छ । उनको एउटा काम गाउँमा भाँडाकुँडा सप्लाई गर्ने हो । तर उनी म्यानपावर कम्पनी मार्फत विदेशमा मान्छे सप्लाईको पनि काम गर्छन् । तर यो उनले उति रोजेर गरेको काम भनें होइन । बाध्यताले उनलाई यो काम हात लगाइदिएछ । ‘म त देश खाएर शेष भएको मान्छे हुँ’ उनी भन्दै थिए । 

संकटकालले पुर्यायो मलेसिया

परिवारका जेठा छोरा हुन् । ९ कक्षामा पढ्दै थिए । गाउँमा जताततै तत्कालिन माओवादीको बिगबिगी थियो । उनकै घरमा समेत धेरैचोटी आएर बास बसे माओवादी । प्रहरीले हामी आएको सुई्रको पाए भनें राम्रो हुन्न माओवादीको धम्की । स्कुलमा आएर पनि लौ हामीसँग हिंड भन्दै दवाव दिन्थे । अर्कातिर माओवादीलाई देखिस् भन्दै प्रहरीले दिनै सोध्ने । त्यसैले सधैँको तनाव खेप्नु भन्दा बिदेश जानु नै बेस भन्ने ठान्दै गाउँका दाजुहरु बिदेस जान थालेका थिए । त्यहि बाटो पछ्याउादै उनले पनि निधो गरे मलेसियाको जहाज चड्ने । यो २०६२ साल तिरको कुरो हो ।

 

मलेसिया जाँदा नै पाँच ठाउँमा ठगी 

मलेसिया जानको लागि सबै कुरा मिलाई दिने व्यक्ति थिए नाताकै एकजना एजेण्ट । उनले नै सबै कुराको ब्यवस्था मिलाई दिन्छु भनेर पासपोर्ट बनाए । पहिलो चोटी त्यहिं ठगिएको रहेछु उनी भन्दै गए ‘उमेर नपुग्ने रहेछ बढाएर बनाउन थप पाँच हजार रुपैयाँ लाग्छ भनेर ठगे । उनीसँग बिजुली बत्तीको काम गर्ने राम्रो सीप थियो । उनलाई त्यही कामको लागि विदेश पठाई दिने कुरा गरेका थिए । त्यसको लागि १ लाख ४० हजार रुपैयाँ लाग्ने  एजेण्टले बताए । सो रकम उनको परिवारले गाउँमा ऋण काढेर जुटाए । म्यानपावर कम्पनीमा १ लाख बुझाएर ४० हजार तिनै एजेण्टले कुम्ल्याएछन् । उनी दोश्रो पटक ठगिए । 

तर जव उनी बिदेस पुगे अनी थाहा पाए लागत त जम्मा ४० हजार मात्र रहेछ लागत खर्च । म त थाहा नै नपाई अर्काे पटक पनि ठगीमा परिसकेको रहेछु उनी भन्दै थिए । नेपालबाट विदेश पठाउँदा बत्ती सम्बन्धी काम भनेर पठाएको थियो तर मलेसियामा पुगेर सम्झौता देखाउँदै साहुले लेवरको काममा लगायो । मासिक ६ सय रिंगेट हुन्छ, लेबी काट्दैन भनेको थियो । उनले महिनाको ४ सय पाउने गरी सम्झौता गराएको रैछ । त्यसमा लेबी १०५ रिंगेट छुट्टै काट्ने गर्याे । ‘भाग्यले ठगेको मान्छेलाई धेरै ठाउँमा ठगेछन’ उनले दुखेसो पोखे ।

कतार जाँदा पनि ठगीको शिकार  

मलेसियाको कमाई राम्रो भएन । गएको ऋण तिर्न समेत डेढ वर्ष लाग्यो । दुःख गरे पनि रकम कमाउन सकेनन् । नेपालमा फर्किदा पहिलाको जस्तो डरमर्दाे अवस्था थिएन । केही समय नेपाल बसेर पछि कतार गए । कतार जाँदा पनि ६० हजार रुपैयाँ लियो म्यानपावर कम्पनीले । विदेशमा पुगेर बुझ्दा फ्रि भिषा रहेछ । कतारमा पनि म्यापावरले भने जस्तो कमाई भएन । लेवरको काम गरे । दुई वर्ष बिताएर नेपाल फर्किए । 

अनि एजेण्ट 

कतारबाट फर्किएर बिहे गरे । काठमाडौँको डेरामा श्रीमती राखेका छन् । गाउँ–गाउँमा भाँडाकुँडाको सप्लाई गर्छन् । विदेशको अनुभव राम्रै छ । गाउँमा पहिलो चोटी विदेश जानेहरुलाई सम्पर्कमा राख्ने र म्यानपावर कम्पनीहरुसँग सम्पर्क गराइदिन्छन् । कामदारलाई विदेशमा गर्ने काम र लाग्ने शुल्क अगाडी नै जानकारी गराउँछछन् । अहिले ३ वटा म्यानपावर कम्पनीहरुसँग सम्पर्क छ उनको । एक जानलाई म्यानपावर कम्पनीसम्म पु¥याए वापत ५ हजार रुपैयाँ दिन्छ म्यानपावर कम्पनीले । त्यो बीचमा आफूले मिलाएर डिल गर्नु पर्छ । कति जनाको त काम गरे पनि कमिसन लिंदैनन । साह्रै पैसा नभएकालाई उनी कमिसनको समेत रकम नलिने गरेको बताउँछन् । तर यो पेसा नै उनको पहिलो प्राथमिकता होइन । धेरैले चिनेका छन त्यसैले उनीहरुले नै सम्पर्क गर्छन । 

यहाँ जसले जे गरे नि हुन्छ, कस्ले कारवाही गर्छ र ?

उनलाई थाहा छ फ्रि भिषा फ्रि टिकटको ब्यवस्था बारे । तर म्यानपावर कम्पनीले धेरै पैसा लिंदै आएको कुरा सरकारलाई थाहा भए पनि खै कारबाही गर्न सकेको छैन भन्दै अलि आक्रोसित भए उनी । गाउँका कहिल्यै काठमाडौँ नदेखेका मान्छेलाई के–के ब्यवस्था छ भनेर कसरी थाहा हुन्छ र नठगिनलाई त । थाहा पाएर पनि मोटो रकम नतिरीकन विदेश पठाउदैन म्यानपावर कम्पनीले भन्ने उनलाई राम्रोसँग थाहा छ । जानेहरु नै धेरै पैसा तिर्न तयार हुन्छन । हातमा सीप हुँदैन । विदेस गएर टिपेर ल्याउने जस्तो ठान्छन अनि म्यानपावरलाई ठग्न सलिलो छ उनी भन्छन् ।  जसरी कोरिया र इजराइलमा पठाएको छ सरकारले । त्यसरी नै अन्य देशमा पनि पठाउने हो भने मात्र ठगी हुँदैन होला लाग्छ उनलाई । 

अव एजेण्ट हैन वेटर हुन बहराइनतिर 

करिब ५ वर्ष जतिमा धेरैलाई विदेश जानको लागि सहयोग गरे । धेरैले घर जग्गा जोडे उन्नती गरे तर आफू भने जस्तो त्यस्तै भएँ भन्ने लाग्यो उनलाई । एजेण्ट भएर पैसा कमाउन मुटु ढुङ्गाको हुनुपर्छ भन्ने लाग्छ उनलाई । तर आफ्नो मुटु मान्छेको जस्तो छ त्यसैले कमाउन सक्दिन भन्ने उनको बुझाई छ । धेरैको आँशुले पोल्छ गर्दिन यो काम भन्ने निश्कर्षमा पुगेका छन् उनी । त्यसैले अब अन्तिम पटक वेटरको काम सिकेर बहराईन जाने योजना छ उनले भने तर मलाई पनि म्यानपावर कम्पनीले कहाँ फ्रि मा पठाउँछ र ? ६० हजार लाग्छ भनेको छ ।

बहराइनमा भने जस्तो भयो भनें नेपाल फर्केपछि कुनै ब्यापार गर्ने सोच छ उनको । श्रीमतीको ब्युटिपार्लर छ । उनले नै एजेण्टको काम नगर्न बारम्बार आग्रह गरेपछि छोडेर विदेश जान लागेका हुन् । कमाए रमाउँला नभए अर्काे देशको टिकट समाउँला भन्दै हाँसे उनी । भाँडाकुँडा गाडीमा लिएर गाउँतिर बेच्न हिडेका उनी कुरै कुरामा एक घण्टा अल्मलिए । डा«ईवरले जाने इशारा गरे पछि उनी बाँकी कथा बहराइनबाट फर्के पछि है भन्दै बाटो लागे । 

यो पनि पढ्नुहोस् 

विदेश पठाउन म्यानपावर कम्पनीमा यसरी हुन्छ पैसाको बार्गेनिङ (हेर्नुहोस् भिडियो)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय