सुरक्षित छैन युएई

 

यूएई, बैैशाख २०-

यूएईलाई अन्य खाडी मुलुकको तुलनामा केही सुरक्षित मानिए पनि नेपाली कामदारको रोजगारजन्य दुर्घटना र मुत्यु भने डरलाग्दो देखिएको छ । सरकारी तथ्यांकका अनुसार वैदेशिक रोजगारीका लागि यूएई आएका ६५ जना युवाको एक वर्षको अवधिमा मृत्यु भएको छ । 

०७३ सालमा मात्र ६५ जनाको शव नेपाल पठाइएको नेपाली दूतावास यूएईले जनाएको छ । दूतावासका अनुसार यूएईमा काम गर्नेमध्ये मुटुको समस्या, आत्महत्या, सडक दुर्घटना, कार्यस्थलको दुर्घटनालगायत कारणले मृत्यु हुने गरेको छ ।

पछिल्ला दिनमा हर्ट अट्याक (हृदयघात) र आत्महत्या गर्ने नेपालीको संख्या चिन्ताजनक ढंगले बढिरहेको दूतावासले बताएको छ । यूएईमा दुई लाख चार हजार नेपाली कामदार कार्यरत रहेको आधिकारिक तथ्यांक छ । 

६७ महिलाको उद्धार

रोजागारीका क्रममा विभिन्न कारणले समस्यामा परेका ६७ जना महिलालाई नेपाली दूतावास यूएर्ईले नेपाल फिर्ता पठाएको छ ।

एक वर्षको अवधिमा कम्पनी बन्द हुने, रोजगारदाताले पारिश्रमिक नदिने, दुव्र्यवहार गर्ने लगायतका कारण अलपत्रमा परेका महिलालाई उद्धार गरी नेपाल पठाइएको नेपाली दूतावास यूएईका सूचना अधिकारी कृष्ण अर्यालले जानकारी दिए । अहिले पनि दूतावासको सेफ हाउसमा ९ जना महिला रहेको दूतावासले जनाएको छ । 

नेपाल सरकारले संस्थागत रूपमा घरेलु कामदारको रूपमा यूएई आउन पाउने व्यवस्था गरेपछि गएको आर्थिक वर्षमा १६० महिला घरेलु कामदारको रूपमा यूएई आएको दूतावासले बताएको छ । यसअघि महिलाहरूले परिवारका सदस्यको रूपमा, भिजिट भिसामार्फत आएर घरेलु कामदारको रूपमा काम गर्दै आएका थिए । 

पीडित परिवारले पाए दुई करोड क्षतिपूर्ति 

विभिन्न ६४ वटा घटनामा नेपाली कामदारले गएको एक वर्षको अवधिमा करिब २ करोड ३१ लाख रुपैयाँ क्षतिपूर्ति पाएको नेपाली दूतावास यूएर्ईले जानकारी दिएको छ । दूतावासका अनुसार कानुनी प्रकृयामार्फत सात लाख ७२ हजार दिराम क्षतिपूर्तिबापत नेपाल पठाइएको हो । 

कारागारमा ६३ नेपाली 

वैदेशिक रोजगारीको सिलसिलामा यूएई आएका ६३ जना नेपालीले अहिले यूएईमा कैदी जीवन बिताइरहेका छन् । नेपाली दूतावास यूएर्ईका अनुसार यसरी कारागारमा रहेकाहरू अधिकांश मादक पदार्थ सेवनका कारण उत्पन्न घटनाका कारण पक्राउ परेका हुन् ।

६३ मध्ये २२ जना ठूलो अभियोगमा पक्राउ परेका छन् । अन्य मुलुकका कैदीको तुलनामा नेपालीको संख्या न्यून देखिए पनि संख्या बढ्दो क्रममा देखिएकाले यो चिन्ताजनक विषय भएको दूतावासले जनाएको छ ।

सार्वजनिक ठाउँमा मादक पदार्थ सेवन गर्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने जस्ता कुरामा न्यूनीकरण गर्न सके कैदीको संख्यामा कमी ल्याउन सकिने यूएर्ईका लागि कार्यवाहक नेपाली राजदूत नेत्र बहादुर टण्डनले जानकारी दिए । 

यूएई जनचेतना कार्यक्रम गर्दै आएको छ

सुदीप कार्की

अध्यक्ष, एनआरएनए, यूएई

०७३ सालमा मात्रै ६५ जना नेपालीले ज्यान गुमाउनु निकै नै दुखद् खबर हो । यसमा नेपाल सरकार, कम्पनी र हामी सबै दोषी छौं । सर्वप्रथम त नेपाल सरकारले वैदेशिक रोजगारमा जाँदा पर्न सक्ने समस्या, स्वास्थ्यलगायत जानकारी गराउनुपर्छ । नेपालको स्वास्थ्य परीक्षण प्रणालीमा सुधार गर्दै निरोगी व्यक्तिहरूलाई मात्र पठाएको खण्डमा केही हदसम्म मृत्युदर घटाउन सकिन्छ ।

यसरी नै विदेशमा विशेषगरी खाडी मुलुकमा स्वस्थ जीवनयापनको बारेमा जनचेतना नहुनु पनि मृत्युको अर्को कारण हो । मदिरा सेवन धेरै गर्ने, दिनभरको तातो घामपछि एक्कासि चिसो एयर कन्डिसनमा बस्ने, बाटो काट्ने ज्ञान नहुनु आदिका कारण यूएईमा नेपालीको मृत्युको कारण हो । 

यूएईमा बढ्दो नेपालीको मृत्युदरलाई न्यूनीकरण गर्न एनआरएनए यूएर्ईले जनचेतना कार्यक्रम गर्दै आएको छ । हाम्रो जनचेतनापछि केही हदसम्म सचेत गराउन सकिएको छ । यसरी नै विभिन्न अभियोगमा जेल जानेको संख्यामा पनि कमी आएको दूतावासले पनि जानकारी गराइराखेको छ । आगामी दिनहरूमा हामी यी र यस्तै कार्यक्रमहरूलाई पनि निरन्तर गर्नेछौं ।

धेरै नेपालीको मृत्यु सडक दुर्घटनाबाट नै हुने गरेको छ 

चित्र केसी 

सस्थापक अध्यक्ष, नेपाली जनसम्पर्क यूएई

वैदेशिक रोजÞगारीमा विदेशिने नेपालीको संख्या दिन प्रतिदिन बढ्दो छ । सुरक्षित र व्यवस्थित वैदेशिक रोजÞगारीको लागि नेपाल सरकारले पहल गर्नुपर्ने हुन्छ । कुन मुलुकमा कामदार जाँदै छन् त्यो मुलुकको नीतिनियम, कानून र परिवेश वातावरण के कस्तो छ त्यसको बारेमा सम्बन्धित व्यक्तिलाई पूर्ण रूपमा जानकारी गराएर पठाउनुपर्ने हुन्छ । 

यसलाई न्यूनीकरण गर्नको लागि सम्बन्धित देशको कानुनलाई अक्षरशः पालना गर्नुपर्छ । यूएर्ईको सन्दर्भमा भन्नुपर्दा सडक बाटो वारपार गर्दा ग्रिन सिग्नल प्रयोग गर्नुको साथै जेब्रा क्रसिङलाई विशेष ध्यान दिनुपर्छ । सबैभन्दा धरै नेपालीको मृत्यु सडक दुर्घटनाबाट नै हुने गरेको छ ।

अर्को कुरा हृदयघात, सुतेको ठाउँमा नै मृत्यु हुने हो, यो भनेको कम पानी पिउने, मादक पदार्थ पिएर खुला एसीमा सुत्ने जस्ता बानीले गर्दा पनि हामी अकालमा विदेशमा मृत्युवरण गरिरेहका छौं । 

यो समाचार कारोवार दैनिकमा भूपराज बस्यालले लेखेका हुन् 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय