केबी गुरुङ, युएई
जिन्दगीका सफलताहरु नै हरेक व्यक्तिका सपनाहरु हुन् । तिनै सफलताको खोजीमा मानव संघर्ष संसारभरि जारि छ । तिनै संघर्ष भित्रका आपतबिपत र सफलताहरु आफ्नै होलान । कतिका सपनाहरु गन्तव्यको आकाशमा उडिरहेका होलान भने कतिका सपनाहरु मरुभूमिको बालुवामा फुंग उडिरहेका होलान ।
प्रवासको भुमि युएई सपनाको शहर हो । जिन्दगीका अनगिन्ती सपनाहरु सजाउने अभिलाषा बोकेर लाखौ नेपालीहरु भित्रिने यो संघर्षको शहरमा आज ४५औ राष्ट्रिय दिवशको हर्षोल्लास छाएको छ । युएइले बिकाश र प्रविधिको हिसावले छोटो समयमा गुणात्मक फड्को मार्दै संसारकै बलियो ब्यापारिक केन्द्रको रुपमा आफुलाई उभ्याएको छ र संसारभरिका मानिसहरुलाई कुनै न कुनै तवरले रोजगारी वा ब्यवसायी बनाएर आफु तिर झुम्याएको छ ।
युएईले बिकाश र समृद्धका लागि एक्स्पो २०२० कार्यक्रम सञ्चालन गरिरहेको छ, जुन कार्यक्रम युएईको भौतिक बिकाशमा केन्द्रित छ र कन्स्ट्रक्सन क्षेत्रलाई पहिलो स्थानमा राखी निर्माणाधिन कार्य २०२० तय गरेको हो, जसले भौतिक निर्माण कार्य २०२० सम्म सम्पन्न गरिसक्ने छ । जुनबेला युएई अर्कै दुनियामा हुनेछ ।
यिनै महत्वपूर्ण बिकाशका पूर्वाधारहरु बोकेर उपलब्धिहरुको रंगमञ्चमा उभिएको ४५औं युएई राष्ट्रिय दिवशको रमझममा कस्तो होला आफैं अनुमान गरौ, तर अर्कोतिर यिनै उपलब्धिका रंगमञ्चमा सपनाको बलिदानी दिने कयौ मजदुरहरु पनि युएइको मरुभूमिमा छन् । जसले आफ्नो पसिनाको बलि चढाएका छन्, श्रम र सीपको दान गरेका छन् र कतिले बिपनाको दुनियाँबाट बिदा भएर सदाका लागि सपनामै हराएका पनि छन्, जो अव उप्रान्त कहिलै भेटिने छैनन् । फलस्वरुप युएई बिकाशको सगरमाथामा लम्किरहेको छ ।
बिकाशको सगरमाथाबाट चम्किरहेको युएइको उज्यालो प्रकाश मुनि अध्यारो पनि छ, त्यहि अध्याँरो मरुभूमिमा ओइलाउदै गरेका निम्छरा सपनाहरु बारे एकैछिन चियो गरौ ।
यी निम्छरा अनुहारहरु भलै युएईका स्थानीय बासिन्दा भने होइनन, गणतान्त्रिक देश नेपालका लोकतान्त्रिक महामानवहरु हुन् । जहाँ संसारको उत्कृष्ट संबिधान बनेको छ त्यहि देशका महामानवहरु युएइको अँध्यारो भित्र पिल्सिरहेका छन् । त्यहि अँध्यारो स्थलबाट एक छाक खानाले भोको पेट भर्न पाउदा बदलामा युएइको बिकाशको बटन, स्विच दबेको हो र उज्यालो बलेको हो भन्छु म । किनकि यो हामी गौरवशाली नागरिकहरुको विवशता हो ।
खासगरि युएई राष्ट्रिय दिवसको छुट्टीको अवसरमा दिनभरि साथीभाईहरुसँग भलाकुसारी भयो । घडीले त्यो दिनलाई बिदाइ गर्न कोल्टे फेर्दै गर्दा, साथीले आफ्नो गाउँवालाको साथीलाई पनि भेट्ने र हिसाव किताव लिनदिन गर्ने यस्तै कुराले हामी अलि केहि पर पुग्ने बाचा भयो । धेरै बिस्तृतमा कुरा भएन, किनकि पैसा लेनदिनका कुरा आफ्ना व्यक्तिगत कुरा जो परे ।
त्यसपछी साथीको गाउँवाला साथीलाई भेट्न अबुधावीस्थित सलाम सिटी तिर हान्नियौ । सलाम सिटी नाम सुन्न बित्तिकै लाग्यो, युएइको अर्को बिशाल शहर रहेछ । तर जब त्यहाँ पुग्यौ, यस्तो लाग्थ्यो अबुधावीको हुम्ला जुम्लालाई युएइले सलाम सिटि नाम दिएको रहेछ । शायद निकट भविष्यमै ठूलै सिटी (शहर) निर्माण हुँदैछ । तर हाल भने बिशाल मरुभूमिको बिचमा लेवरहरु बस्ने क्याम्पको शहर रहेछ, जसलाई युएइमा चम्किरहेको बिकाशको उज्यालो मुनिको अँध्यारो ठाउँ भन्छु म ।
झन्डै साउदीको बोर्डर नजिकै रहेको सलाम सिटिमा विभिन्न कम्पनीका ३० हजार देखि ४० हजार लेवर कामदारहरु बस्दा रहेछ । युएइको मरुभूमिमा चल्ने अनियन्त्रित बेजोड हावाका झोंकाहरुले अनकन्टार मरुभूमिको बिचमा रहेको सलाम सिटिलाई रेगिस्तान बनाउने हर्कत गर्दो रहेछ, किनकि युएइमा आउने आँधिहुरी बेतालको हुन्छ । उस्तैपरे रेगिस्तानको थुप्रो जुरुक्क उठाएर अर्को ठाउँमा बालुवाको बस्ति सारी दिन्छ । मरुभूमिमा चढ्ने उँटहरु तिनै बालुवाको झोकाहरु बीच प्रलय हुन्छन रे भन्ने सुनेको छु, उँट चराउने दाजुहरु त्यहि रेगिस्तानमा भासिएर हराउने कहानीहरु पनि सुनेको छु ।
जब हामी क्याम्पमा पुग्यौ, मेरा रुममेट धनेश यादवका गाउँवाला धनुषाका अनिल कुमार यादव भेटिए । भेट्नुको कारण मैले सोचे जस्तो व्यापारिक लेनदेन नभएर अर्कै रहेछ । उनी समस्यामा परेका कारण सहयोगका लागि रहेछ । अनिल कुमार यादव लगाएत अन्य धेरै नेपालीहरु दलालले झुक्याउँदा आफ्ना रित्तो सपनाहरु बोकेर पुनः घर फर्किन कुरेर बसेका थिए, तर घर कहिले फर्किने टुङ्गो भने थिएन ।
ऋण बोकेर धन कमाउने सपना मन भरि साँचेर सपनाको सहर युएई आएका तिनै अनिल र उनिसंगैका साथि हेम नारायण यादवले आफु दलालबाट ठगिएको दुखेसो सुनाए । घर फर्किन २ महिना देखि पर्खेर बसिरहेका छौ, अझै कहिले बस्नु पर्ने हो थाहा छैन भन्दैथे ।
बिचराहरु हामी, अँध्यारो बेचेर आफ्नो महल ठड्याउने दलालीको देशमा जन्मिनु दुर्भाग्यपूर्ण थियो वा शौभाग्य, त्यो त समयले नै बताउला । तर नेपालमा अँध्यारो बेच्नेहरुले युएइमा पनि अँध्यारो बेच्न भ्याएका छन् झैँ लाग्यो । फलस्वरुप त्यहि अँध्यारोमा यी र यस्तै थुप्रै आफ्नै नेपाली दाजुभाईहरु अलपत्र परेका दैनिक घटनाहरु भेटिन्छन ।
काठमाण्डौ सामाकोशीमा रहेको पास इन्टरनेसनल म्यानपावरका संचालक झापा विर्तामोडका टिका सिवाकोटीले युएईको अल जर्फ डेभेलोपमेन्ट एलएलसी कम्पनीमा १ लाख २५ हजारसम्म असुल गरेर पठाएका रहेछन । अघि पछी गरि ४७ जना कामदारहरु अल जर्फ कम्पनीमै पठाएको रहेछ ।
म्यानपावर र बैदेशिक रोजगारवालाहरुको सम्झौता पत्र देखाउदै हेम नारायण यादव भन्दै थिए, ८ सय तलव र ओभर टाइम गरि १३ देखि १५ सय भन्दा धेरै तलव आउने आश्वासन दिएर गार्डनमा फुलको संरक्षण गर्ने सजिलो काम छ भन्दै पठाए तर रोडको कठिन काम भएको हुँदा कामगर्न नसकेर घर फर्किन लागेका छौ ।
गोबिन्द पोख्रेलले आफुले तलब बुझेको रिसिभ कागज झिकेर देखाउदै भने “ओभरटाइमको आशाले १२, १४ घण्टा मात्र नभएर नाइट ड्युटी पनि गरियो तर लास्टमा महिना भरिको र नाईट सिफ्टमा गरेको तलव जम्मा ६७२ आयो, एक दिन पनि ड्युटी छोडिन । कम्तिमा ८ सय आएको भए पनि चित्त बुझ्थ्यो।”
सिन्धुपाल्चोकका तुमबाल कार्कीले एकमहिनाको तलव ३७२ मात्र बुझेको अर्धकट्टी कागज देखाउदै भने, ओभरटाइमको आशाले ४ वटा शुक्रवार छुट्टीको दिन पनि ड्युटी गरे ९ दिन गयल देखायो तलव यस्तो आयो ।
काठमाडौंमा बस्ने लम्जुंगका साजुदिन मियाँ भन्दै थिए, “बिहान ४ बजे उठ्नु पर्छ, काम गर्ने ठाउमा जान २, ३ घण्टा लाग्छ, खाना उतै कामगर्ने रोडमा लगिदिन्छ, अनि खानाखान पनि तँछाडमँछाड गर्नु पर्छ । त्यसो गर्दापनि कहिले पुग्दैन, नपुगे भोकै काम गर्नु पर्छ । कहिले काही कुहिएर गनाएको खाना पनि खानु पर्छ, यसरि त कसरि काम गर्न सकिन्छ र सर ।”
सबैको कथाव्यथा एउटै थियो “दलालले धोका दियो” । एजेन्टले पठाउदा ८ घन्टाको ८ सय बेसिक तलब भनेर पठाएको कम्पनीले ४५१ बेसिक तलव र अन्य सुविधा भनेर ८ सय एग्रिमेन्ट गराएको सुनाए तर तलव भने जति कहिल्यै आएन । कम्पनीले मेडिकल इन्सुरेन्स कार्ड दिएको छ, हाम्रो आँखामा छारो हालेको मात्र रहेछ, उपचारको लागि प्रयोग हुँदैन आफ्नै गोजीबाट खर्च गर्नुपर्छ । बिरामी भएको खण्डमा गाडी पनि दिदैन, अनुपस्थीत भएउल्टै खानाको पैसा समेत काटिदिन्छ भन्दै गुनासो पोख्दै थिए ।
अढाई महिना देखि काम छोडेर रुममा बस्दै आएका उनीहरुले नेपालमा म्यानपावर एजेन्टलाई घर फर्कन चाहेको सुनाउदा, एजेन्टले उल्टै धम्क्याउदै तिमीहरु फर्किन्छौ भने त्यहि सडाई दिन्छु भन्छ, गोरखाका मियाले बताए ।
युएई स्थित दूतावासलाई फोन गर्दा फोन नै उठ्दैन एक पटक उठेको थियो तर खासै वास्ता गरेनन, पछी गर्नु भने । अब कम्पनिले नै पठाउला कि भन्ने आशा लिएर बसेका छौ खोइ कहिले पठाउला र ? अहिलेसम्म खाना र बस्न कम्पनीले दिरहेको छ, धनगढीका कर्ण बहादुरले बताए ।
यो पंतिकार पेशागत पत्रकार भने होइन । तर पत्रकार हुँ भनेर उनीहरुको समस्याको पोको फुकाए । तर समस्याहरु सम्हाली नसक्नु भएर केवल उनीहरुको बेसहारा बनि फर्किएँ । एउटा आशा भने जीवित थियो, अहिलेसम्म खाना बस्न दिएको छ र घर पठाउछु भनेर कम्पनीले आश्वासन दिएको रहेछ ।
रोजगारमा रहेका हाम्रा नागरिकहरु दुःखमा परेको कुरा बुझाउन युएईस्थित राजदुत नेत्र टन्डनलाई एक कल गरेर बुझाउन खोजे तर पिडितहरुले भने झैँ समय दिएर बुझ्न चाहनु भएन । हतारो चटारोमै हुनुहुन्थ्यो, शायद सुन्ने फुर्सद थिएन होला । मात्र पिडितहरुलाई निवेदन दिन भन्नु भयो र फोन थन्क्याउनु भयो ।
समस्याविहिन संसार नै छैन । अतः समस्या बस्तुमाथिको गतिशीलता हो, द्वन्दात्मक भौतिकवादी विज्ञानले यहि भन्छ तर यसको समाधानले बस्तु परिवर्तन हुन्छ तर यिनै समस्याहरुलाई समाधान होइन समस्याको निम्तालु स्वयम् सम्बन्धित निकाय बनेको छ ।
रोजगारदाता सम्बन्धि परराष्ट्र नीति फितलो हुनु, बैदेशिक रोजगारवाला नगारिकहरुको सुरक्षा संयन्त्र बलियो नहुनु, रोजगारमा जाने नागरिकहरुको श्रम स्वीकृतिमा दलालहरुको मिलेमतोमा झुठ्ठा सम्झौता गराउनु, देशकै एउटा नागरिक एजेन्ट बनेर आर्को नागरिकलाई झुक्याएर धोकादिनु र त्यसको कानुनि उपचार तथा परामर्श नहुनुले दैनिक यस्ता समस्याहरु झन् झन् उल्झन भैरहेका छन् । समस्याको किटान हुँदा समेत हाम्रो सम्बन्धित निकाय लाचार बनेको छ ।
हामी संसारको उत्कृष्ट संबिधान पाएका महामानव हौ, त्यो उत्कृष्ट संबिधान भित्र नागरिकहरुलाई झुक्याएर ठग्ने दलाललाई कारबाही गर्ने कडानीति छ कि छैन ? हराउँदै गरेका सपनाहरु ब्युझाउने शुत्र छ की छैन ? हरेक नागरिकले एकपल्ट संबिधानको पाना पल्टाएर हेर्नैपर्ने भयो ।
एकपटक सुनौला सपनाहरु युएइको मरुभूमिमा हराए पनि तिनै ग्रुप मध्येका ३ जना अनिलकुमार, हेम नारायण र प्रदिप चौधरी भने यहि साता सकुशल घर फर्किएका छन् तर आउँदा लागेको खर्च एजेन्टले नदिने भन्ने कुराले भने उनीहरुलाई पिरलो बनाएको छ। आशा गरौ सपना हराउनेहरुले उचित न्याय पाउने छन् ।
यो पनि पढ्नुहोस्
युएईमा सराहनिय काम, सहयोगका लागि सदैव तत्पर राम