मेघराज सापकोटा, युएई-
दासताको बजारमा मान्छे बेच्नेहरुलाई
पसिनाको सराप लागोस्,
मरुभूमि बनोस तिनको सपना
तर पैसा भने कहीं नअटेर
आफैंले पठाएका कामदारहरुको लास ल्याएका
कफिनहरुमा खात लाएर राख्नुपरोस् ।
केही बर्ष पहिले कुनै पत्रिकामा छापिएको कविताको सानो अंश हो यो । कवि को हुन ठ्याक्कै याद भएन । जब मैले यो कविता पढे, वरिपरीका चिनेका नचिनेका जतिपनि म्यानपावर ब्यवसायी छन के सबै उस्तै होलान त ? निकैबेर सोच्न वाध्य भएँ । असल ब्यवसायी पनि त होलान नि किन यति सारो सराप्नु पर्या होला ? यस्तै लाग्थ्यो । यी मान्छे बेच्ने भनिएका म्यानपावर एजेन्सीहरुलाई बाँधेर राख्ने कानुन बनाउने बिधायकलाई पनि बेस्सरी सरापेको छ उक्त कवितामा ।
कबिताको अर्को अंशः
कानुन लेख्न नसक्ने विधायकहरुलाई
प्रत्येक रात ओछ्यानमा होस्
नपुंशकताको लज्जास्पद अनुभव
र आफैंलाई घृणा गर्न थालुन् भित्रैदखि,
आत्महत्या गरुन् कोही,
नागरिकलाई ढाँटेको अपराधबोधले थिचिएर ।
अकर्मण्य मन्त्री र भ्रष्ट कर्मचारी र तस्करहरुलाई
पैसैमात्र गनिरहन् पुगोस् ।
कहिल्यै खर्च गर्न नपाउन् तिनले लुटेको धन ।
तिर्खा लागोस् र पिउन खोज्दा देखुन्
पानीको भाँडोमा नागरिकहरुको रगत ।
जव कोही नेपाली बिदेशमा खान र बस्न नपाएर अलपत्र पर्छन, कहिले पार्क त कहिले सडकको बास गर्छन् भने कहिले मस्जिदको पेटीमा टाउको ओत लगाउन वाध्य हुन्छन तब मलाई यही कबिताको याद आउँदछ । मान्छे कतिसम्म निर्दयी र कति कठोर बन्न सक्छ होला ? कल्पना गर्नुहोस् त ।
युनाईटेड अरब ईमिरेट्स स्थित शारजाहको सडकमा सुतिरहेको अवस्थामा मोरङ्गका सुनिल लिम्बु, मोरङ्गका सागर राई र झापाका बेनु राईलाई भेटेर कुरा गर्दैगर्दा मेरो मनमा माथि उल्लेखित कबिताका हरफहरु याद आइरहे । करिब चार महिना पहिले काठमाडौको सामाखुसीमा रहेको ईलाइट ह्युमन रिसोर्स प्राली म्यानपावर मार्फत युएईको शारजाह स्थित एक क्लिनिङ्ग कम्पनीमा कामदारको रुपमा उनीहरु आएका थिए । नेपालबाट आउने बेलामा नेपाल सरकारले तोकिदिएको फ्री भिषा फ्री टिकट अनुसार नै होला म्यानपावरले १ लाख १५ हजारसम्म मात्र लिएका थिए । त्यो भन्दा बढी १ रुपैयाँ पनि लिएनन् । ९०० दिहराम न्युनतम तलब भनेर सम्झौता पत्रमा २ पक्षले हस्ताक्षर पत्र उनीहरुको खल्तीमा च्यातिन लागेको अवस्थामा अझै छ । तर १६ घण्टा भन्दा बढी काम गर्दा पनि ५०० दिर्हाम भन्दा बढी कहिले थापेनन । त्यो ९ सय दिरहमको जाली तलवी कागज नेपालको एयरपोर्टको गेट काट्नका लागि मात्र बनाएको रहेछ मेनपावर कम्पनीले । युएई उत्रिएपछिको वास्तविक तलव थियो ५ सय दिरहम ।
