मलेसियाको रोजगार क्षेत्रमा २०७३ मा देखा परेका उत्तरचढावहरु

काठमाडौं, बैशाख ३- 

मलेसिया नेपालीहरुको लागि प्रमुख रोजगार गन्तव्य मध्येको एक हो । करिब ५ लाखभन्दा धेरै नेपाली कार्यरत मलेसियाको श्रम बजारमा विसं २०७३ मा केही महत्वपूर्ण उतार–चढाव तथा नीतिगत फेरबदल भए । मलेसियाको रोजगारी क्षेत्रमा महत्वपूर्ण हिस्सेदार रहेको श्रम स्रोत मुलुक मध्ये नेपाल एक हो । ईमान्दारी र मेहनती लाखौं नेपाली जनशक्ति रोजगाररत मलेसिया र नेपालबीचमा गएको वितेको बर्षमा भएका केही महत्वपूर्ण घटनाहरु हेरौंः 

अप्रिल, २०१६ 

बर्षेनी डेढलाखदेखि दुई लाख नेपाली कामदार मलेसिया आउने गरेकोमा सरकारले ‘फ्रि भिसा फ्रि टिकट नीति’ र मलेसियाको बन्देजपछि मलेसिया आउने नेपाली हवात्तै घटेको तथ्यांक एवं समाचारहरु सार्वजनिक भए । मलेसियाली सरकारले विदेशी कामदार लिन रोक लगाएपछि यहाँका औद्योगिक क्षेत्रहरुमा कामदारहरुको अभाव हुन थाल्यो । २०१६ फेब्रुवरी महिनादेखि सबै विदेशी कामदार लिनमा रोक लगाएपछि देखिन आएको ‘कामदार अभाव’का कारण अर्बौं रकम लगानीका आफ्ना व्यवसाय चौपट हुनसक्ने भन्दै सरोकारवाला रोजगारदाताले चिन्ता व्यक्त गरे ।

मे, २०१६  

मलेसियाले मे १२ मा पुनस् विदेशी कामदार लिने घोषणा गर्यो  । स्थानीय संचारमाध्यमका अनुसार सरकारले उत्पादन, निर्माण, प्लान्टेशन र फर्निचर–निर्माणलगायत रोजगारीका चार क्षेत्रसहित विभिन्न सहायक १७ रोजगारी क्षेत्र विदेशी कामदारका लागि चरणबद्ध रुपमा पुनस् खुला गर्ने निर्णय गर्‍यो । तर, कहिलेदेखि लागू हुने भन्नेबारे स्पष्ट भएन । अर्कोतिर गैरकानुनी हैसियतका नेपालीलाई घर फर्काउने सहज व्यवस्था नहुँदा घर फिर्न चाहने नेपालीहरु दलालको सहारा लिन बाध्य भए । दुतावासबाट घर फिर्ने सहज वातावरण सृजना नहुँदा करिब १३ सय रिंगिटमा हुने काममा त्यस्ता हैसियतका नेपालीहरुले दलाललाई झण्डै ३ हजार रिंगिट तिर्न बाध्य भए । दुतावासबाटै घर फर्कन पाइने आश बोकेर त्यहाँ पुगेकाहरु यात्रा अनुमति पत्र त लिए । तर, पक्राउ परिने डरले अध्यागमन विभाग जान सकेनन् । त्यतिमात्र होइन, कतिपय नेपालीलाई दलालले नक्कली यात्रा अनुमतिपत्र, राहदानी समेत बनाएर पठाउँदा स्वदेश फिर्न मलेसियाको विमानस्थल पुगेपछि पक्राउ समेत परेका खबरहरु सार्वजनिक भए ।

जुन, २०१६

भारत, खाडी र अफ्रिकी देश हुँदै नेपालीहरुलाई अमेरिका र युरोपेली मुलुक लैजान कठीन हुन थालेपछि मानव तस्करहरुले मलेसिया, ईण्डोनेसिया हुँदै पूर्वी अष्ट्रेलियाको उत्तरतर्फ पर्ने ‘सोभरिज्न टापू’ अन्तर्गत अवस्थित मुलुक माइक्रोनेसिया भन्ने मुलुकतर्फ लग्ने गरेको तथ्य  सार्वजनिक भयो । दलालले त्यहाँ  पुर्‍याइएका १६ जना नेपालीहरु त्यहाँ पक्राउ परेपछि यस्तो खुलासा भयो । मलेसियास्थित नेपाली दुतावासले माइक्रोनेसियाका सरकारी अधिकारीसँगको समन्वयमा उनीहरुको उद्धार गरि फर्कायो । 

त्यस्तै, जुन महिनामै श्रम तथा रोजगारमन्त्री दीपक बोहराले मलेसिया भ्रमण गरे र उक्त अवसरमा उनले मलेसियाली समकक्षी डा। रिचार्ड रियट जइमसँग भेट गरे । नेपाली दुतावासका अनुसार उक्त भेटमा नेपाली प्रतिनिधि मण्डलले श्रम सम्झौता गर्न राखेको प्रस्तावलाई मलेसियाली पक्षले सकारात्मक रुपमा लियो । उसले हाल विदेशी कामदारमाथि आफुले लगाउँदै आएको बन्देज पूर्ण रुपमा फुकुवा गरिएपछि मात्र सम्झौता गर्ने बचनबद्धता व्यक्त गर्यो । त्यही सकारात्मक आशा बोकेर नेपाली टोली फर्कीयो ।

जुलाई, २०१६ 

मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारको न्युनतम मासिक पारिश्रमिकमा बृद्धि गर्ने घोषणा गर्यो । उसले अघिल्लो बर्ष अक्टोबरमै घोषणा गरिएअनुसार एकसय रिंगिटले  न्युनतम मासिक पारिश्रमिकसम्बन्धी नीति जुलाई १ बाट लागु गर्यो । कामदारहरुमा एक किसिमको बेग्लै खुशी त छायो तर पूर्ण रुपमा लागु हुने हो या होइन भन्ने आशंका भने रहिरह्यो । त्यस्तै विदेशी कामदारमध्ये नेपालीलाई मात्रै काम गर्ने अनुमति भएको सुरक्षागार्ड क्षेत्रमा करिब ३० हजार सुरक्षागार्ड गैरकानुनी रहेको स्थानीय संचारमाध्यमले खुलासा गरे । यतिमात्र होइन, नेपाली सुरक्षागार्डहरु तालिम प्राप्त नभएको भन्दै गार्डहरुको योग्यतामाथि प्रश्न समेत उठ्यो । मलेसियाले श्रीलंकासित सुरक्षा गार्ड लिन सक्नेसम्मका खबरहरु प्रवाह भए । यसबाट नेपाली श्रम बजारमा धक्का लाग्ने हो कि भन्ने चिन्ता नेपाली रोजगार व्यवसायीमा रह्यो । यद्यपी मलेसियाले हालसम्म नेपालीबाहेक अन्य मुलुकका सुरक्षागार्डलाई कानुनी मान्यता दिएको छैन ।

नोभेम्बर,  २०१६

बंगलादेशी कामदारका लागि रोजगारीको ढोका खोल्ने सन्दर्भमा नोभेम्बर १७ मा मलेसियाली मानव संशाधनमन्त्री रिचर्ड रियट जइम र उनका बंगलादेशी समकक्षी नुरुल इस्लामबीच ढाकामा छलफल भएको बंगलादेशको अंग्रेजी दैनिक ‘द स्टार’ मा समाचार प्रकाशित भयो । ‘जिटूजी प्लस’ नाम दिइएको उक्त प्रक्रियामार्फत मलेसियाले बंगलादेश सरकारले तोकेका विभिन्न १० वटा एजेन्सीहरुमार्फत बंगलादेशी कामदार लिने बताएपछि यसको प्रभाव नेपाली कामदारको मागमा पर्ने भन्दै नेपालमा बैदेशिक रोजगार व्यवसायीहरु थप चिन्तित बने । उनीहरुले सरकारलाई फ्रि भिसा फ्रि टिकटसम्बन्धी नीति उल्ट्याउन दबाब समेत दिए ।

त्यस्तै चर्चित बहुर्राष्ट्रिय कम्पनी सामसङ इलेक्ट्रोनिक्स, पानासोनिक र म्याकडोनल्डस्मा कार्यरत ‘कामदारमाथि श्रम शोषण’ भएको बेलायती पत्रिका ‘दि गार्जियन’ ले समाचार सार्वजनिक गर्यो । उक्त पत्रिकाले एक अनुसन्धानात्मक ‘रिपोर्ट’ सार्वजनिक गरिए दिएपछि मलेसियामा रहेका यी रोजगारदाता कम्पनीहरु विदेशी कामदारप्रति थप सजक देखिए । सामसङ इलेक्ट्रोनिक्सले आफुलाई कामदार सप्लाई गर्दै आएको एक सप्लाई कप्पनीले नियम उल्लंगन गरेको भन्दै उक्त कम्पनीसँगको साझेदारी नै रद्द गरिएको जनायो ।

जनवरी, २०१७

मलेसियाले गैरकानुनी हैसियतमा रहेका विदेशी कामदारहरुलाई ‘अस्थायी श्रम स्विकृति’ दिने घोषणा गऱ्यो । साथै उनीहरुले दर्ता भई काम गर्न पाउनेगरि ‘रिहाईरिङ प्रोग्राम’ को म्याद १ बर्ष कायम रहने जनायो । त्यसको लागि मलेसियाले ई–सरकारी सेवा प्रदायक कम्पनी ‘माईईजी सर्भिसेज बर्हाड’ नामक कम्पनीलाई गैरकानुनी आप्रवासी कामदार दर्ता एवं व्यवस्थापनको जिम्मा दिइएको बतायो । अर्कोतर्फ उसले गैरकानुनी आप्रवासी कामदारहरु दर्ता गरि निशुल्क ई–कार्ड वितरण गर्ने जनायो । मार्च महिनादेखि त्यस्ता कार्ड वितरण शुरु गर्यो ।

यो समाचार कान्तिपुर दैनिकमा रामचन्द्र गिरीले लेखेका हुन् 

यो पनि पढ्नुहोस् 

मन्त्रालय फ्रिभिसा, फ्रिटिकट हटाउन एक बर्ष अघि नै तयार भएको खुलासा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय