अनिश तामाङ, युएई
प्रवासमा राजनीतिक दलका भातृ संगठन खोल्नु पनि समाज सेवाको एउटा स्वरुप हो । बिचार मिल्नेहरु राजनीतिक रुपले संगठित हुनु पर्दछ । राजनीतिले खबरदारी गर्दै देशको समग्र बिकासमा टेवा दिन प्रवासबाट पनि सकिन्छ भन्ने हामी प्रवासमा बसेर संगठित भएका राजनीतिकर्मीहरु विश्वाश राख्दछौ ।
नेपाली कामदारको पीरमर्का, उद्दार सहयोग, चन्दा सहयोग आदि देखि जनचेतना अभिबृद्दी जस्ता कुराहरु अलिकती बौद्दिक तथा चेतनशील, अलिकती समय भएका र अलिकती पैसा भएका अगुवा कार्यकर्ता र कलमजीविहरुको दायित्व हो र हुनुपर्दछ भन्ने मान्यताले मलाई आजसम्म घचेटीरहयो । यो घचेट जव म केही बर्ष अगाडी मजदुर बनेर युएई छिरें, त्यो दिन देखी अहिलेसम्म पनि उत्तिकै बलियो छ । मेरो मान्यता होः मन, समय र पैसा (पैसा हुने सँग साधन हुने नै भयो) हुने थोर बहुत पढेलेखेकाले यी तिनै कुरा प्रवासमा मजदुरको हकहीतको लागि खर्चियोस । अहिले पनि यो मान्यताबाट एक ईन्च पनि तलमाथी भएको छैन । हामी यसरी राजनीति गर्छौ प्रवासमा ।
म प्रवासलाई केन्द्र मानेर प्रवासमा पिल्सिएका गरीब मजदुरहरुको पक्षमा आवाज उठाउने भनेर चिनिएको, फ्री भिसा फ्री टिकटको नारालाई काँधमा बोकेर मानव तस्करहरुको बिरुद्दमा आवाज बुलन्द गर्ने निडर र निर्भिक भनेर चिनिएको देश परदेशमा राजनितीको रङ भरिएको लेख देखेर दङग परेको छु । म कुनै पार्टीको प्रबक्ता भएको नाताले कुनै दलको बचाव गर्न अन्यथा नहोला तर देशपरदेशमा छापिएको स्वतन्त्र संचारकर्मी, राष्ट्रबादी संचारकर्मीको बारेमा मैले बोल्नै पर्ने भयो ।
माओवादी युद्दमा होमिएको एक असल कार्यकर्ता म हुँ । माओवादी बारे लेखकलाई भन्दा बढी चिन्ता मलाई छ । अझ म त शहीद परिवारको सदस्य पनि हुँ । लेखक जो सुकै हुन, उनी नेकपा एमालेका अन्धभक्त नै हुन भनेर चिन्न कुनै दुर्बीन प्रयोग गर्न पर्दैन । उनका अभिब्यक्तीको शैली नै काफी छन । अझ आश्चर्य त यो पनि छ कि सम्पादक महोदयले राजनैतीक दृष्टिकोणले भरिपूर्ण बिचार छाप्न के अव प्रबास नै ताक्नु पर्ने भएको हो त ? आज नेकपा एमालेको अन्धभक्तलाई स्थान दिने, भोली नेपाली काङ्रेसलाई दिने अनी अर्को दिन प्रचण्ड समर्थकलाई दिदै जाने ? यसो गर्दा देशपरदेशको उद्देश्य पुरा हुँदै जान्छ भने प्रचण्डको समर्थन र केपी ओलीको बिरोधमा लेखेको मेरा केही शब्दहरु छापिदिन अनुरोध गर्न चाहन्छु । यो आलेख तिनै अन्धभक्तको लेखको प्रतिउत्तर पनि हो ।
प्रसँग १
तपाईंले २०४७ साल तिर खिचिएको कमरेड केपी ओलीको फोटो देख्नु भएको छ ? उनले लगाएको कमिज र चप्पललाई ख्याल गर्नु भएको छ ? झापा आन्दोलनमा उनको भूमिका र ३६० डिग्रीमा उनले फेरेको अभिब्यक्तीलाई सुन्नु भएको छ ? त्यो बेलाको उनको आर्थिक र पारिवारिक अवस्थाको बारेमा केही बुझ्नु भएको छ ? बुझ्नुस्, केपी ओलीको मात्र हैन, नेकपा एमालेका अन्य नेताहरुको बाबुको पालाको पारिवारिक अवस्थाको बारेमा बुझ्नुस् ।
अनी त्यो बुझीसके पछी अहिलेको बालकोट दरबारको बारेमा पनि लेख्नुस् । डल्लु दरबार देखी कोटेश्वरको नेपाल निवाससम्मको बारेमा देख्नुस् । यती देखी सके पछी भाडामा बसेको प्रचण्डको लाजिम्पाट निवास र एमाले नेताहरुको यी निजी निवासको चमक छुट्याउनुस् । सिपी मैनालीको चाबहिलको दरबारको बारेमा पनि लेख्नुस् । प्रदिप नेपालले बामदेवलाई नेपालको एक नम्बर भ्रस्टाचारी घोषणा गरेका थिए, त्यो पनि लेख्नुस् । अघिल्लो दिनसम्म सन्धी गर्न हुन्न भन्ने केपी ओलीले रातारात मुखर्जीसँग गरेको सन्धीको हिसाबकिताब बारे लेख्नुस् । माओवादीका नेताहरुको पनि यसरी नै तथ्यगत भएर लेख्नुस् ।
नत्र अलिकती लेख्न जान्दछु भन्दैमा दायाँ आँखा बन्द गरेर बाँया आँखाले प्रचण्डको खेदो खन्नुले लेखकको राजनीतिक दरिद्रता बाहेक अन्य केही देखिन्न । कि खुलेर म नेकपा एमालेको कार्यकर्ता हुँँ भनेर भन्न सक्नु पर्यो, हैन भने पत्रकारको बिल्ला भिरेर प्रवासमा बसेर एकोहोरो प्रचण्डको खेदो खानेर केपीको गुणगान गाउन बन्द गर्नु पर्दछ ।
प्रसँग २
पछिल्ला दिनमा पुष्पकमल दाहालका समर्थकहरु केपि शर्मा ओलीको खोईरो खन्न मरिमेटेर लागि परेका छन भन्ने तर्क अत्यन्त हाँस्यास्पद छ । बरु यसो भन्नुस्ः सुरु देखी अहिलेसम्म केपी शर्मा ओलीका समर्थकहरु पुष्पकमल दाहालको खोइरो खन्न मरिमेटेर लागि परिरहेका छन । अझ यसो पनि भन्नुसः यो खोइरो खन्ने काममा नेपालदेखि बिदेस बस्ने कार्यकर्ताहरुलाई प्रायोजित रुपमा परिचालन गरेर गरिएको छ । हाम्रो उद्देस्य आँशिक रुपमा सफल भएकोमा हामी झनै दंग छौ पनि भन्नुस् ।
यो कच्चा बिष्लेषण होइन पक्का हो । तिमीले गरे कच्चा होला तर मैले गरेको बिष्लेषण पक्का हुन्छ भन्नुस् । अली अली एमालेको बिरोध गरे जस्तो गरेर भरपुर मात्रमा प्रचण्डको खेदो खन्ने तपाईंको शैली बहुआयमिक छ ।
प्रसँग ३
माओवादी नेतृत्वबाट नेपाली जनताले अपेक्षा गरेको सबैभन्दा ठुलो कुरा सम्बृद्धि हो । हिजो पनि यही थियो, आज पनि त्यो अपेक्षा अटुट छ र भोली पनि हुनेछ । सम्बृद्धिको अपेक्षा जनताले सबै नेता र दलसँग गरेका हुन्छन । क्रान्तिबाट छाएको पार्टीबाट अझ धेर हुनु स्वाभाबिक छ । सोचे जस्तो सफलता हात पार्न सकेको छैन । र यही गती हो भने सफलता हात पर्दैन ।
म क्रान्तिको पक्षधर भएको नाताले यो कुरा ठोकुवाको साथ भन्न सक्छु । कारणः नेपालको कर्मचारीतन्त्र । ध्वस्त गर्नु पर्ने एमाले बहुमत भएको घुसखोरी कर्मचारीतन्त्र । विसं २०५० साल देखी २०७० सालसम्म एमालेले गरेको ठुलो प्रगती हो कर्मचारीबृत्तलाई एमालेमय बनाउनु । स्थाई सरकार मानिने कर्मचारीतन्त्र भ्रस्टाचारी बनाउन उसले खेलेको भूमिकालाई लेखकले छुटाएछन । अहिलेको सरकार कथमकदाचित असफल नै भो भने अर्को बिद्रोह हुन जरुरी छ त्यो हो नेपालको कर्मचारीतन्त्रलाई ध्वस्त गरेर जनताको सेवकलाई खडा गर्ने । प्रचण्डले १० बर्षमा सिङ्गापुर बनाउने भने भनेर खिल्ली उडाउने लेखक जस्ता ओलीप्रेमी नै हुन जसले घरघरमा ग्यास, चुच्चे रेल र २ बर्षमा साउदीलाई तेल बेच्ने भाषण सुन्दा गर्बले छाती फुलाउँदै जयजयकार गर्ने । बिल्कुल लज्जाबोध छैन । नैतिकता भए न लज्जावोध हुन्छ ?