‘अरबाब, ओभरटाइमको पैसा चाहियो’ सुनिलले पसिनाको मुल्य मागे । अरबाब (साहु) भन्छ ‘माफि माफि (छैन छैन), तलाई मैले फ्री भिसा फ्री टिकटमा ल्याएको हो ।’ दिनभर बन्दै गरेको नयाँ घर सफा गर्न लगाउँछ, त्यही घरको स्टोर कोठामा सुताउँछ, सुत्ने, उठ्ने र नुहाउनेको ठेगान हुन्न । राती १० बजे पछी उसको साथीहरुको घरमा लगेर घर सफा गर्न लगाउँछ । पैसा भने महिनाको ५०० दिर्हाम मात्र ।
ती कामदारहरुले ईलाइट ह्युमन रिसोर्सका बिष्णु बहादुर भण्डारीलाई पटक पटक उद्दार गर्न भने । आजकल त फोन नै उठाउन छोडे । ‘हुन्छ हुन्छ म कुरा गर्छु, तिमीहरुलाई फर्काउँछु, तिमीहरु काम गर’ बिष्णु बहादुर भण्डारीले भनेको कुरालाई उद्रित गर्दै सुनिलले भने, आजकल त फोन पनि उठाउन छोडे । यसो भन्दै गर्दा तिनै जनाका आँखामा आँशु छचल्किंदै थियो ।
अरबाबले पनि हदै गर्न थाल्यो । गाली गर्ने, कुट्ने, धम्क्याउने । कति सहने ? उनीहरु अब काम नगर्ने निधोमा पुगे । कोठाबाट अरबाबलाई फोन गरेर काममा नजाने बरु घर नेपाल जाने कुरा बताए । सोही दिन अर्थात गत नोभेम्बर ७ तारिकको दिन राती अरबाब आए । भनेः अब तिमीहरुलाई नेपाल पठाउँछु, एयरपोर्ट हिंड । बल्ल खुशीको सास फेरे बिचराहरुले नेपाल जान पाइने भईयो भनेर ।
रातको १० बजेको हुँदो हो, अरबाब आए । उनीहरुले पनि लाउने कपडा झोलामा हाले र बाहिर निस्के नेपाल जान । जब उनीहरु बाहिर निस्के, अरबाबले ढोकामा भोटे ताल्चा झुन्ड्याइदियो र भन्योः म तिमीहरुलाई चिन्दिन । तिमीहरु जहाँ जान्छौ, जाउ । पुलिसमा जान्छौ कि लेबर कोर्टमा जान्छौ जाउ । उनीहरुले घर जानको लागि पासपोर्ट मागे । पासपोर्ट लेबर कोर्टमा छ त्यहीबाट लिएर जान भन्यो ।
उनीहरु कोठाको बाहिर उभिए । जाने कतै ठाउँ छैन । ब्यथा सुन्ने कोही छैन । एक एक प्याकेट खब्बुस किने र नजिकैको पार्कमा गएर उक्त रात बिताए । दोश्रो दिन समुन्द्र छेउको मस्जिदमा बिताए । अर्को दिन सडक छेउको पेटीमा बास बसे । खब्बुस र पानीले जीवन धन्दै थिए ।
गोजीमा केही पैसा बचाएर राखेका थिए उनीहरुले । एकदिन ट्याक्सी ड्राइभरलाई लेबर कोर्ट लगिदिन भने । घुमाउदै घुमाउदै १०० दिर्हामको बिल उठाएर लेबर कोर्टमा पुर्याइदियो । त्यस दिन लेबरकोर्टको पिंढीमा बास बसे । अर्को दिन घुम्दै सोध्दै फेरी उही पहिलो दिनको पार्कमा आएर बसे । धेरै पटक लेबर कोर्ट धाए । ूए हजुर, हामीलाई नेपाल फर्काइदिनु पर्यो ।ू उनीहरुको अनुनय बिनय बिसाए । लेबरकोर्टमा अरबाबले खै के केश गरिसकेको रहेछ । अहिले १३०० दिर्हाम र हवाईजहाजको टिकट लिएर आउन भनेको छ । फेरी भोली नोभेम्बर ३० तारिकको दिन लेबर कोर्टको बोलावट छ । के भन्ने हो थाहा छैन ।
लोग्ने मान्छे रुनु हुन्न भन्छन । लोग्ने मान्छेहरु रोएको मैले नि बिरलै देखेको छु । तीनजना मध्ये एक जना बोल्छन, बेला बेला रुन्छन । बाँकी २ जना राम्ररी बोल्न पनि सक्दैनन । उनीहरुलाई हेर्दा लाग्छ उनीहरु मानसिक रुपमा बिच्छिप्त भएका छन । दोश्रो जुनीको जीवन जिउन चाहन्छन, तर कसले उद्दार गर्ने ?
पीडित मध्येका एकजनालाई पठाउने एजेन्टले पीडितका दाईलाई फोन गरेर भनेछनः भिसाको पैसा सहित अरु पैसा देउ तिम्रो भाईलाई झिकाइदिन्छु । यो सुने पछी फेरी मलाई उही कबिताको अर्को अंश याद आयो:
तिनका मनभित्रको नर्क
भलभल पिप–रगत निकाल्दै छताछुल्ल होओस्
तिनका मन–मनबाट ताता तेलका कराहीहरुको खार छुटोस्।
ढाँट्नेहरु ढाँटिउन आफ्ना विश्वासपात्रहरुबाट
काट्नेहरु काटिउन आफ्नै अङ्गरक्षकहरुबाट
मार्नेहरु नमारिउन,
तर कामना गरिरहुन मृत्युको मात्र ।
गत हप्ता मात्र उनीहरुलाई एक बिशाल मनका धनी कमल पोखरेलले भेटे । आफ्नो कोठामा लगे । आफुले जे खान्छन खुवाउदै छन । आफु बरु भुईमा सुतेर उनीहरुलाई खाटमै सुताउँदै छन । हिजो नेपाली दुताबास गए । दुताबासले ३० तारिक लेबर कोर्टले के भन्छ सो पश्चात सम्पर्क गर्न भनेको भन्दा मुहारमा अलिकती खुशी देखिन्थ्यो ।
उनीहरुको कुरा सुनेर एनआरएन युएईका पूर्व महासचिव तथा निवर्तमान सल्लाहकार अध्यक्ष झनै भाबुक देखिन्थे । ूयहाँबाट पैदल ५ मिनेटमा मेरो रेस्टुरेन्ट छ, बिहान बेलुकाको खाना र नस्ताको लागि मेरो जिम्माू उनले भने । खाना र बस्नको आश्वासन पाए पछी पीडितहरुको अनुहारमा मुस्कान छायो । कलेटी परेका ओठहरु रसाए । दोश्रो जुनी जिउने विश्वाश पक्का भयो ।
तर साच्चै नै लेबर कोर्टले भनेको १३०० दिर्हाम र टिकट उनीहरुले तिर्नु परे कसो गर्ने ?
ए नेपाल सरकार, तिमी छौ भने यि निर्दोश कामदारहरुलाई यस्तो कम्पनीमा पठाउने म्यानपावर, रुँदा कराउँदा पनि नदेख्ने तिनका मालिक र म्यानपावरका एजेन्टका छाला काढ । पीडित कामदारहरुको बाँकी तलब, ओभरटाइम, ४ महिनाको सास्तीको क्षतिपूर्ति सहित फ्री भिसा फ्री टिकटको नाममा तिरेको १ लाख १५ हजार फिर्ता गराऊ । फेरी प्रमाण खोजौला । उनीहरुसँग केही छैन, १० हजार तिरेको रसिद पनि ती पापी म्यानपावर एजेन्टले दिएनन ।
ए भगवान, तिमी छौ भने म्यानपावरका मालिक र तिनका एजेन्टका छोराछोरीलाई यसरी नै ५० डिग्री तातोको अरब खाडीमा ल्याऊ, खब्बुस खुवाउ र पार्क, सडक, मस्जिद र समुन्द्रको किनारमा सुताऊ ।
र अन्त्यमा त्यही कबिताको अर्को अंशः
तिनका आमाबाबुलाई थाहा होओस् तिनको चरित्र
तिनका सन्तानले गरुन तिनलाई घृणा
र ब्याधा रत्नाकरलाई झै भनुन
‘मेरो भविष्यको नाममा नकाम गरेर
मलाई पाप नबोकाउनुहोस् बाबा आमा’ ।
र नचाहँदा नचाहँदै पनि तिनका मनले तोकोस् आफैंलाई सजाय ।
मेरो प्रार्थना यही छ ।
पीडितको बारेमा बनाइएको भिडियो हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/PRS-lAKNXEU” frameborder=”0″ allowfullscreen></iframe>{/source}