अनिश तामाङ, युएई-
कान्तिपुर टेलिभिजनमा निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अन्तर्वार्ता हेरेपछि नेपालको वर्तमान राजनितीमा एउटा कुरामा प्रष्ट भइन्छ । यहाँ संघीयतालाई कसरी सरल ढंगले लागु गर्ने भन्दा पनि कसरी असफल पार्ने र आफु अनुकुलको ‘तन्त्र’ स्थापना गर्ने ‘ओली राजनिती’ उन्मुख छ । तसर्थ अबको राजनीति २ वटा कित्तामा बिभाजित हुने स्पष्ट छ ।
एक कित्ता संघीयता, समानुपातिक, समावेशीता, धर्मनिरपेक्षता र गणतन्त्र बिरोधी दलहरु एकातिर हुनेछन जसको नेतृत्व नेकपा एमालेले गर्नेछ । अहिले संघीयता बिरोधी कुरा गरेपनि बिस्तारै त्यो गणतन्त्रको बिरोधमा गएर टुङगिने छ जुन हिन्दू राजतन्त्रको पुनस्थापनाको आधार बन्नेछ र ‘बेबी किङ’को अबधारणामा राजतन्त्रलाई ब्युताउने प्रयास हुनेछ । यो अभियानमा सिङगो राप्रपा र नेपाली काङ्रेसका केही खेमा (जस्तो खुमबहादुर र शशाँक कोइरालाहरु) को साथ रहनेछ ।
अर्को कित्ता संघियता, समानुपातिक, समावेशिता, धर्मनिरपेक्षता र गणतन्त्र पक्षधर दलहरु एकातिर एकतृत हुनेछन जसमा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, अन्य माओवादी घटकहरु, नयाँ शक्ती, मधेशबादी दलहरु र नेपाली काङ्रेसको सानो खेमा रहनेछन । एमालेको सानो खेमा पनि यो कित्तामा समाहित हुनेछ ।
उक्त अन्तर्वार्तामा ओलीले आरक्षणको बिरोध गरे र भने ८२ प्रतिशत ल्याउने ब्राह्मण र ५२ प्रतिशत ल्याउने अल्पसंख्यक जाति कसलाई डाक्टर बनाउने ? आरक्षण कस्ता परिवारको लागि र किन भन्ने सामान्य ज्ञान पनि उनमा देखिएन । मानौ यो आरक्षण नेपालमा मात्रै हो र अन्य कुनै पनि मुलुकहरुमा नगरिएको नौलो अभ्यास केपी ओलीले भोग्नु पर्यो । कति दरिद्र मानसिकता ?
सामाजिक सञ्जाल तथा केही सस्ता अनलाइन पोर्टलहरुमा यिनै बिचार झल्किने गरी केही पत्रकार भनाउँदा र आफुलाई स्वघोसित लेखक भन्नेहरुले बिभिन्न लेखहरु पनि लेख्ने गरेका छन । उदेक लाग्दो त यो पनि छ कि, सयौ बर्ष देखी उत्पिडनमा परेकाहरु पनि जसको लागि माओवादी आन्दोलन भए, जसका मुद्दाहरुलाई माओवादीले उठान गर्यो, उनीहरु पनि जातिय मुद्दाले द्धन्द ल्याउछ कि भन्ने डरले चुप बस्ने स्थिती पैदा भएको छ । माओवादीले आरक्षणको मुद्दा, उत्पिडनको मुद्दा उठान गरेका हुन जुन बर्गिय मुद्दाहरु नै हुन भन्ने बुझाउन नसकेको हो कि भन्नेमा कन्फ्युज पनि भएको छ । त्यसैले अब कि त अर्को युद्दको लागि तयार हुनु पर्ने स्थित बन्दै छ कि अहिलेसम्मको उपलब्धीलाई तिलान्जली दिनुपर्ने हुन्छ । त्यो युद्द भनेको अहिलेका नवधनाढ्य सामन्तीहरुको बिरुद्दमा हुनेछ जसको नेतृत्व नेकपा एमाले नै गर्नेछ ।
जिन्दगीलाई खुकुरी धारमा हिडाउँदै नयाँ नेपालको मिठो कल्पना गरेर हजारौं जनताका छोराछोरीहरुले विभिन्न साना ठुला आन्दोलनहरुमा त्याग तपस्या र बलिदान गरेका थिए । उनीहरुले देशको लागि दिन सक्ने सबै दिए । युवा अवस्थाको जोश जाँगर, बुद्धि विवेक, पसिना, सपनाहरु सबै सुम्पे । हजारौंको बलिदान पनि भयो । अझ कति त शरिरमा गोलीको छर्रा बोकेरै नै हिंडिरहेका छन । शरिर अंगभङ्ग भएका छन । कयौं आमाहरुको काख रित्तियो । कयौं चेलीहरुको सिउँदो पुछियो । त्यही जनयुद्ध र जनआन्दोलनको उपज देशमा संघीय गणतन्त्र, धर्म निरपेक्ष, समानुपातिक तथा समावेशी, केहि हदसम्म भए पनि जातिय समानता, धार्मिक समानता प्राप्त भइसकेका छन । यो हाम्रो गौरव हो । एमाले र काँग्रेसका केही अतिबादी तत्वहरुले नचाहेर पनि यी सफलता स्विकार गर्नु बाध्यता थियो भन्ने हामीलाई थाहा छ । यो परिवर्तन एमालेको लागि ल्याएको थिएन थियो त नेपाली जनताको लागि ।
देशले नयाँ संविधान पाइसकेको अवस्था छ तर संविधान जसको लागि बनाइयो तिनिहरुले नै स्विकार गर्न नसकेको तितो सत्य पनि हामी सामु छ । नयाँ संविधान २०४७ साल कै संविधानको फोटोकपि मात्रै हुन, जनता झुक्काउन मात्रै बनाएको संविधान स्विकार्य छैन भनेर संविधान घोषणा गरेको दिन मै मधेस जल्यो । जनजातिहरुले उक्त दिनलाई कालो दिनसम्म मनाए। हुन पनि हो संविधानमा मधेसी र जनजातिको पर्याप्त अधिकारहरु समावेश छैनन् । यतिसम्म कि धर्म निरपेक्षताको परिभाषा समेत गलत तरिकाले व्यख्या गरेका छन । संघीयताको संरचना नि प्रत्येक संघीय राज्यमा खस आर्यजातिको मात्रै बर्चस्व हुने गरी बनाइएको छ । जनता हिजो जस्तो छैन । दश वर्षे जनयुद्धले सबै जनताको चेतनाको स्तर धेरै माथि पुगिसकेको छ । तर राज्य नेतृत्व गर्ने ओलीजनहरुको मानसिकता हिजो जस्तो थियो अहिले पनि त्यस्तै छ । तिनिहरु अतिवादबाट मुक्त हुन नसक्दा देश द्वन्दमा फस्ने खतरा झन बढिरहेको छ । यसको चिन्ता ओलीजनहरुलाई पटक्कै छैन ।
