बैदेशिक रोजगारी र रेमिट्यान्स

डा. प्रकाशकुमार श्रेष्ठ, काठमाडौं, असोज २४ 

वैदेशिक रोजगारी र विप्रेषण नेपालीहरूको लागि नौलो रहेन । अहिले नेपाली अर्थतन्त्र र नेपालीहरूको जनजीविका वैदेशिक रोजगारीमा गएका कामदारहरूले पठाएको विप्रेषण अर्थात रेमिट्यान्समा निर्भर रहेको छ । हुन त नेपालमा लाहुर जाने प्रवृत्ति पुरानै हो ।

सुगौली सन्धिपछि विधिवत रूपमा ब्रिटिश सेनामा नेपालीहरूको भर्ती सुरु भएको देखिन्छ । तत्पश्चात भारतमा काम गर्न जानु सामान्य भएको थियो । सन् १९८० र १९९० को दशकपछि विश्वव्यापिकरण र उदारीकरणले गर्दा नेपालीहरू भारतबाहेक अन्य मुलुकहरूमा पनि रोजगारीमा जान थाले । उच्च जनसंख्या वृद्धिसँगै बढ्दो श्रमशक्ति तर सोही अनुरूप आन्तरिक रोजगारी सिर्जना हुन नसक्नु र त्यसैको पृष्ठभूमिमा २०५२ देखि २०६२ सम्मको एक दशक लामो आन्तरिक द्वन्द्वले गर्दा नेपालीहरू विदेश जानु बाध्यता जस्तै हुन गयो । अहिले सरकारले वैदेशिक रोजगारीको लागि ११० देशहरूमा जान सक्ने भएको छ भने झण्डै ४० लाख मानिसहरू वैदेशिक रोजगारीमा गएको तथ्याङ्क रहेको छ । जनजीविका र रोजगारीको बाध्यता बाहेक उच्च अध्ययनसँगै सुविधाजनक जीवनयापनको लागि नेपालीहरू विदेशिने गरेको अवस्था छ । वास्तवका विदेशिनु नेपालीहरूको लागि बाध्यतासँगै संस्कृति पनि बनिसकेको छ ।

आन्तरिक रूपमा रोजगारी सिर्जना गर्न नसकेपछि सरकारले पनि बाह्य रोजगारीलाई प्रवद्र्धन गर्न थालेको देखिन्छ । सरकारले आठौं पञ्चवर्षिय योजनादेखि नै वैदेशिक रोजगारको गन्तव्य पहिचान गर्न शुरु गरेको थियो । उक्त योजनाको अन्तिम वर्षदेखि जिल्ला प्रशासन कार्यालयबाट राहदानी पाउने व्यवस्था गरेपछि वैदेशिक रोजगारीतर्फ मानिसहरू थप आकर्षित हुन पुगे । २०६४ सालमा वैदेशिक रोजगारी ऐन नै जारी भई वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार बोर्ड गठन भए । जसले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने प्रयास गरे । आन्तरिक रोजगारीको अभाव तर सोही समय पूर्वी एशिया र खाडी मुलुकहरूको उच्च आर्थिक वृद्धिले गर्दा बढ्दो श्रम मागले गर्दा वैदेशिक रोजगारीमा जाने संख्यामा तीव्ररूपले वृद्धि भयो ।

बढ्दो वैदेशिक रोजगारी र विप्रेषण प्रवाहसँगै यसले विभिन्न आर्थिक सामाजिक प्रभाव पार्न शुरु गरेको छ । वैदेशिक रोजगारीबाट प्राप्त भएको विप्रेषण आर्थिक वर्ष २०७२।७३ मा कुल गार्हस्थ उत्पादनको २९।५ प्रतिशत रहेको छ । यस्तो अनुपात हेर्दा नेपाल विश्वको तेस्रो स्थान रहेको छ । उक्त आर्थिक वर्ष दैनिक औसत १ अर्ब ८२ करोड विप्रेषण नेपाल भित्रियो । ताजकिस्तान र किर्गिज रिपब्लिक मात्र नेपाल भन्दा अगाडि छन् । विप्रेषणको उल्लेख्य प्रवाहले गर्दा गरिबी घटेको छ, चालु खाता र भुक्तानी सन्तुलन सकारात्मक रहेको छ, र सहरदेखि गाँउसम्म आर्थिक गतिविधि चलायमान भएको छ । एक दशक लामो आन्तरिक द्वन्द्व र न्यून आर्थिक वृद्धिको अवस्थामा पनि विकासका सामाजिक सूचकहरू जस्तै औसत आयु, साक्षरता दर, र बालबालिकाहरूको विद्यालय भर्नामा पछिल्ला वर्षहरू उल्लेख्य सुधार भएको छ । यसको श्रेय विप्रेषण आप्रवाहलाई जान्छ । हुन त वैदेशिक रोजगारीका नकारात्मक पाटाहरू पनि नरहेका होइनन् ।

वैदेशिक रोजगारी र विप्रेषणको बढ्दो भूमिकालाई लिएर यससम्बन्धी विभिन्न अध्ययनहरू भएका छन् । यसै सिलसिलामा हालै नेपाल राष्ट्र बैंकले विप्रेषण प्राप्त गर्ने घरपरिवारहरूको बचत तथा लगानीको अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालका १६ वटा जिल्लाहरूबाट २० वटा घरपरिवारका दरले ३२० घरपरिवारहरूलाई समेटेर उक्त अध्ययन गरिएको छ । छनोटमा परेका जिल्लाहरूमा झापा, सुनसरी, तेह्रथुम, खोटाङ, धनुषा, काठमाडौं, चितवन, कास्की, बाग्लुङ, गोर्खा, रूपन्देही, दाङ, कालिकोट, बाजुरा, कैलाली र बैतडी रहेका छन् । वैदेशिक रोजगारी र विप्रेषण आप्रवाहबाट घरपरिवारको बचत तथा लगानीमा आएको प्रवृत्तिलाई केलाउने प्रयास उक्त अध्ययनमा भएको छ । बचत र लगानी जस्ता आर्थिक आयामहरूमा आउने परिवर्तनले समग्र आर्थिक गतिविधिमा असर पार्दछ । यसले नेपाली अर्थतन्त्र कुन दिशातर्फ जाँदै छ भन्ने पनि संकेत गर्दछ ।

वैदेशिक रोजगारीबाट मासिक औसत आम्दानी ४४ हजार ३३३ रहेको छ जुन आकर्षक आम्दानी हो । तर सबैले सो अनुरूप आम्दानी गरेका छैनन् । खासगरी मलेसिया र खाडी मुलुकमा काम गर्नेहरूको आम्दानी सो अनरूप नहुन सक्छ । साथै, उक्त अध्ययनले देखाए अनुसार वैदेशिक रोजगारीमा गएका घर परिवारहरूलाई हेर्दा अधिकांश अर्थात ८६।२ प्रतिशत घर परिवारमा बालबालिका विद्यालय तथा कलेजहरूमा अध्ययन गर्ने पाइएबाट विप्रेषणले शैक्षिक स्तर उकास्न सहयोग पुरयाइरहेको पुष्टी हुन्छ । अधिकांश बालबालिकाहरू निजी स्कुल तथा कलेजमा अध्ययन गरिरहेका छन् । वैदेशिक रोजगारीमा गएका घरहरूमध्ये ३८।४ प्रतिशतको मात्र वैदेशिक रोजगारी मुख्य आय स्रोतको रूपमा रहेको छ । अझै ठूलो हिस्सा ४४।७ प्रतिशत घरपरिवारको लागि कृषि नै मुख्य पेशाको रूपमा रहेको छ ।

वैदेशिक रोजगारीमा गएका झण्डै दुई तिहाई घर परिवारका घरमूलीको बैंक खाता रहेको छ भने एक तिहाई जतिको खाता छैन । गाउँ बस्ने र अशिक्षित परिवार भन्दा सहरमा बस्ने र शिक्षित परिवारमध्ये बढीको बैंक खाता रहेको छ । तर, वैदेशिक रोजगारीमा जानेहरूमध्ये केवल एक तिहाई जतिले मात्र ९३६।६ प्रतिशत० बैंक खाता खोलेका छन् । बैकिङ पहुँच बढाउन अझै धेरै गर्न बाँकी रहेको देखिन्छ ।

धेरै जसो अभिमुखीकरण तथा तालिम व्यावसायिक तालिम नलिई जाने गरेका छन् । केवल ३७।२ प्रतिशतले मात्र त्यस्तो तालिम लिएर जाने गरेको देखिएको छ । खासगरी खाडी मुलक, मलेसियामा जानेहरूले कमले मात्र त्यस्तो तालिम लिने गरेका छन् । बिना तालिम गएका, कम शैक्षिक योग्यता भएका अझ लेखपढ गर्न नसक्नेहरू धेरैले सम्झौता अनुरूप काम नपाउने गरेको पाइएको छ । उनीहरूको कमाई पनि औसतमा कम हुने र बचत पनि कम हुने गरेको छ । सीप र दक्षता अभिवृद्धितर्फ सरकार र अन्य सरोकारवालाले थप ध्यान दिनुपर्ने देखिएको छ ।

वैदेशिक रोजगारी प्राप्त गर्न खर्चिलो छ । उक्त खर्चको व्यवस्था गर्न ५२।१ प्रतिशत घरपरिवारले वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च महँगो ब्याज दरमा अनौपचारिक स्रोतबाट लिने गरेका छन् । केहीले वैदेशिक रोजगारीमा जान घरजग्गा लगायतका अचल सम्पत्तिको समेत बिक्री गर्ने गरेका छन् । अनौपचारिक स्रोतबाट लिएको ऋणमा ६० प्रतिशतसम्म ब्याज लिएको पाइन्छ । यसले गर्दा वैदेशिक रोजगारी मार्फत सुरुवाती कमाईको ठूलो अंश ऋण भुक्तानीमा नै जाने गरेको छ ।

वैदेशिक रोजगारीमा गएका व्यक्तिले वार्षिक औसत ६ पटक विप्रेषण पठाउने गरेका छन् । ९१ प्रतिशत व्यक्तिले बैंक तथा वित्तीय संस्था एवम् रेमिट एजेन्सी मार्फत विप्रेषण पठाउने गरेको पाइएको छ । तर, अझै ६ प्रतिशतले पैसा पठाउन हुण्डीको प्रयोग गर्ने गरेका छन् । औपचारिक माध्यमबाट पैसा पठाउनेहरूको ठूलो हिस्सा भए पनि हुण्डीको प्रयोग पनि कायमै रहेबाट विप्रेषण प्रवाहलाई सहज बनाउन थप प्रयास गर्नुपर्ने आवश्यकता छ ।

सबैभन्दा चासोको विषय विप्रेषणबाट प्राप्त रकम घरपरिवारले कसरी प्रयोग गर्छन् भन्ने रहेको छ । विप्रेषणबाट रकमको सही सदुपयोग भएमा दिगो रूपमा गरिबी निवारण हुने र स्वदेशमा रोजगारी सिर्जना हुन सक्छ । विप्रेषणबाट प्राप्त रकमको एक चौथाई अंश ऋण तिर्नको लागि प्रयोग भएको छ । त्यसपछिको ठूलो अंश २३।९ प्रतिशत उपभोगमा खर्च हुने गरेको देखिन्छ । शिक्षा तथा स्वास्थ्यमा विप्रेषणको ९।७ प्रतिशत खर्च हुने गरेको छ । महत्वपूर्ण कुरा विप्रेषण रकमको २८ प्रतिशत बचत गर्न सकेका छन् । त्यस्तै, दुई तिहाई घर परिवारले सामान्यता बचत गर्ने गरेको पाइएको छ । धेरै जसोले त्यस्तो बचतमा बैंक तथा वित्तीय संस्थामा राख्ने गरेका छन् । शिक्षित घरमुली ९७०।४ प्रतिशत० ले बढी मात्रामा बैंक तथा वित्तीय संस्थामा बचत गर्ने गरेको पाइएको छ । तर सिधै व्यवसायमा लगानी गर्ने घरपरिवारको हिस्सा कम रहेको छ, केवल १६ प्रतिशतले आगामी दिनमा व्यावसायिक क्षेत्रमा लगानी गर्ने योजनामा पाइएका छन् । ४१।३ प्रतिशत घरपरिवारले परिवारका सदस्य वैदेशिक रोजगारीमा गएपछि घर जग्गा खरिद गर्ने गरेका छन् । वैदेशिक रोजगारमा गएकाहरूको वैदेशिक रोजगार ऋणपत्र र अन्य सरकारी ऋणपत्रमा ज्यादै न्यून लगानी रहेको छ । यससम्बन्धमा यिनीहरूको अज्ञानता र अनाकर्षणलाई सम्बोधन गर्नुपर्ने देखिन्छ ।

अहिले युवा जनसंख्याको बाहुल्य रहेको अवस्था र विदेशमा श्रमको माग उच्च रहेकोले विप्रेषण अहिले नेपाली अर्थतन्त्र जीवन्त रहने आधार भएको छ । विप्रेषणले ल्याएको उपभोग, बचत र लगानीको प्रवृत्तिलाई सुक्ष्म ढंगले नियालेर बढी भन्दा बढी आन्तरिक उत्पादनको उपभोग बढाउने र बचत परिचालन गरी लगानी प्रवद्र्धन गर्न सकिएमा नेपाली अर्थतन्त्रले दिगो विकासको दिशातिर बढ्ने प्रशस्त सम्भावना रहेको छ । तर, राजनैतिक अन्योलता, लगानी प्रवद्र्धन गर्ने स्पष्ट नीति र वातावरणको अभावले विप्रेषणबाट प्राप्त रकमको उपयोग आयातित वस्तुहरूको उपभोगतर्फ बढी केन्द्रीत भइरहेको प्रवृत्तिलाई चिन्ताजनक मान्नुपर्दछ ।

बैंकको समाचार डटकमबाट साभार 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: