मलेसियाको लिष्टमा छैन नेपाल

 

काठमाडौं, बैशाख ५-

मलेसिया धेरै नेपाली कार्यरत मुलुक । दुई बर्ष अघिसम्म नेपालीका लागि मलेसिया पहिलो गन्तव्य मुलुक थियो । यकिन तथ्याँक नभएपनि मलेसियामा ५ लाख भन्दा बढी नेपाली कार्यरत रहेको अनुमान गरिन्छ । मलेसियाले अन्य कामदारसँगै घरेलु कामदार पनि लिने गरेको छ । त्यसका लागि विभिन्न मुलुकबाट उसले घरेलु कामदार भित्रियाउने गरेको छ । 

पछिल्लो समयमा नेपालबाट संस्थागत(म्यानपावर कम्पनी मार्फत) रुपमा घरेलु कामदार पठाउन खुल्ला गरिएकोमा हाल त्यो रोकिएको छ । बैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्वन्धी निर्देशिका, २०७२ ले गरेको व्यवस्था अनुरुप घरेलु कामदार पठाउन थालिए पनि संसद अन्तर्गतको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समितिको टोलीको भ्रमण पश्चात सो समितिको सिफारिसमा घरेलु काममा जान रोक लगाइएको हो । 

घरेलु काममा जान पुनः महिलालाई रोक लगाइएपछि हाल त्यसका बारेमा पक्षविपक्षमा चर्को बहस भइरहेको छ । घरेलु कामदार पठाउन ईजाजत लिएका म्यानपावर व्यवसायी र केहि गैरसरकारी संघसंस्थाहरु बन्देजको विरुद्धमा उत्रिएका छन् । सरकारी अधिकारीहरु भनें यसमा मौन देखिएका छन् । यहिहप्ता राजधानीमा यहि विषयमा छलफल गर्न आयोजित एक कार्यक्रममा श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले अन्य विषय बोलेर घरेलु कामदारका रुपमा जान लगाइएको प्रतिवन्धका बारेमा एक शव्द उच्चारण गरेनन् । यसले यस विषयमा सरकार केहि नबोल्ने रणनीतिमा रहेको देखिएको अधिकारकर्मीहरु गुनासो गर्छन् । 

तर नेपालले यसअघि नै घरेलु कामदार पठाउने कानूनी व्यवस्था गरेपनि सो अनुरुप गन्तव्य मुलुकसँग आवश्यक गृहकार्य नगरेको देखिएको छ । नेपालले बैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्वन्धी निर्देशिका, २०७२ जारी गर्दा घरेलु कामदार जान सक्ने ४२ देशको सूचीमा मलेसिया रहेपनि स्वयं मलेसिया सरकारले भनें घरेलु कामदार लिने सूचीमा नेपाललाई समावेश गरेको छैन । निर्देशिकाको अनुसूची १(क) मा नेपालबाट घरेलु काममा जान खुल्ला देशहरुको सूचीमा मलेसिया सातौं नम्वरमा रहेको छ । यसैगरी निर्देशिकाको दफा ३ को उपदफा ३ मा पनि मलेसियामा घरेलु कामदारका रुपमा जान चाहने महिलाको उमेर २४ बर्ष पुरा भएको हुनुपर्ने उल्लेख गरेको छ । 

तर मलेसिया सरकारको आप्रवासी घरेलु कामदार सम्वन्धि निर्देशिकामा भनें घरेलु कामदार आपूर्ति गरिने देशको सूचीमा नेपाल समावेश छैन । सो सूचीमा केवल ईण्डोनेसिया, भारत, श्रीलंका, फिलिपिन्स, कम्वोडिया, भियतनाम, लाओस र थाईल्याण्ड मात्र रहेका छन् । सो निर्देशिकाले घरेलु कामदार भन्नाले महिला भनेर पुरुषलाई यसले नसमेट्ने प्रष्ट पारेको छ । तर खाडीका मुलुकमा भनें घरेलु चालक, बगै्रचे, माली जस्ता पदमा पुरुष पनि घरेलु कामदारका रुपमा जान पाउने प्रावधान छ । 

श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भूर्तेलले भनें नियम कानून बनाउँदा देश विशेष छुट्याएर बनाइने भएकाले नेपाली जान सक्ने सम्भावित मुलुकहरुको नाम सो निर्देशिकामा समावेश भएको र मलेसियासँगको द्धिपक्षिय छलफल पश्चात सो विषय टुँगो लाग्ने अपेक्षाका साथ राखिएको बताए । 

यो पनि पढ्नुहोस

खाडीमा घरेलु कामदारः बाटो नछेक, सुरक्षित बनाउ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय