काठमाडौँ, बैशाख १०-
सरकारले युवाहरुमा उद्यमशीलता विकास गर्न राष्ट्रिय अभियान संचालन गर्ने भएको छ । खासगरी रोजगारीका लागि विदेशिने युवाहरुलाई मुलुकभित्रै काम गर्नका लागि प्रोत्साहित गर्न भन्दै सरकारले उद्यमशीलता विकासका लागि राष्ट्रिय अभियान संचालन गर्ने भएको हो । अभियानस्वरुप उद्योग मन्त्रालयले आगामी जेठ २४ र २५ गते काठमाडौंमा उद्यमशीलता सम्बन्धी सम्मेलन स्टार्ट अप समिट गर्ने भएको छ ।
उद्योग मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरेर ३ सय भन्दा बढी युवाको सहभागीतामा स्टार्ट अप समिट गर्ने तय भएको जानकारी दिएको छ । उद्योगमन्त्री नविन्द्रराज जोशीले युवाहरुलाई उद्यमशीलताका लागि प्रोत्साहित गर्ने र रोजगारी खोज्ने प्रवृत्ति न्युनिकरण गर्ने लक्ष्यले समिट गर्न लागेको बताएका छन् ।
स्टार्ट अप समिटमा युवाहरुलाई प्रोत्साहित गर्न विदेशी स्रोत व्यक्तिलाई झिकाइने छ । ती स्रोत व्यक्तिले उद्यमशीलताका सम्बन्धमा आ आफ्नो मुलुकका अभ्यासबारे जानकारी गराउने छन् । मन्त्रालयले समिटका लागि समृद्धिको रहर, उद्यमशीलताको नयाँ प्रहर भन्ने नारा तय गरेको छ ।
कारोवारबाट