
सुनिल न्यौपाने, काठमाडौं
केहि महिना अगाडी युएईस्थीत देशपरदेशका स्तम्भकार मेघराज सापकोटाले एउटा विषयमा लेख पठाए सार्वजनिक कार्यक्रममा खादा लगाउने वा नलगाउने विषयमा त्यहाँ सुरु भएको बहस बारे । सो लेख प्रकाशित भएपश्चात त्यसमा धेरैथरी टिप्प्णी भए । कतिपयले खादा लगाउने विषयलाई संस्कृतिसँग जोडे, कसैले धर्मसँग त कसैले आयातित संस्कृतिसँग । अर्थात समाज यो विषयमा नराम्रोसँग विभाजित हुँदै गरेको संकेत थियो त्यो ।
युएईमा बैचारिक बहसमा आएको त्यो विषय अहिले व्यवहारिक अभ्यासमा रुपान्तरित भएको छ । अर्थात पछिल्ला केहि कार्यक्रममा खादाको स्थान ढाकाले लिएको छ । फलस्वरुप कतिपयले यसलाई आफूहरुको धर्र्म, आस्थामा प्रहार भएको भनेर विरोध सुरु गरेका छन् । विशेषगरी जनजाति समुदायको चित्त दुखार्ई यसमा धेरै छ । यो स्वभाविक पनि थियो किनकी बौद्ध धर्मसँग जोडिएको खादाको प्रयोग बारेको तातेको बहसले खादाको बढ्दो प्रयोगमा अचानक कडा ब्रेक लगाएको छ ।
बौद्ध धर्मावलम्वीबीचमा खतक अर्थात खादाको ठूलो धार्मिक महत्व छ । यो कहाँबाट कहिले सुरु भयो भन्ने कुनै लिखत नभेटेपनि तिव्वतबाट नेपाल आइपुगेको हो भन्नेमा एकमत छन् यसका प्रयोग पक्षधरहरु । बौद्धमार्गीको हरेक शुभकर्ममा प्रयोग हुने खादाले केहि बर्षयता नेपालीका कार्यक्रमहरुमा प्रवेश पाएको हो । विहेबटुलो देखि हरेक शुभकार्यमा खादा पछिल्लो समयमा अभिन्न अंग नै बनिसकेको थियो जुन नेपाली पहिचानका रुपमा स्थापित हुँदै थियो ।
पछिल्ला केहि कार्यक्रममा खादाकै आकारको ढाकाको कपडा(जसलाई जनजाति समुुदायले गम्छा उपनाम दिएको छ)को प्रयोग बढेको छ । देखिने गरी त्यसको प्रयोग बढ्दो छ । हालै राजधानी काठमाडौंमा आयोजना गरिएका कार्यक्रमहरुमा खादाको सट्टामा खादाकै आकारको ढाकाको कपडाले स्थान पायो । गत आइतवार राष्ट्रिय चलचित्र पुरस्कार २०७२ मा आयोजित कार्यक्रमका अतिथिहरुको गलामा त्यहि ढाका झुण्डियो ।
यसैगरी पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सहभागि एक कार्यक्रममा पनि उनलाई सोही प्रकारको ढाकाले स्वागत गरेको देखिन्छ ।
यति मात्र नभई युएईमा हालै सम्पन्न म्यूजिक भिडियो अवार्डमा पनि खादाको स्थान लियो उहि ढाकाले ।
नेपालमा भएका कार्यक्रममा खादाको सट्टा ढाकाको प्रयोगका बारेमा त्यतिधेरै असन्तुष्टि देखिएको छैन जति युएईमा देखिएको छ । हालै युएईमा सम्पन्न म्यूजिक भिडियो अवार्डमा भएको ढाका प्रयोगलाई लिएर युएईमा कृयाशिल केहि जनजाति संगठनका अगुवाहरुले सामाजिक सञ्जालमा तथा केहि अनलाईनहरुमा यसको विरोध गरे ।
खादाको स्थानमा ढाकाको प्रयोगलाई शेर्पा किदुङ, युएईका अध्यक्ष समेत रहेका नेपाल आदिवासी जनजाति महासंघ, युएईका प्रथम उपाध्यक्ष पासाङ शेर्र्पा नश्लवादी चिन्तनका रुपमा व्याख्या गर्छन् । उनी नेपाली मौलिक पहिरन भनिएको ढाका बंगलादेशबाट आयात भएको संस्कृति भएको भन्दै बुद्धको देशमा बौद्धमार्गीले श्रद्धाका साथ प्रयोग गर्ने खादालाई नै मौलिक नेपाली बस्तु मान्छन् । सहअस्थीत्वलाई स्वीकार गर्न नसक्ने चिन्तनका कारण खादाको सट्टा ढाका प्रयोग भएको भन्दै खादा जस्तो पवित्र बस्तुको स्थानमा ढाकाको प्रयोग आफैंमा हाँस्यास्पद रहेको शेर्पाको भनाई छ । उनी भन्छन् “यो चार दिनको चाँदनी हो जुन आफैं छिट्टै हराएर जानेछ । “पवित्र खतकको स्थानमा ‘ढाकाको टालो’ प्रयोग गर्नु भनेको आफूलाई जन्म दिने मातापितालाई बृद्धाश्रममा पुर्याएर भाडाका मातापितालाई घर भित्रियाउनु जस्तै हो” उनको भनाई छ ।
युएईमा अघिल्लो हप्ता म्यूजिक भिडियो अवार्डको आयोजना गरिएको थियो । आयोजक मध्येका एक महेश गिरी नेपालमा नै उत्पादन भएको बस्तुको प्रयोग बढाउने उद्धेश्यले आफूहरुले कार्यक्रममा ढाकाको प्रयोग गरेको बताउँछन् । उनले यसलाई कुनै जात, धर्म र समुदायसँग जोडेर नहेर्न आग्रह गरे । “नेपालमा पनि स्वदेशी बस्तु प्रयोग गर्ने क्रम बढेको छ जसलाई हामीले विदेशमा पनि अपनाएका हौं” गिरीले देशपरदेशसँग भने “हामीले कुनै धर्म वा जातलाई अपहेलना गरेका होइनौं ।” उनले यस्ता विषयलाई कुनै राजनीतिक पार्टीसँग जोडेर दुष्प्रचार नगर्न समेत आग्रह गरे ।
यसले प्रष्ट हुन्छ खादा की ढाका भन्ने विषय चर्किंदै गएको छ । नेपाली समाज अझ विभाजित हुँदैछ ।
निकासको बाटो
अहिले जुन रुपमा खादा की ढाका भन्ने विवाद सुरु भएको छ यसले न जनजातिको भलो गर्छ न त ढाका प्रयोग पक्षधरहरुको । खादाको प्रयोग बौद्धमार्गीको आस्थाको विषय हो । त्यसैले यस विषयमा धेरै टिकाटिप्प्णी जरुरी छैन । तर यसको अर्थ नेपालीले आयोजना गर्ने सम्पूर्ण कार्यक्रममा खादाकै प्रयोग हुनैपर्छ भन्ने जिरह गर्न पनि पाइन्न । हरेक व्यक्ति, संस्था वा समुहलाई आफूलाई जायज लागे अनुसार गर्ने अधिकार छ । यसमा न त गैरजनजातिले खादा बहिष्कारको नारा उचाल्न आवश्यक छ न त ढाका प्रयोगको विषयलाई लिएर जनजाति समुदाय यति धेरै आक्रामक हुन र यसलाई नश्ल वा राजनीतिक दलसँग जोड्न ।
बाटो सरल छ । खादा प्रयोग पक्षधरहरुले आफ्ना कार्यक्रममा खादा नै प्रयोग गरुन्, र गैर बौद्धधर्मावलम्वीहरुले यदि ढाकालाई नेपाली पहिचान ठान्छन् भनें त्यहि । बैदेशिक रोजगारमा मधेसी समुदायको ठूलो सहभागिता छ । उनीहरु पातलो गम्छा प्रयोगमा सहजता अनुभव गर्छन् । त्यो तराईमधेसको पहिचान जस्तै बनेको छ । त्यसैले उनीहरु आफ्ना कार्यक्रममा त्यहि गम्छा प्रयोग गर्न वा धोती लाएर हिंड्न स्वतन्त्र छन् । यसमा पहाडी समुदायले टेढो आँखा लगाउन वा खिसि गरिरहन जरुरी हुन्न ।
आफ्नो संस्कति आफैंले जोगाउने हो, अरुले आफ्नो संस्कृति मानिदिएन भनेर जिरह गर्नुको कुनै अर्थ हुन्न । अर्कातिर खादाका बारेमा गैरजनजातिले पनि बहिष्कारको नारा उचाल्नु भनेको कलह बढाउनु मात्र हो । सहअस्थीत्व र सहकार्य नै मुख्य कुरा हो । लड्ने मुद्धा अरु नै धेरै छन् हामीसँग, तिनमा लडौं । विशेषगरी रोजगारीका लागि पुगेको प्रवासमा यस्ता विषयमा चाहिं नलड्नु नै बेश ।
यो पनि पढ्नुहोस्
फिलिपिन्स हिंडेकी जोया, नेपाली मन र फेसबुके प्रवृति