ढाका टोपी लगाउने र नेपाली भाषा बोल्नेलाई मात्रै राष्ट्रबादी देख्ने र दौरासुरुवाल लगाएर संचारमाध्यममा छाए पछी गमक्क पर्ने जमातले धोती लगाउने र मैथिली र भोजपुरी बोल्नेलाई राष्ट्रघाती र विहारी देख्नु कुनै नौलो कुरा रहेन । किनकी उनिहरु अझै पनि अतिबादबाट मुक्त हुन सकेका छैनन् । दिनरात सिमानामा उभिएर भारतीयहरुको ज्यादतीलाई सामना गर्दै नेपालको माटो जोगाउदै बसेका मधेसी जनतालाई विहारी भन्ने ओलीजनहरुलाई के थाहा राष्ट्रवाद के हो ? काठमाडौंमा ५ तले बिल्डिङको सुविधायुक्त कोठा भित्र हिन्दी फिल्म ‘बोर्डर’ हेरेर रगत उमाले जस्तो सजिलो हुँदैन राष्ट्रबाद । नेपाल हाम्रो देश हो, यो नै हाम्रो पुर्खाको इतिहासले बचाएको माटो हो भनेर कठोर भएर उभिएका मधेसीलाई राष्ट्रघाती, देश टुक्राउने भारतीय देख्ने ओलीहरु एक दिन सीमानामा उभिएर देखाउन चुनौती छ । उनिहरुले सामना गरुन भारतीयसँग अनि १ सेकेन्डमा तिनीहरुको राष्ट्रबादको भुत त्यतिबेला छताछुल्ल हुनेछ । हैन भने सबै जातजाती भाषाभाषीलाई समान हुने किसिमको संविधान बनाउन खोज्दा यत्रो ठुलो नाटक मञ्चन किन त ? किनकी संघीयता मन परेकै छैन ओलीजनहरुलाई ।
जब उत्पिडित वर्गले विजयको शिखर चुम्न थाल्छन तब प्रतिक्रियावादीहरु पनि संगसंगै खुट्टामा ठेस लगाउन आइपुग्छन । नेपालको राजनीतिमा पनि यो कुरा लागु भइरहेको छ जस्तो लाग्छ । आधा हिस्सा ओगटेको मधेस र जनजातिहरुले संविधान स्विकार गर्ने वातावरण बनाउन कै लागि सरकारले संविधान संशोधन गर्न खोज्दा एमाले संशोधन कै विरुद्ध उभिनु यो भन्दा अरु विडम्बना हुनै सक्दैन । सरकारले अहिले ल्याउन लागेको सिमांकन फेरवदल गर्ने प्रस्ताव कुनै नौलो होइन । हिजो कांग्रेस एमालेले नै संयुक्त रुपमा तयार पारेर प्रस्ताव गरेको नक्सा हो जुन नक्सामा तराइमा दुई प्रदेशहरु राखिएका छन् । अहिले एमालेजनहरुले पहाड र तराइलाई छुट्ट्याएर देश टुक्र्याउन लाग्यो भन्ने हल्ला चलाएका छन् । त्यसो हो भने प्रदेश नं २ मा पर्सा देखि सप्तरीका तराईका ८ जिल्लाहरु मात्रै छन् । त्यो प्रदेश भारतको लागि छुट्ट्याउन बनाइएको हो त ? एमालेले ल्याउदा सबै ठीक हुने, माओवादीले ल्याउदा सबै गलत हुने हो ? एमालेको किन स्पष्ट धारण नै देखिदैन । हिड्दा हिड्दै बाटोमा जे भिटिन्छ त्यसैलाई मुद्दा बनाउने एमालेको प्रवृत्ति उदेक लाग्दो छ । निती र बिचार बिनाको पार्टीलाई यि सब के मतलब ?
एमालेजन अरु राजनीतिक दल भन्दा जालझेलको राजनीति गर्न निकै अगाडि छन । नेपालमा बोल्न, लेख्ने सबै ठाउँहरुमा एमालेले पैसा दिएर भए पनि आफनो कार्यकर्ताहरु राखिरहेका देखिन्छ । एनजिओ/आइएनजिओ, सरकारी कर्मचारीहरुमा आफ्नो कार्यकर्ताले भरिभराउ गरेका छन । त्यही भएर पनि उनिहरुलाई जनतालाई भ्रम छर्न सजिलो छ । प्रवासमा समेत कार्यकर्ताहरुलाई तलब दिएर पाल्ने अनि माओवादी विरुद्ध लेख्न र बोल्न लगाउने कार्यमा यिनिहरु अगाडी छन । कयौं अनलाइन मिडियाहरु, पत्रकारहरु त देश बाहिर पालेर राखेका छन जसको काम नेपालको राजनीति धरातल बुझ्ने अध्ययन गर्ने भन्दा पनि अन्धभक्त भएर माओवादी विरुद्ध लेख्न र बोल्नमा समय खर्चिन्छन । मधेसी जनजातिहरूले कैलाली कञ्चनपुरमा गरेको आन्दोलनमा बुटवलको आन्दोलनमा भन्दा ४ गुणा बढी जनता उर्लिएका थिए । तर सञ्चार माध्यमले त्यसलाई सकारात्मक रुपमा व्याख्या गर्दैन । बुटवल भएको आन्दोलनलाई राष्ट्रबाद देखाएर थारु र मधेसीले गरेको आन्दोलनलाई भारतियहरुले गरेको भनेर प्रचार गर्छन । बुटवलमा गरेको आन्दोलनलाई मानवसागर भन्दै गर्दा विराटनगरमा भएको लाखौं जनप्रदर्शनलाई माखे साङ्लो भनेर प्रचार गरे । यस किसिमको विभेदकारी सञ्चार माध्यम र कलमजिबीहरुको कारणले सबै उपलब्धि गुम्ने खतरा बढ्दो छ । त्यसको नेतृत्व नेकपा एमालेले गर्दैछ ।
यस प्रकारको कौवा प्रचारप्रसारले व्यक्तिगत रुपमा एमाले कार्यकर्ता र उनका पार्टीलाई फाइदा पुगेको होला तर यस किसिमको अतिबादको कारणले सिके राउतहरु धेरै जन्मिने खतरा छ यो देशमा । कति जनजाति र मधेसी युवाहरु सशस्त्र विद्रोहको तयारीमा छन । अझ भन्न के पनि सकिन्छ भने ठुलो युद्दको तयारीमा एमाले र ओली खेमा छ । फेरि युद्ध नहोला कि भनेर ओलीलाई ठूलो चिन्ता भएको जस्तो देखिन्छ । त्यही भएर पनि बेलाबेलामा जनजाति र मधेसीको रगत उम्लिने भाषा ओलीबाट निस्किरहन्छ । जसरी हुन्छ जनतालाई एक आपसमा लडाएर प्राप्त उपलब्धि खोसेर देशलाई वर्षौ लुट्ने ओलीको गुरुयोजना जनताले नबुझ्नु दुःखद कुरा हो । कारण नेकपा एमालेको भ्रम र त्यसमा सञ्चार माध्यमको साथ ।
हजारौं शहीदहरुको त्याग, तपस्या र बलिदानीबाट प्राप्त, १० बर्षे महान जनयुद्ध र त्यही जनयुद्धको जगबाट सफल २०६२–६३ को ऐतिहासिक जनआन्दोलनबाट प्राप्त उपलब्धिहरु गणतन्त्र, धर्मनिरपेक्षता, संघियता, समानुपातिक, समाबेशिता, जातिय छुवाछुतको अन्त्य, कम्लही प्रथाको अन्त्य, जसको जोत उसकै पोत जस्ता अनगिन्ति महत्वपुर्ण उपलब्धिहरुलाई कम्युनिस्टहरुले नै स्थापित गराई अपनत्व ग्रहण गर्नुपर्ने बेलामा ‘आँतर छलेको गोरु’ झैं हरेक चिजमा ‘बिरोधका लागि बिरोध मात्र’ गर्दै आएको एमाले र यिनका कार्यकर्तालाई एमालेले बैचारिक तवरले गलत प्रशिक्षण दिएको प्रष्ट छ । सबै कुरा छर्लङ्ग हुँदाहुँदै पनि लाज लाग्छ भने कसैको बिद्वताको लाज ढाकिदिनु पर्ने जिम्मा माओवादीहरुको हैन ।
प्रदेश नम्बर ५ टुक्राउन लाग्यो भनेर भ्रम फैलाएर आन्दोलन गरेको भए पनि गणतन्त्रलाई बयलगाडा भन्ने ओली र यिनका कार्यकर्ता धर्मनिरपेक्षता हाम्रो मुद्दा होईन भन्दै संघियताको बिरुद्दमा बुटवल तिर नाङगो नाच नाचिरहेका छन । मदन आश्रितको हत्याको महाअभियोगलाई छोप्न र सर्वोच्चमा एमालेको हालिमुहालि गराउन विद्यादेबी भण्डारीलाई राष्टपति र सुशीला कार्कीलाई सर्वोच्चमा लगिएको भन्नेहरुलाई एमालेको कृयाकलापले थप बल मिलेको छ । नत्र २०६४ मा माओबादीले स्व. पुष्पलालकी अर्धांगिनी तथा एमाले नेतृ स्व. साहना प्रधानलाई राष्टपतिको प्रस्ताव गर्दा एमालेले नमान्नुमा गहिरो अर्थ लुकेको छ । बिद्या र सहानामा के फरक थियो ? किनकि यिनिहरु समानुपातिक समाबेशिताको पनि पक्षमा छैनन भन्ने प्रष्ट छ र बाँकी उपलब्धिमा पनि गिद्दे नजर लगाउने काम गरिरहेका छन ।
नेकपा एमाले जुनकुनै बहानामा पनि यो संबिधान कार्यान्वयन नगर्ने र गर्न नदिने पक्षमा छ । यी यथास्थितिबादी प्रतिक्रियाबादीहरुको प्रपञ्च देशीबिदेशी शक्तिहरुसंगको आडमा सामन्ती, नोकरशाही, पुँजिपती, दलाल र हुनेखानेको प्रक्षपोषण गर्न लाग्नेछ । हेक्का रहोस कि आजको समयमा प्रतिक्रान्तिको खतरा एमाले हो । र उनिहरु सोही युद्धको तयारीमा छन । हामीलाई सुखानीको ईतिहास थाहा छ, १० बर्षे जनयुद्दको ईतिहास लेखेर अहिलेको मैदानमा आएको पनि थाहा छ । हामीलाई युद्द देखी डर पटक्कै लाग्दैन ।
सारमा एमालेजनहरुले बुझ्नु पर्ने कुरा के हो भने हामीले एमाले हिजै देखिसकेका हौ । माओबादी देख्न अझै बाँकी छ । यदी भोलि माओबादी पनि एमालेकै दिशामा हिड्यो भने अर्को बिद्रोह निश्चित हो । जबसम्म जनताले आफ्नो अधिकार पाउँदैनन, पाएको अधिकारको प्रयोगमा सुनिश्चितता देख्दैनौ तबसम्म खबरदारी गरिरहनेछौ । त्यसकारण ओलीजनले भने जस्तो हामी प्रचण्डभक्त पनि हैनौ । अन्धभक्त पनि हुन्नौ ।
देश अहिले पनि संक्रमणकालिन अप्ठेरामा छ भन्ने हामीले बुझेका छौ । जनताका अधिकारलाई बचाइराख्न प्रचण्डले एमालेसँगै लडिरहनु परेको पनि राम्रो थाहा छ । हामीले अधिकारको सुनिश्च्चताको लागि बन्दुक बिसाएको हो भन्ने कुरा सबै पक्षले बुझ्न जरुरी छ । हामी शान्ति चाहन्छौ । अधिकार प्राप्ती पछीको शान्ति । तर यही किसिमको लडाईं निरन्तर रहिरहने हो भने बिसाएको बन्दुक उठाउन कुनै पात्रो हेर्नु पर्दैन । एमालेजनहरुलाई हेक्का होस् ।
फरक प्रसँगको भिडियो हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys” frameborder=”0″ allowfullscreen></iframe>{/source}