प्रसँग ४
केपी ओलीको समर्थन गर्ने सबै राष्ट्रबादी हुन भन्ने लेखकको बुझाई अन्धभक्त बिलकुल हैन । प्रचण्डको समर्थक जति मात्रै अन्धभक्त हुन, स्याव्बास । केपीका जयजयकारहरु सब देशभक्त प्रचण्डकाहरु हनुमान ।
नेपालमा बिधिवत ढंगले अधिबेशन गरेर नेतृत्व हस्तान्तरण कुन पार्टीमा हुन्छ ? एमाले अखिलमा हो ? कि युवासंघमा ? एमालेको कुनै जनवर्गीय संगठनमा तपाईं बिना गुटबन्दी स्वतन्त्र रुपमा कुनै दिन चुनिनु भएको छ ? छ भन्नु हुन्छ भने झुट बोल्दै हुनुहुन्छ, तपाईंको कुरा कसैले पत्याउदैन ।
लेखकले केही कुराहरु उनले जिम्मेवार ढंगले पनि उठाएका छन । २५ बर्ष सम्म पनि एउटै नेतृत्वले पार्टी हाँक्ने हुनाले सक्षम नेताको उदय हुन नसक्नु पक्का हो । त्यस्तै अभ्यास नेकपा एमालेमा पनि छ । माधव, झलनाथ र ओलीमा नेतृत्वको होडबाजी चलेकै छ । ५० बर्षमा पनि युवा बन्दै संघको नेतृत्व धानेकै छ । कार्यकारी प्रधानमन्त्री ब्यवस्था कायम गर्छु भनेर भोट माग्ने अनी माओवादीलाई काङ्रेसको जालोमा फसाएर संसदिय घिनौला खेलमा होमिएर त्यसको पहिलो सिकार आफैं बन्दाको रोदन उदेक लाग्दो छ । सक्छौ कार्यकारी प्रधानमन्त्रीको वकालत गर र नयाँ ब्यवस्थाको लागि लबिङ गर, सक्दैनौ खसिको टाउको देखाएर कुकुरको मासु बेच्ने ब्यवस्थामा समृद्धिको सपना नदेख । यो संसदिय ब्यवस्थाले केही हुनेवाला छैन ।
प्रसँग ५
हो, आम नागरिकलाई सधैं परिवर्तनका लागि आन्दोलन गर्न मात्र सिकाईयो । न त रोजगारीका लागि सीप सिकाईयो, न त स्वरोजगारका लागि उद्यम गर्न । पार्टिका युवाहरुको उत्पादन ब्रिगेडको हल्ला त पिटीयो तर त्यो ब्रिगेडले कहाँ के उत्पादन गरेको छ थाहा पाउन सकिएको छैन ।
राम्रो कुराको उठान छ । अनी त्यसको उत्तर चाँही ? कसले गर्ने ? हिजो मात्र प्रधानमन्त्री प्रचण्डले ४ वटा निर्देशन दिएका छन । १. वर्गतिर फर्किने कार्यक्रम बनाउनुस् २. गरेका काम सार्वजनिक गर्नुस् ३. कार्यशैली सुधार्नुस् ४. रफ्तारमा काम गर्नुस् । यी निर्देशन आफ्नै मन्त्रीलाई दिएका हुन । तर मन्त्रीले मात्र गरेर के गर्ने ? मन्त्रालयमा सवै एमाले कार्यकर्ता भर्ती छन । चरम राजनीतिक शिकार बनेको कर्मचारीबाट प्रचण्डले जतिसुकै बल गरुन् अहिले केही गर्न सक्दैनन । भोली ओली नै प्रधानमन्त्री किन नहुन, भ्रस्टाचारमा लिप्त कर्मचारीले आफ्नो बानी छोड्दैनन । जनताले ओलीको बोली देखी अरु केही पाउने हैनन । न त हिजो न केही पाए, पाए त गफ।
तपाईंलाई थाहा छ, युएईमा अलपत्र परेका ३० जना नेपालीलाई उद्दार गर्न प्रधानमन्त्रीले दिएको निर्देशन ? यसको बारेमा लेख्नुस् । मलाई पक्का थाहा छ, यसमा पनि नेपाल सरकारका कर्मचारीले प्रधानमन्त्रीका निर्देशनलाई हावामा उडाइदिएका छन ।
प्रसँग ६
माओवादी नेताहरुको बिलासीमाय जीवन कहाँ कस कसले गरे ? लेखकले नाम खुलाउन आवश्यक छ । गाउँमा ठेक्केदारी गर्ने देखि बिदेशमा मजदुर बेच्ने काममा एमालेका मान्छेहरु अग्रपंक्तिमा छन । म्यानपावर कम्पनीका दलालहरुका संगठनका नेता पनि एमाले नै छन । ठेक्कापट्टामा सेटिङ मिलाउने देखी चरीको लालन पालन गर्ने एमाले नै हुन । घुस खाने र खुवाउने पनि एमाले नै छन । ऐना जस्तो देखिने भ्रस्टाचारका नाइेकेहरुलाई सुलुत्तै निलेर प्रचण्डमा कालो धब्बा देख्ने यी स्वतन्त्र पत्रकार कसका हनुमान हुन ? श्वेत कपडामा सानो दाग परैबाट देखिन्छ । हनुमानहरुले त नदेख्ने कुरै भएन ।
पुष्पकमल दाहालको कत्रो चिन्ता महोदयलाई ? उनको अनुमान छः प्रायश्चित्तको जीन्दगी बाँचिरहेका छन् प्रचण्ड । उनी कतिसम्म पूर्बाग्रही छन भने दाहालले भारतसँग माफ मागेको देख्छन र नेपाल छिट्टै नै प्रान्त बन्ने सपना बुन्छन । राष्ट्रबादको खरो नमुना प्रस्तुती छ उनमा जसरी अरु अन्धभक्त कार्यकार्तामा छ । एक कार्यकर्ता हुनुले नुनको सोझो गर्न ठीक होला तर संचारकर्मी हुनुले भ्रम छर्नु अपराध हो ।
मेरो यत्ती मात्र प्रश्न छः प्रचण्डले कुन चाँही महाकालीलाई बन्धकीमा राखे ? प्रचन्डले चल्दै आएका कुन कलकारखानालाई कौडीको भाउमा बेचेर पूँजीवादलाई बढावा दिने गरी ब्यापारीहरुलाई पोसे ? उनले कुन कहाँ के के राष्ट्रघात गरे ? तथ्यगत रुपमा लेखकले किन लेख्न सक्दैनन ? हावाको तालमा बुरुक्क उफ्रेर गरिने राजनीतिक पत्रकारिता गर्ने हो र भ्रम छर्ने हो भने सिधै भन म नेकपा एमालेको पत्रकार हुँ भनेर । हैन भने पत्रकारको बिल्ला भिरेर कलमको ईज्जतमा धावा नबोल ।
लेखकले भने जस्तो न त ‘आईम विथ प्रचण्ड’ भनेर देश बन्छ नत ‘आईएम विथ केपी ओली’ भनेर । १० बर्ष जीवनलाई खुकुरीको धार, बन्दुकको गोलीको जोखिममा राखेर जनताले जनतालाई गर्ने शासन ब्यवस्था ल्याइदिएको छ माओवादीले । धन्य भन बरु । राजाको पाउमा दाम चढाउन जाने एमालेका नेता भन्दा प्रचन्ड कयौं गुना ठीक छन । मोदी आउँदा गर्बले छाती फुलाउनेहरु भारतीय राष्ट्रपती आउँदा लम्पसारबाद भन्दै फेसबूकमा कम कुर्लेनन ? केपी ओली साक्षी बसेर महाकाली बेच्ने किन्ने सम्झौतामा हस्ताक्षर गर्ने तिम्रै प्रभु हुन मुखर्जी ।
मुलुकको सम्बृद्धिका लागि सबैभन्दा महत्वपुर्ण कुरा अहिले उर्जा भएको छ । जलविद्युत लगायत बैकल्पिक उर्जाका लागि लगानी गर्न सक्नुपर्छ । आफुले सिकेको सीप सिकाउन आत्मनिर्भर हुन सिकाउने गर्नुपर्छ । स्वरोजगारमुलक ब्यवसाय गरेकाहरुलाई सहयोग गर्नुपर्छ । केपी ओलीको समर्थन र प्रचण्डलाई फेसबुकमा रोएर धारे हात लगाएर समय बिताउनु भन्दा यस्ता सिर्जनशिल कामका लागि समर्थकहरु पनि लाग्नुपर्छ । फेसबुकमा गरिएको टिप्पणी, प्रशंसा, आलोचनाले मुलुकको सम्बृद्धिसँग कुनै साईनो गाँस्दैन, यो त गोडामुते न्यानो जस्तो मात्र हो, मेरो पनि समर्थन छ ।
लेखकलाई बोनसः
२०६१,२०६२ सालमा रत्नपार्कमा ज्ञानेन्द्रको निरंकुशता बिरुद्दको आन्दोलनमा कति जनता उत्रन्थे थाहा छ ? लौ न हामीलाई बचाउनु पर्यो प्रभु भन्दै रुकुम रोल्पा पुग्ने एमालेका को को नेता थिए ? आफ्नो जीवनलाई तरवारको धारमा राखेर देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने भूमिका कसको हो ?
महाकाली बेच्ने र किन्नेहरुको भेट दुताबासको पार्टीमा नागरिकन हायात होटलमा गर्नु चाँही किन ? मुखर्जी र ओली दुबैजना महाकाली किन्ने र बेच्ने नेता हैनन ? राष्ट्रपतिले बोलाउने अनी प्रचन्डलाई दोश थुपारेर कहाँको पुरुषार्थ देखाउन खोजेको हो ? यो किन नलेखेको लेखमा ?
देशमा एनजीओहरु कसका छन अहिले ? एनजिओ खडा गरेर अन्तराष्ट्रिय रुपमा मागी खाने चाँही राष्ट्रबादी भए ? हाँस्यब्यङ्यकारहरु भन्छन कहिलेकाही, एमालेको लिङग छुट्याइदेउ । ठिकै हो जस्तो लाग्छ । कहिले राजाको पाउमा दाम राखेर प्रधानमन्त्री मागेका छन, कहिले राप्रपा र कहिले काङ्रेससँग गठबन्धन गर्छन् । केही दिन सताबाट बाहिर हुँदा यत्रो कोकोहोलो ?
समाजबादको ढ्वाङ पिटेर सामन्तबादमा बिलिन हुने डरले माओवादीहरुको बिरोध गर्ने र खुइल्याउने प्रब्रित्तीको बारेमा किन चुप ? प्रचन्डले देश बेच्यो भन्दै हल्ला गर्छन् यी पत्रकारहरु । माओवादी प्रचन्ड मात्रै हो ? हामी माओवादीका कार्यकर्ताहरु चाँही हातमा दही लिएर बसेका छौ ? कि हामीलाई चाँही देशको माया छैन ? देशको माया एमालेको मात्र पेवा हो उसैलाई लाग्नु पर्ने, अरुलाई माया लाग्नै नहुने ?
प्रवासकै कुरा गरौः युएईमा ३० जनालाई उद्दार गर्ने कुरा, साउदीमा मृत्युदण्डको सजाय सुनाएका नेपालीको उद्दारमा उनको सरकारले खेलेको भूमिकाको कुरा, कतारमा एमाले कार्यकर्ताले झुटो मुद्दा लगाएर डिपोर्ट गर्न खोजिएका दीपक बुडाथोकीको कुरा त छुटेछन नि ।
यस्तै पत्रकार हुन जो अहिले सरकारको बिरुद्दमा कलमलाई सोझ्याउदै छन । दिन दिन बिराएर सरकारको ईज्जतमा धावा बोल्न एउटा एउटा बहाना खोज्ने यिनै पत्रकार हुन ।
राष्ट्रपति बिद्यादेवी भण्डारीले भारतीय राष्ट्रपतीलाई निम्तो दिएर बोलाइन। तर प्रचण्डलाई लम्पसारबादीको नाम दिने पनि यिनै पत्रकार हुन । सरकारका प्रबक्ताले नागरिकता सम्बन्धी संशोधनमा अङ्गिकृतलाई राष्ट्रध्यक्ष बनाउने कुनै कुरा भएको छैन भन्छ, एमालेका यि पत्रकारहरु हो हो, छ छ भन्छन । फेसबूकमा कोकोहोलो रोदन मच्चाउछन ।
देश परदेश डट कममा छापिएको त्यो आलेख यिनै घटनाक्रमका प्रतिनिधि हुन । त्यसका उनी एक पात्र मात्र हुन । कलमजिबी हुँ भन्नेले कि त तटस्थ भएर लेख्न सक्नु पर्दछ हैन भने कलमको निव भाँचेर् एमाले कार्यकर्ता हुँ भन्ने हिम्मत गर्नु पर्दछ । नत्र भन्ने “द्विलिङी हुनुको मज्जा नै बेग्लै”
(लेखक माओवादी केन्द्रको प्रवास संगठन नेपाली जनप्रगतिशिल मन्च, युएईका प्रवक्ता हुन)
फरक प्रसँगको भिडियो हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/VPO1FEsOhuk” frameborder=”0″ allowfullscreen></iframe>{/source}
