
मध्यम कदका
उनी
हात हल्लाउँदै
दुबई एअरपोर्टबाट
बिदाबारी भए ।
तल्लाघरे,
माथ्लाघरे,
माझघरे
भेट्न सबै आए होलान
चकलेट र मोबाईल
पाउने अपेक्षामा ।
साडी होलान सिफनका,
मेरा नापका
भित्री बस्त्रहरु
भुतुक्कै लजाई
निहुरेर किने होलान,
प्यान्टेलाई
च्यान्टीलाई
सानो होला कि,
ठुलो होला कि
त्रास त्रास
किनेका ती पोका पत्यौरा,
खोल्दा झुम्मिने मेरा सन्तानहरु
आहा कस्तो मिठा कल्पना ।
बरदुबईमा मोटर चढेर
दुबई एअरपोर्ट भित्र
डोरीले कसिएको पोको
तराजुमा हल्लिदै
घ्वाइँ घ्वाइँ सेतो पोलिथिनले बेरिदै होलान
मेरो नाकका फुली,
कानका गहना
र, तिलहरीहरु ।
तातो रेगिस्तानबाट उचालिएर
आधा आकाशमा पुगे कि ?
जमिन पो छोए कि ?
भन्दै मेरा नयनहरु,
ज्याम्दी मण्डन, साँगा पाँचखाल हुँदै
उँधो उँधो झर्ने बायुपँखी
हेर्दै एकोहोरो
दोश्रो सुहागरातको
कल्पनामा
घडीका सुईहरु दौडेर
समय बितेको पत्तै भएन ।
गोधुली साँझ भएको थाहा भएन
एक हुल कर्याङ्ग कुरुङ्ग फर्कदै छन गुँडमा ।
मस्तिस्कका स्नायुहरु
मन्द गतीमा थिए,
दाइभाइ आफन्त नातागोता
कोशेली पर्खेर बसे जस्ता
सधैं उनी सुटुक्क आउने
आज,
गाउँ भरीकालाई सुनाएछन,
बायुपँखी कृडा खेल्ने
मैदानको बाहिर पिँढीमा
कसैले
पाखुरा समातेर उचाले
त्यो रातो बाकसलाई देखाएर
अन्तै कतै लगे
परपर,
जहाँ शंखको धुन बज्ने गर्छ ।
रातो बाकसमा
लम्पसार
रङगहीन उनी
रङग फेरेर
कालो बर्णमा आएछन
नाकका प्वालहरुमा
श्वेत कपास बोकेर
मेरो बाँकी जीवनलाई
रङगहीन बनाउदै
नउठ्ने गरी
रेगिस्तानको तातोमा
अन्तिम श्वास फेरेछन ।
घाटमा
साक्षी राख्दै
खरानी सँगै
नदीमा बहेछन
मेरा आधा बैँसहरु ।
अब मलाई कहिल्यै
हँसाउन नसक्ने गरी
आँशु रित्याएर गए
मेरा आधा बैँसहरु
बिझाएका छन्
रातो तन्ना ओच्छाएका
खाली खाटहरु ।
भेटौँला अर्को जुनीमा
–मेघराज सापकोटा
झापा, हाल रसअल खैमह, युएई