भिजिट भिसाको पासो 

 

सुनिल न्यौपाने-

काम विशेषले कतारको यात्रा गर्नुथियो । छोटो समयको कामका लागि जाने मजस्ताका लागि भिजिट भिसा बाहेक अन्य उपाय हुने कुरा भएन । त्यहि भिजिट भिसा बोकेर मनमा केहि संशयसहित त्रिभुवन विमानस्थल पुगेको मलाई आशंका गरेको कुरा पहिलो गाँसमै आईलाग्यो । 

राती ११ बजेको यात्रा छ । अर्थात काठमाडौं शहर त लगभग सुतिसक्छ । त्यस्तो समयमा विमानस्थलमा आइपर्ने गलफत्तीको पूर्वानुमान सहित केहि चिसो मनमा पसेकै थियो । त्यसको पहिलो पुष्ट्याईं विमान कम्पनीका कर्मचारीबाट भयो । जव उनले मेरो टिकट र भिसा हेरे, उनले बोर्डिङ  पास नदिने विचार गरे । के काम हो, को-को सँग भेट्नुहुन्छ ? कुनै सरकारी निकायको निम्तोपत्र छ की ? कतार बस्दाको होटल खर्च कसले तिर्छ ? यस्तै प्रश्न सुरु भए । एक मन त लाग्यो व्यापार गर्न बसेको विमान कम्पनीको प्रतिनिधिलाई यति धेरै किन चासो ? तर अर्को मनले यो उनको दायित्व पनि होला भनेर एउटा कक्षा कोठाको सानो विद्यार्थीले झैं उत्तर दिंदै गएँ । तर अहँ उनले बोर्डिङ पास दिने छाँटै देखाएनन् । मैले मेरो पुरानो पासपोर्ट(जसमा झण्डै डेड दर्जनपटक विदेश गएको छाप लागेको छ) देखाएँ । अव त मान्लान् भन्यो, कुरो उहि छ, माथिबाट तपाईंलाई फर्काइदिन्छन् । केहि सीप नचलेपछि मैले पत्रकार परिचय पत्र देखाएँ । त्यो परिचयपत्र देखेपछि भनें उनी केहि आश्वस्त देखिए( वा त्यत्रो गलफत्ती गरिरहनु आवश्यक ठानेनन् की ?) । उनले अझै पनि संशय भरिएकै स्वरमा ‘खै जान देलान् भन्ने लाग्दैन’ भन्दै बल्ल बोर्डिङ पास तयार पारे ।

बोर्डिङ पास लिनै यति झण्झण्ट भएपछि अव माथि(अध्यागमन) मा के हुनेछ भन्ने प्रष्टै भयो । त्यहाँ पुगेपछि अध्यागनमका कर्मचारीले भिजिट भिसामा जान नमिल्ने तर्क गरे । त्यहाँ पनि उहि क्रम चल्यो । पुरानो पासपोर्ट देखाउने, आफू किन जान लागेको भन्ने फेहरिस्ता बताउने र अन्त्यमा केहि जोड नचलेपछि पत्रकार परिचयपत्र देखाउने । यति भएपछि उनले पनि आफूले निर्णय गर्न नसक्ने भन्दै हाकिम कहाँ लिएर गए । तर त्यहाँ हाकिमले खास सोधिखोजि गरिरहेनन् । पत्रकार परिचयपत्र हेरेपछि जान दिनु भन्ने निर्देशन दिए । सो निर्देशन बोकेर फर्केका ति अधिकारीले पुन पासपोर्टमा लागेको डलरको छाप पर्याप्त हुने नहुने भन्दै एकछिन गलफत्ती गरे र पुनः हाकिमको अनुमति लिएर आएर छाप लगाइदिए । पत्रकारको परिचयपत्र देखेपछि सायद मेरो पेशाको ईज्जत राखेर उनीहरुले जान दिए । लाग्यो ठूलै युद्ध जितियो । तर हिंड्दा हिंड्दै उनले दुवई वा दोहामा डलर पुगेन भनेर फर्काईदिन सक्ने त्रास थपिदिए । त्यहि त्रासको भारी बोकेर कतार उडियो । 

अध्यागनमको तगारो पार गरेपछि विमानस्थलमा विमान चढ्नु अगाडी निकै बेर मनमा धेरैथरी कुरा खेले । आफ्ना नागरिक समस्यामा परेपछि सरकार पनि के गरोस् । यसरी नै सकेसम्म केरकार गर्ने र लामो समयसम्म काम गर्ने उद्धेश्य बोकेर जानेहरुलाई निरुत्साहित गर्ने सरकारी प्रयास त हो भन्ने लाग्यो । यदि झोला बोकेर हिंडेको मेरो ठाउँमा भिजिट भिसामा साँच्चै खाडी पसेर केहि बर्ष काम गर्दा पैसै पैसा कमाईन्छ भन्ने हल्लाकै भरमा हिंडेको कुनै नेपालीलाई यसरी नै रोकियो भनें त्यसले भोेली आईपर्ने दुःख खेप्नु नपर्ने भो भन्ने पनि लाग्यो । र, जतिसुकै हैरानी भएपनि सरकारले भिजिट भिसामा गरेको कडाईले केहि थान नेपालीले पाउने सम्भावित दुःख टार्यो भन्ने ठान्दै पहिलो गन्तव्य दुवई उडें । तर मेरो त्यो भ्रम टुट्न खासै समय लागेन । 

