मेघराज सापकोटा, युएई-
गत महिना, २८ नोभेम्बर सोमबारका दिन राम तामाङ जीलाई लिएर मेरो नियमित स्वास्थ्य परिक्षणको लागि दुबई आएको थिएँ । स्वास्थ्य परिक्षणको क्रममा कहिलेकाहिं फर्कने बेला गाडी कुदाउन नहुने हुनाले म कोही न कोही साथी लिएर आउने गर्दछु । त्यसदिन खासै समय खर्च भएन अस्पतालमा । चाडै फर्कियौ ।
बाटोमा रसअल खैमहतिर फर्कदै गर्दा यसो एक दुई फोन हानौ न त साथीहरु कहाँ कहाँ ब्यस्त छन, हालखबर सोधौ भनेर फोन हानियो । हामी नेसनल पेन्ट्स निर पुगेका थियौ । पहिलो फोन पत्रकार महासंघ युएई शाखाका सचिव लक्ष्मण खनाललाई । उनी पनि नजिकै रहेछन । भेटौ न भन्ने कुरा भो । कहाँ भेट्ने ? नजिकै भरखर खुलेको एनआरएनएका पूर्व महासचिव सन्तोष प्रसाईलाई फोन गरियो । नेसनल पेन्ट्समा उनले भरखरै एउटा रेस्टुरेन्ट खोलेका छन, खाना स्वादिष्ट छ ।
हामीले झण्डै आधा घण्टा कुरे पछी प्रसाई जी पनि हाजिर भए, सचिव खनाल पनि टुप्लुक्क । समसामयिक बिषयमा कुरा हुँदै थियो । खनाल जीले भने, ‘यहाँ अलपत्र परेका नेपाली भाइहरु छन रे, भेटौ न ।’ उनीहरु कहिले पार्क, कहिले मस्जिद त कहिले बाटोको पेटीमा सुत्दा रहेछन । केहीदिन पहिले मात्र एकजना पाकिस्तानीले पार्कमा सुतिरहेको अवस्थामा भेटेको भन्ने जानकारी गराएकोले नेपाली जनप्रगतिशिल मोर्चाका कमल पोखरेलले आफ्नो कोठामा लगेका रहेछन ।
हामीले ती भाईहरुलाई फोन गर्यौ । यसरी अलपत्र पर्नेमा झापाका बेनु राई, मोरङ्गका सागर राई र सुनील लिम्बु रहेछन । उनीहरु सोही दिन मोर्चाका साथीहरुले मिलेर केही रकम सहयोग गरेपछी दुताबास गएका रहेछन । भेट्नको लागि झण्डै १ घण्टा कुर्न पर्यो ।
मैले अर्को दिन आउन गरेको अनुरोध राम तामाङले नकार्नु भो । लक्ष्मण खनालले पनि भेटेरै जाने अड्डी कसे । सन्तोष जीले पनि ‘हैट, कहाँ हुन्छ नभेटी जाने’ भने पछी करिब ९ बजे तिर उनीहरुलाई सोही पार्कमा भेटियो जहाँ उनीहरुको घर थियो केही दिन अघिसम्म ।
चेहरामा एक किसिमको त्रास थियो । मुस्कान कुन चरीको नाम हो बिलकुल थाहा थिएन । दुबई आउन भनेर साहुसँग लिएको १ लाख ऋणको ब्याज पाकिरहेको थियो । उता घरमा परिवारको आश यता छोराको बाटोको बास । थियो त एक प्याकेट खब्बुसको साथ ।
हामीले पीडितका कुरा सुनिरहयौ । मोर्चाका साथीहरुले निकै सहयोग गर्नु भएको रहेछ । हामीले धेरै कुरा सोध्यौ । राम तामाङले खासै सोधेनन बरु ध्यान दिएर सुनिरहे ।
त्यसको एक हप्ता पछी आज, हामी हेरिरहयौ, उनी दगुरीरहे । राम जीले दिन भनेनन, रात भनेन । ३ दिन लगातार युएईको श्रम अदालत धाए । समय मिल्ने र भ्याउने अग्रजहरुको समय पनि लिए । हिजो ४ डिसेम्बरको बेलुकाको ९ बजे उनी श्रम अदालत मै थिए ।
पछिल्लो जानकारीको लागि रातको झण्डै ११ बजे राम जीलाई फोन गरेँ । ‘सर म त गाडीमा सुतिरहेको छु शारजाहमा’ किन मैले सोधे । ‘रातको २ बजे ईन्द्रराज पौडेल जी नेपालबाट आउँदै हुनुहुन्छ, उहाँलाई उठाएर रस अल खैमह छोड्दा बिहानको ५ बज्छ । फेरी भोली १० बजे शारजाहको श्रम अदालत आईपुग्नु छ’ कस्तो निस्वार्थ सहयोग ! मेरो शीर निहुरिरहयो । मैले जिद्दी गरेर त्यो दिन उनीहरुलाई नभेटी रसअल खैमह आएको भए शायद उनीहरुले यो सहयोग पाउने थिएनन होला । आफैंलाई गाली गरेँ । पश्चाताप भयो ।
अलपत्र परेका ती तीनजना नेपाली आगामी १० डिसेम्बरका दिन नेपाल फर्कदै छन । उनीहरुले फ्री भिसा फ्री टिकटको नाममा तिरेको १ लाख १५ हजार अझै फर्काउन बाँकी छ । ४ महिनाको ओभरटाइम, खेर गएको समय र बाटोमा सुत्नु पर्दाको मानसिक यातनाको क्षतिपुर्ति दिलाउने अर्को ‘राम’ नेपालमा खोज्नु छ । युएईबाट जे जती गर्न सकियो त्यसको लागि नेपाली समाजका चन्द्र प्रसाद सापकोटा दाई, पत्रकार महासंघका लक्ष्मण खनाल, मोर्चाका कमल पोखरेल, रमाकान्त बाँस्तोला लगायतका साथीहरुलाई मेरो नमन छ । राम तामाङ भन्छन, ‘हेर्नुस् श्रम अदालतमा सिपी दाई नभएको भए यसै भन्न सकिने थिएन । उहाँको हात ठुलो छ भाईहरुलाई उद्दार गर्न ।’ जस सिपी दाईलाई नै दिए ।
ईन्द्रराज पौडेल हाम्रो हितैसी साथी । पत्नी बियोगमा हुनुहुन्छ । झण्डै २५ लाख रुपैया खर्च गरेर १ महिना जती आईसीयुमा राख्दा पनि उहाँकी प्राणप्यारी, हाम्री भाउजु यो धर्तीमा रहिनन । राम जीसँग मेरो केही रकम लेनदेन थियो । केही दिन अघि उहाँले भन्नु भो, ‘सर पैसा त ईन्द्र जीलाई पठाउदै छु’ कसरी हुन्न भन्ने ?
रसिदिया अस्पतालमा ४ महिना देखी घाइते भई लडेका कमल हुन या दीपक, घरेलु कामदारको पिडामा साथ होस् कि सिरियामा अलपत्र परेकी चेली हुन उनले सहयोग गरेकै छन ।
यिनै राम हुन जसको सकृयातामा एनआरएनए, रस अल खैमहको साथमा रस अल खैमहमा ऐतिहासिक कार्यक्रम गरी युएईको नेपाली समाजमा सहयोग पुर्याउने ७ जना समाजसेवीहरुलाई सम्मान गरेका थिए । उनले अहिलेसम्म सम्मान खोजेका छैनन । समाचारमा नाम आएन भनेर रिसाउने धेरै ‘समाजसेवी’हरु देखेको छु तर रामले कहिल्यै गुनासो गरेनन ।
भनिन्छ जसले समाजजेवा गर्छ उसले आफूले गरेको कुराको प्रचार खोज्दैन । हो यहि गुण छ रामसँग । खै थाहा छैन, मैले उनका बारेमा यति लेखेकोलाई पनि उनले कसरी लिने हुन् ? तर मैले जे देखे त्यहि लेखेको हुँ । प्रयत्न गरेर प्रप्त उपलव्धीमा सामुहिकताको भावना भेटें मैले उनमा । युएईको राष्ट्रिय दिवसको दिन गत डिसेम्बर २ तारिकमा युएईमा नेपाली झण्डा फहरायो । यसमा उनको भूमिका सवैभन्दा बढी थियो । तर पनि प्रफुल्ल उनी भन्दैथिए, मेघराजजी, यो हाम्रो टीमवर्कका कारण सम्भव भएको हो । हो, त्यहाँ पनि उनी ‘जस’ सवैलाई बाँड्दै थिए ।
अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) का उपाध्यक्ष गोपी कृष्ण पङ्गेनीले एक दिन भनेको कुरा अहिले पनि मेरो मानसपटलमा झलझली आउँछ( यी ‘राम’ राम मात्रै हैनन ‘भगवान राम’ हुन । त्यसो भए म पनि भन्छु, ‘सधैं पूजा गरिरहन पाउँ ।’
युएईमा अलपत्र भिडियो हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/PRS-lAKNXEU” frameborder=”0″ allowfullscreen></iframe>{/source}