मोहन बस्याल, युएई
प्रसंग १
मलाई विद्यालय पढ्दाताका हरेक बर्ष अर्को बर्ष आफुपनि प्रथम, द्धित्तीय वा तृतिय भित्र परेर अविर लगाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो । हरेक कक्षाका पहिला महिनाहरुमा खुपै मिहिनेत पनि गर्थे । राम्रा अक्षरमा लेख्ने, दिएका सबै गृहकार्य गर्ने, अलि अलि अगाडीका पाठहरु पढ्ने, कक्षामा बस्दा पनि सकभर हल्ला नगरि साथीहरुका कुरामा ध्यान नदिएर सरले पढाएको कुरामा ध्यान दिन्थे । तर दिनहरु बित्दै जाँदा बिस्तारै अल्छि बन्दै जाने र सधै औषत अंक ल्याएर कक्षा चढ्ने काम भयो ।
मलाई आज भोली लाग्छ म विद्यार्थी जीवनको औषत विद्यार्थी भए जस्तै पुष्पकलम दाहाल पनि राजनीतिमा औषत खेलाडी हुन् । उत्कृष्ट राजनेता बन्ने उत्कट चाहना राख्ने, मुलुकको सम्बृद्धिको चाहना पनि राख्ने दुईचार दिन यसो त्यसका लागि प्रयास गरे जस्तो पनि गर्ने तर थाहै नपाई अवसरवादीको घेरामा परि आफ्नो लक्ष्य उद्धेश्य भुल्ने । सम्बृद्धिको स आफ्ना कार्यकर्तालाई बुझाउने प्रयास नगर्ने तर गफ ठुल ठुला हाँकिरहने । सबै शासकलाई शोषक भन्ने तर विगतका शासकले मुलुकलाई दिएका योगदान र आफ्ले गरेका कामको तुलना नगर्ने । कसैले प्रशंसा गरे फुरुंग हुने तर कसैले आलोचना गरे जुरुक जुरुक गर्ने । मलाई लाग्दैन आफ्नो जीवनको पर्वाह नगरी सशस्त्र युद्धका लागि तयार भएको युवा पङ्तीले समयको अन्तरालमा अहिलेका पुष्पकलम दाहालको अपेक्षा गरेका थिए ।
प्रसंग २
पछिल्ला दिनमा पुष्पकमल दाहालका समर्थकहरु केपि शर्मा ओलीको खोईरो खन्न मरिमेटेर लागि परेका छन् । नेकपा एमाले भित्रनै केपी ओलीलाई मन नपराउने समुह पनि छ । र, एमाले बाहिर ओलीलाई बिभिन्न कारणले मन पराउने समुह ठूलो छ । बिशेष गरि फेसबुकमा उट्पट्यांग गर्ने समुहमा प्रचण्डको बिरोध गर्ने र ओलीको समर्थन गर्ने भीड ओलीले सरकार छोडेपछि पनि घटेको छैन । अझ बढेको छ । यसलाई प्रचण्ड निकटकाहरु प्रचण्ड बिरुद्धको नियोजित सामाजिक सञ्जालको आक्रमण भनेर पनि अथ्र्याउँछन् । तर यो कच्चा बिष्लेषण उनीहरुको रोदन भन्दा अर्को कुरा मलाई लाग्दैन । पुष्पकमल दाहालको बिरोध कसैले गरेको छ भने नबुझेर गरेको छ । समर्थन गरेको छ भने पनि उ अझै पनि भ्रममा छ । दाहालमा अहिले न त समर्थन गर्ने कुरा छ, न त बिरोध गर्नु पर्ने कुरा नै बाँकी छ ।
प्रसंग ३
माओबादी नेतृत्वबाट नेपाली जनताले अपेक्षा गरेको सबैभन्दा ठुलो कुरा सम्बृद्धि हो । नेपाली काँगे्रसका प्रभावशाली नेताहरु भ्रष्टाचारमा मुछिएका खबरले पत्रपत्रिका रंगिदा माओवादीले अनियमितता गर्ने बिरुद्ध भनेर चलाएको प्रचारात्मक कारवाहीले जनताको आशा बढाएको थियो । तर १० बर्षमा स्विजरल्याड, सिंगापुर बन्ने कल्पना गरेका नेपाली जनताले २०६३ देखि ७३ सम्म माओवादी नेतृत्वबाट भए गरेका गतिविधि हेरे । निष्कर्ष देशले कोल्टे फेर्ने मात्र होईन उत्तानो पर्ने दिशा लिई रहेको देखे । यस्तो अवस्थामा के भनेर पुष्पकमल दाहाल, प्रचण्डको समर्थनमा फेसबुक रंगाउने ? दाहालका अन्धभक्तहरुले ओलीको प्रशंसा गरिएको कुराले जलनको महसुस गर्छन । तर कहिले पनि खोजी गर्दैनन् प्रचण्डले देशका लागि के दिए ? के गर्दैछन् ? के गर्ने संभावना छ ? के गर्दा मुलुकको हित हुन्छ ? पुष्पकमल दाहालले छोडेको अपनवायुलाई आहा कति राम्रो भन्नेहरुसँग त कसको के पो लाग्दछ र ?
प्रसंग ४
दाहालको समर्थन नगर्ने बरु बिरोध गर्नेहरुलाई सिधै केपि ओलीको हनुमानको पगरी गुथाउने चलन पनि छ । कुवाको भ्यागुताले कुवाको परिधि भित्र मात्र देख्ने हो त्यही मात्र संसार छ भन्ने बुझ्ने हो । नेपालमा दाहाल भन्दा योग्य नेता ओली मात्र होईन अरु धेरै छन् । माओबादी भित्रै छन् । तर २५ बर्ष देखि निरन्तर एउटै नेतृत्वले चापिएकाले तिनले प्रतिभा देखाउन पाएका छैनन् । जिल्ला जिल्लामा पनि नयाँ नेतृत्व उदाउने अवसर छैन । न त स्थानीय निकायको निर्वाचन हुन दिईएको छ, न त पार्टिले नै अधिवेशन लोकतान्त्रिक बिधिबाट गर्छ । मेरो समर्थन र बिरोधको खासै महत्व छैन । तर पनि जनताबाट जुन जिम्मेवारी र विश्वास लिईएको छ त्यसमा केन्द्रिकृत हुनुपर्छ भन्ने मेरो धारणा हो । सबै मानिस सफल हुन्छन् भन्ने छैन तर प्रयास कति गरियो भन्ने पनि देखिनु पर्छ । मलाई प्रचण्ड नेतृत्वको सरकार यसमा कृयाशिल भएको महसुस हुनै सकेन ।
प्रसंग ५
नेपाली काँग्रेस, नेकपा एमाले लगायतका दलका नेताहरु लामो समय पञ्चायत बिरुद्ध लडे । उनीहरुको जीवनको उर्जाशिल समय अध्ययनको समय त्यसमा बिताए । जेलको चिसो छिंडीमा बिताए । भारतमा बिताए । जो जो अहिले शिर्ष नेतृत्वमा छन् तिनिहरुको कुनै पनि बिषयमा बिशेष अध्ययन र दख्खल देखिदैन । त्यसैले उनीहरुले पञ्चायत फाल्न गरेको योगदानको सम्मानका लागि नेता मानिदिनु पर्ने मन्त्रि, प्रधानमन्त्रि मानिदिनु पर्ने अवस्था छ । यस्तै गणतन्त्रका लागि योगदान गरेकै कारण माओबादी नेतृत्वलाई पनि नेता, मन्त्रि प्रधानमन्त्रि मान्नु पर्ने अवस्था छ । पञ्चायत फालेपछि सम्बृद्धि कसरी हुन्छ भन्ने कुनै योजना देखिएन । राजा फालेपछि कसरी सम्बृद्धि हुन्छ भन्ने पनि देखिएन । आम नागरिकलाई सधैं परिवर्तनका लागि आन्दोलन गर्न मात्र सिकाईयो । न त रोजगारीका लागि सीप सिकाईयो, न त स्वरोजगारका लागि उद्यम गर्न । पार्टिका युवाहरुको उत्पादन ब्रिगेडको हल्ला त पिटीयो तर त्यो ब्रिगेडले कहाँ के उत्पादन गरेको छ थाहा पाउन सकिएको छैन ।
प्रसंग ६
नेपाली कांग्रेस, नेकपा एमाले लगायतका संसदबादी पुराना दलको सबै भन्दा ठुलो कमजोरी अपारदर्शीता नै हो । यसले धेरै नेपालीलाई निराश बनाएको थियो । उनीहरु पारदर्शी नभएपछि स्वघोषित क्रान्तिकारी पार्टिहरुले जे भने पनि पत्याउने अवस्था थियो । त्यसमा अझै भ्रष्टाचारमा मुछिएका नेताका तस्बिर सहितका समाचारले त मलजल नै गर्यो । तर माओवादीबाट यो कुराको अपेक्षा गरिएको थिएन । तर कहिले पोखरामा अन्र्तराष्ट्रिय बिमानस्थल बनाउने ठेकेदारसँग ५० लाख मागिएको खबर आयो, कहिले शिविरमा पठाईएको रकम हिनामिना भएको, पार्टिको लागि खर्च भएका खबर आए । संसदबादी दलका नेतालाई काठमाडौंमा घर बनाएर मोज गरेको भनेर आलोचना गरियो तर स्वयं माओवादीका नेता पनि निर्वाचन जितेपछि काठमाडौं केन्द्रित भए । आखिर माओवादीका नेताको बिलासी जीवनको स्रोत पनि गोप्य नै भयो । अपारदर्शीनै भयो । आखिर १० बर्ष सशस्त्र संघर्ष, हजारौको बलिदानी, अर्बौको क्षति पछिको नेतृत्व पनि उस्तै ?
प्रसंग ७
पछिल्लो समय पुष्पकमल दाहाल प्रायश्चित्तको जीन्दगी बाँचिरहेका छन् । उनले आगामी दिनमा के गर्ने, मुलुक कता लैजाने भन्दा पनि विगतमा भएका कमि कमजोरी सच्चाउन आफ्नो सम्पुर्ण शक्ति प्रयोग गरि रहेका छन् । भारतीय हस्तक्षेपको बिरोधमा १० बर्ष बिताएका दाहाललाई भारतलाई गालि गरेर मात्र बिकास सम्भव छैन भन्ने बिस्तारै चेत हुन थालेको देखिएको छ । पछिल्ला दिनमा बिगतमा गरिएका गालिका लागि क्षमायाचना गरि रहेका छन् जुन चरम उत्कर्ष तर्फ देखिदै छ । हेर्दै जाउँ यो कहाँ पुगेर टुंगिने हो । यत्ति कामना गरौं हाम्रो जीवकालमा मुलुक प्रान्त नबनोस ।
प्रसंग ८
‘आई एम विद केपी ओली’ भनेर कोही राष्ट्रबादी हुन सक्दैन । साँच्चिकै राष्ट्रबादी हो भने नेपालमा उत्पादन भएको सामान उपलब्ध भएसम्म अर्को उत्पादन प्रयोग गर्दिन भनेर कमस खान सक्नुपर्छ । मुलुकको सम्बृद्धिका लागि सबैभन्दा महत्वपुर्ण कुरा अहिले उर्जा भएको छ । जलविद्युत लगायत बैकल्पिक उर्जाका लागि लगानी गर्न सक्नुपर्छ । आफुले सिकेको सीप सिकाउन आत्मनिर्भर हुन सिकाउने गर्नुपर्छ । स्वरोजगारमुलक ब्यवसाय गरेकाहरुलाई सहयोग गर्नुपर्छ । प्रचण्डको समर्थनमा फेसबुकमा रोएर समय बिताउनु भन्दा यस्ता सिर्जनशिल कामका लागि समर्थकहरु पनि लाग्नुपर्छ । फेसबुकमा गरिएको टिप्पणी, प्रशंसा, आलोचनाले मुलुकको सम्बृद्धिसँग कुनै साईनो गाँस्दैन, यो त गोडामुते न्यानो जस्तो मात्र हो ।
आउनुस अब सम्बृद्धिका लागि अस्वस्थ प्रतिस्पर्धा छोडौं । हातेमालोको वातावरण बनाऔ । बहस गरौ सम्बृद्धि बारे । नेताको भजन गाएर मुलुकको विकास हुँदैन ।