दोहाको गन्तव्य बनाएर दुवई उत्रिएपछि केहि घण्टा हावा खाने समय थियो दुवई विमानस्थलमा । त्यहाँ केहि नेपालीसँग गफिने विचारले यसो दुईचार जनासँग कुरा गर्न खोजें । त्यसमध्ये एकजनालाई आफूलाई परेको समस्या कसलाई भनौं भनौं भएर औडाहा भएको रहेछ । उनले यसो कुरा सुरु गर्ने वित्तिकै आफ्नो पीर धाराप्रवाह सुनाउन थाले । 

उनको टिकटमा मेरो टिकटमा झैं दुवईबाट दोहा लागि विहान ७ः ३० मा उड्ने समय लेखिएको थियो । तर काठमाडौंबाट बोर्डिङ पास दिंदा ११ः १० को भनेर दिइएको थियो । उनले दुवई उत्रिएपछि एकदुई ठाउँमा सोधिखोजि गरेछन् । एकजना नेपालीले सहयोग गर्लान् भनेर सोध्न पुगेछन्, ति नेपालीले प्रहरी लगाइदिन्छु भनेर उल्टै तर्साएछन् । पहिलो नेपालबाट गलत समयमा बोर्डिङ  पास बनाइदिनेसँग तिनको गुनासो त थियो नै दुवईमा काम गर्ने ति नेपालीको दुर्वचनले उनलाई अझ पोलेको थियो । तर त्यो भन्दा मन पोलेको कुरा अर्कै रहेछ उनको । 

‘तपार्ई के काम गर्न हिंड्नु भएको ?’ उनको प्रश्नमा मैले ‘साथिहरु भेट्न हिंडेको’ भन्दा उनी निक्कै बेर खितखिताएर हाँसे । ‘खाडीमा पनि कोहि साथि भेट्न आउँछ ? म त पहिलो मान्छे तपाईलाई नै देख्दैछु’ भन्दै उनी हाँसिरहे । सायद उनी आफूलाई मन पोलेको कुरा विर्सेर केहि बेर त्यसरी नै हाँसिरहे । ‘तपाई चाहिं के काममा हो नी ?’ मेरो प्रश्नमा उनले आफूले सुपरमार्केटको काम पाएको बताए । ‘पैैसा कति तिर्नु भयो नि म्यानपावर कम्पनीलाई ?’ प्रश्न भुईमा खस्न नपाउँदै उनले जवाफ फर्काए ‘कहाँ म्यानपावर हुनु नी, खाइदियो मोरो श्रमको मान्छेले ।’ अर्थात उनले श्रमग्राम ताहचलको कुनैै व्यक्तिलाई संकेत गरे । दलाललाई ? मैले सोधें । ‘हजुर हो, तर कार्यालयको कर्मचारी दलाल’ उनको जवाफ । 

अर्थात उनलाई पहिले काम गरेको कम्पनीले नै पुनः भिसा पठाएछ । त्यो भिसा बोकेर उनी केहि म्यानपावर कम्पनी पनि गएछन् । तिनिहरुले एक लाखसम्म लाग्छ भनेपछि उनी दलाल खोज्दै ताहचल पुगेछन् । त्यहाँ एकजनाले ४० हजारमा काम सकिदिने ठेक्का लिएछन् । र, तिनै व्यक्तिले स्वयं कार्यालय भित्रै बसेर छाप लाएको देखेको उनी बताउँदै थिए । उनले ति व्यक्ति स्वयं कार्यालयकै कर्मचारी भएको दावी गरे । 

त्यति गरेर विमानस्थल पुगेका उनलाई पनि त्यहि भएछ, मलाई जस्तै । विमान कम्पनीका कर्मचारीले रोक्न खोजेछन् । त्यहाँ कागजात देखाएर, आफूले पहिले  काम गरेको भिसा देखाएर उनी उम्किएछन् । तर फन्दामा परेछन् अध्यागनमनको । त्यहाँबाट उनलाई ‘जान पाउन्नौ’ भनेपछि उनले तिनै दलाललाई फोन गरेछन् जसले उनको श्रम स्वीकृति बनाइदिएका थिए । उनले कुन ठाउँमा हो माथि की तल रोकेको भनेर सोधेछन् । र, माथि भनेपछि ५ मिनेट त्यहि छेउमा उभिन भनेछन् । नभन्दै १० मिनेट भित्रै उनको नाम लिएर अध्यागमनका एक कर्मचारीले बोलाए रे । र, छाप लगाएर उनले पनि उड्ने अनुमति  लिएछन् । 

उनको कुरा सुनिसकेपछि मैले अध्यागनम पार गरेपछि गरेको विश्लेषण गलत थियो भन्ने यसै पुष्टि भइहाल्यो । भिजिट भिसा बन्द गर्ने निर्णयले के साँच्चै राम्रै काम गर्यो त ? सरकारमा बस्नेहरु, सरकारी अधिकारीहरु र साँसदहरु यसो विचार गरौं । कतै यो पुनः कमाउ धन्दा पो बन्न लाग्यो की ? कतै यो पैसा झार्ने पासो पो बन्दै छ की ? सेटिङ मिलाएर दोहा उत्रेका ति मरहठ्ठा भाइको भोगाईले त त्यहि प्रष्ट हुँदैछ । हैन र ?

 {source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/DKt-MMjkQ_Y?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय