के प्रधानमन्त्री प्रचण्डबाट यस्तै आश गर्न सक्छौं बैदेशिक रोजगारमा रहेका हामी युवाले ?

 

सन्तोष खडेरी, अबुधावी युएई

हालसम्म लाखौं व्यक्तिले भोगेको विदेश नेपालमा बसेर कल्पना गरेभन्दा विल्कुल फरक छ । नेपालमा बसेर विदेशको चमकदमक जुन रुपमा देखिन्छ, त्यो भन्दा कयौंगुणा बढी कष्टसाध्य छ विदेशको भोगाई । मेनपावर कम्पनी वा दलालहरुलाई मोटो रकम बुझाएर उनीहरुका झुट्टा आश्वासनको पोको बोकेर उत्साहि हुँदै यहाँ आईपुग्ने हरेक नेपालीका आफ्नै कथा छन्, समस्याका खात छन् ।

इतिहासमा पूर्खाले फिरंगीहरुसँग लडेर मुलुक जोगाएको वा व्रिटिस साम्राज्य फैलाउन बगाएको रगतको बलियो गौरवगाथा सहितको वीर गोर्खालीको पहिचान भजाउँदै सुरक्षागार्डमा यहाँ सुरक्षादिन आईपुगेको लक्काजवान तन्नेरी यस पंक्तिकार सहितका अहिले खाडी र मलेसियामा पसिन बगाइरहेछौं । त्यहि पहिचानको आडमा सुरक्षागार्ड बन्न वा सस्तो श्रमिकका रुपमा पसिना बगाउन दैनिक अहिले पनि १२ सयको हाराहारीमा युवा विदेशिइरहेका छन् गाउँ नै रित्तो बनाएर ।

शुरुमा आफ्नै पेशामाथी बिदेशमा अधिकांशले उठाएको एउटा समान जिज्ञासा र यस भित्रको यथार्थबाट शुरु गरौं । धेरै सोधिने यहि प्रश्न नेपालीहरु किन सुरक्षागार्डमा मात्र आउँछन ? जता पनि नेपालीहरु मात्र देखिन्छन् किन होला ? वास्तविकता पनि हो सुरक्षागार्डमा नेपालीको संख्या ठूलो छ । त्यसैले अन्यले पनि यसमा नेपालीमात्र देख्ने गर्छन । यसमा सदैव एउटा वास्तविकता सहितको रेडिमेड जवाफ हुन्छः सारा विश्व सहित सिंगो दक्षिण एशिया जति बेला बेलायती साम्राज्यमा थियो त्यति बेला दक्षिण एशियाको एक मात्र मुलुक नेपाल स्वतन्त्र थियोे कसैको अधिनमा थिएन । त्यहि वीरतालाई चिनेर व्रिटिसले आफ्नो सुरक्षामा नेपालीलाई राख्न थाले र अहिलेको सुरक्षागार्ड त्यसैको निरन्तरता हो । तर छाती चौडा पारेर वीर पूर्खाको बहादुरी र आफ्नो स्वाभीमानलाई अर्काका सामू जति नै व्याख्या गरे पनि वास्तविकता आज निम्नस्तरको कामका लागि बिदेशिनु परेको यथार्थ हो । जतिबेला बिश्वमा नेपाल भन्ने देश थियो त्यतिबेला अस्तित्वमा नै नरहेका आजका कतिपय देशमा श्रमका लागि बिदेशिएर त्यही रेमिट्यान्सले देश चलाउनु परेको यथार्थ छ यो बिडम्वना होइन र <

अर्कातिर आफ्ना नागरिकका लागि आवश्यक पर्ने सम्पूर्ण सुरक्षाको प्रत्याभूति सहित सरकारले त्यसको ग्यारेन्टी लिएर बैदेशिक रोजगारीमा पठाउनुपर्नेमा कुनै बस्तुभाउको ब्यापार गरे सरह बैदेशिक रोजगारीमा पठाइरहेको छ । फलस्वरुप आज थुप्रै नेपालीले अत्यन्तै दर्दनाक अवस्था भोग्नुपरिरहेको छ । सरकारले नियमन गर्न नसकेका कारण मत्ता हात्ती जस्तै गरि केहि बैदेशिक रोजगार ब्यवसायीको खराव नियत र कर्तुतले बैदेशिक रोजगारीमा जाने युवालाई सेकिरहेकै छ । उल्टै व्यवसायीहरु आफूहरुले रेमिट्यान्स भित्रियाउने काम गरेको भन्दै धक्कु लगाइरहेका छन् । तर उनीहरुले लिएको चर्को शुल्कका बारेमा विरलै वा नाममात्रको कारवाही हुने गरेको यथार्थ हो । सरकार तमासे जस्तो मात्र बनिरहेको छ ।

दलाल मार्फत खाडीका देशमा मानव बेचबिखनकै सिकार बनी स्थानीय नागरिकको घरमा गुमनाम अवस्थामा चरम शोषण सहित बन्दि जीवन बिताउन बाध्य घरेलु महिला कामदारको अवस्था अत्यन्तै कारुणिक छ । समस्यामा परेका उनीहरुको उद्धार हुन सकिरहेको छैन । म्यारिज ब्युरो र डान्सबारका आवरणमा खाडी, द्वन्द्वग्रस्त मध्यपूर्वी अन्य देश र अफ्रिकामा नेपाली महिलालाई पुर्याउने क्रम रोकिएको छैन । केहिको उद्धार त भएको छ तर त्यो नगन्य मात्र छ ।

अर्कातिर थुप्रै देशहरुमा विभिन्न झुठा मुद्दा सहित विभिन्न जेलमा रहेका नेपाली र त्यस्तै अन्य मुद्दामा  अदालतबाट मृत्युदण्डको सजाय सुनाईएर ब्लडमनीको मागसँगै आममाफी सहित जीवन जिउने सानो आशा मनमा पाल्दै मृत्यु पर्खेर बसेका कैयौं नेपाली पनि छन्, तिनका बारेमा बर्खे भेल झैं यदाकदा चर्चा त हुन्छ तर नतिजामुखि काम हुन सकिरहेको छैन । हालै सरकारले यसबारेमा अलिक धेरै चासो राखेको देख्दा आशा भनें पलाएको छ ।

ज्यूँदाको मात्र होइन रोजगारीका लागि खाडीका मुलुकमा आएर यतैै मृत्युवरण गरेकाहरुको शव समेत नेपाल फिर्ता नभइरहेको अवस्था छ । मलेशियामा नेपाली असुरक्षित हुँदै गरेको, कामका लागि कोरिया पुगेका कामदारको बढिरहेको आत्महत्या दर, खाडीमा सुतेको ठाउँमा सुतेको सुत्यै हुने प्रश्न होस् या बैदेशिक रोजगारीका कारण समाजमा देखा परेको समस्याको प्रश्न होस् यी अझै अनुत्तरित छन् ।

कामगरे वापतको तलब नपाएर न्याय माग्दै भौंतारिइरहेका थुप्रै नेपालीका समस्यामा सुनिदिने निकाय लगभग भेटिन्न । दुतावासहरुबाट सक्दो काम त भएको छ तर त्यो पर्याप्त हुन सकेको छैन । त्यसैले पीडितले मद्धत पाउने कुरा हात्तिको मुखमा जिरा भनेजस्तै भइरहेको छ । श्रम सहचारीको संख्या थप्ने, पीडितलाई बस्नका लागि सेल्टरको व्यवस्था अनिवार्य आवश्यकता हुन् । यसतर्फ रेमिट्यान्सले चलिरहेको सरकारले सोच्ला भन्ने हामी खाडीमा श्रमरत नेपालीको अपेक्षा हो ।

हालैका दिनमा भिजिट भिषाको दुरुपयोग गरि नेपाली युवालाई युएई ल्याउने कामले अर्को समस्या निम्त्याइरहेको छ । त्यसरी रकम बुझाएर आउनेहरु समस्यामा परिरहेका खवर बेला बेला सार्वजनिक हुने गरेका छन् ।

दुःखको कुरा हाम्रो देशमा त्यहि मन्त्री वा सरकार सफल ठहरिन्छ जसले धेरै रेमिट्यान्स भित्रियाउन सफल हुन्छ । तर स्वदेशमा रोजगारी सिर्जनाको विषयलाई कहिल्यै पनि केलाएर हेरिन्न । के यहि गतिले हाम्रो देशमा दिर्घकालिन विकास होला त <

हुन त नेपालले फ्री भिषा फ्री टिकटको निर्णय त गरेको छ तर त्यो केवल कागजमा सिमित भएको छ । मत्ता हात्तीका रुपमा देखिएका बैदेशिक रोजगार व्यावसयीका सामु सरकार लाचार झैं देखिएको छ । त्यसैले यो निर्णय केवल सस्तो लोकप्रियता कमाउने माध्यम मात्र बनिरहेको छ ।

बैदेशिक रोजगारमा आउने कामदारेले जम्मा गरेको रकमको कल्याणकारी कोषको रकमको सदुपयोगको विषय होस् वा श्रम बैैंकको कुरा कहिल्यै पनि प्राथमिकताका साथ काम गरिने विषय बन्न सकेनन् । कल्याणकारी कोष त कुनै मन्त्री वा साँसद वा उच्च पदस्थ सरकारी कर्मचारीको बिदेश भ्रमणका लागि खर्च निकाल्ने कोष बनाइएको छ । यो हामीजस्ता एक हजार बुझाएर आएका श्रमिकका लागि अत्यन्त दुःखको विषय हो । 

काबुल घटना पछिको उद्दारमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको तत्परता स्वागत योग्य छ । सो घटनाबाट सुरु भएको तदारुकता वर्तमान प्रधानमन्त्रीमा पनि देखिएको छ । विभिन्न देशका जेलमा रहेका नेपाली युवाको विवरण तयार पार्न होस् वा मानव तस्कारले श्रीलंका पुर्याएका नेपाली महिलाको उद्धारमा होस् प्रधानमन्त्री प्रचण्डले देखाएको चासोले राम्रो संकेत गरेको छ । यसले आगामी दिनमा बैदेशिक रोजगारीमा समस्या आइपर्दा केहि मद्धत सरकारले गर्छ भन्ने विश्वास बढेको छ । आशा छ यो सकारात्मक पहल आगामी दिनमा अझ बढ्दै जानेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय