आत्महत्याबाट कसरी जोगिने ?

काठमाडौं, भदौ २७ 

जानीजानी, आफुखुशी अर्थात कसैको दबाबमा नपरी आफ्नो जीवनको अन्त्य गर्नुलाई आत्महत्या भनिन्छ । ‘आत्महत्या’ शब्दले आत्माको हत्या जनाउँछ । तर ‘आत्मा’ को हत्या गर्न सम्भव छैन । स्वयंले गरेको शरीर हत्यालाई नै आत्महत्या भन्ने गरिन्छ । पछिल्लो समयमा बैदेशिक रोजगारीमा आत्महत्या एउटा चिन्ताको विषयका रुपमा अगाडी आएको छ । हृदयाघात, दुर्घटनापछि आत्महत्या नेपाली कामदारको मृत्युको कारण देखिएको छ । त्यसैले आवेग, चिन्ता, तनाव व्यवस्थापन अत्यन्त जरुरी देखिएको छ । 

सवै मानिसहरु बाँच्न चाहन्छन्, सुख चाहन्छन्, घुमफिर गर्न चाहन्छन्, प्रेम गर्न चाहन्छन्, पैसा कमाउन चाहन्छन् आदी आदी । मानवीय इच्छा र आंकाक्षाहरु अनगिन्ती छन् । जसलाई मानिसहरु पुरा गर्न चाहन्छन् । मानिसहरु शरीरमा पिडाहुँदा दुखाई कम गर्न चाहन्छन् । विरामी हुँदा उपचार गरेर निको हुन चाहन्छन् । अर्थात मानिसहरु बाँच्न चाहन्छन् । त्यसैले मानिसहरु किन आत्महत्या गर्छन् ? यो गम्भिर प्रश्न हो ।

सामान्य किसिमले कुरा गर्ने हो भने मानिसहरु आफुलाई आनन्द आउने, खुसी लाग्ने र रमाइलो लाग्ने कुराहरु बारम्बार गर्न चाहन्छन् । तर आफुलाई मन नपर्ने केही गर्न चाहदैनन् । आत्महत्या मानिसहरु किन गर्छन् होला ? भनेर धेरै अध्ययनहरु भएका छन् र आत्महत्याका धेरै कारणहरु पनि भेटिएका छन् । रिस थाम्नै नसकेर पनि मानिसले अरुको ज्यान लिन पनि सक्छ र आत्महत्या गरेर आफ्नो ज्यान दिन पनि सक्छ ।

सहन नसक्ने घटना वा समाचारको कारण पनि आत्महत्या हुने गरेका छन् । निको नहुने वा उपचार हुन नसक्ने रोग लागेर पनि आत्महत्या हुने गरेका छन् । इज्जत लुटिँदा, ज्यादै अपमानित हुनु पर्दा, आर्थिक हानी नोक्सानी र प्रेममा असफल हुँदा पनि आत्महत्या भउका छन् । निश्चित रुपमा के भन्न सकिन्छ भने, प्रत्येक आत्महत्याका घटना खास कारणले हुन्छन् । ती कारणहरु प्रष्ट हुन पनि सक्छन् या थाहा पाउन नसकिने खालका पनि हुन सक्छन् । विश्व स्वास्थ्य संघको रिपोर्ट अनुसार प्रत्येक वर्ष संसारका नौ देखि १० लाख मानिसहरु आत्महत्या गरेर ज्यान फाल्छन् । के उनीहरुको ज्यान बचाउन सकिन्थ्यो होला ?

नेपालमा पहिले गरिएको एउटा अध्ययन अनुसार प्रत्येक एक लाख जनसंख्यामा नौदेखि दस जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । अर्थात प्रत्येक वर्ष दुई हजारदेखि तीन हजार व्यक्तिले नेपालमा आत्महत्या गर्ने सम्भावना देखिन्छ ।

तर सन २०१५ को अर्को एउटा रिपोर्ट अनुसार नेपालमा वर्षेनी करिव ६ हजार ८ सय ४० जनाले आत्महत्या गर्छन् अर्थात एक लाखमा करिव २५ जनाले आत्महत्या गर्छन् । यो तथ्याङ्कले आत्महत्याले जनस्वास्थ्य समस्याको रुप लिइ सकेको देखाउँछ । अव आत्महत्याका कारणहरु वारे केहि चर्चा गरौं । विभिन्न अध्ययनहरुले आत्महत्याको मुख्य कारणमा केहि मानसिक रोगहरु हुन् भन्ने देखाएका छन् ।

आत्महत्या हुने कारण त धेरै छन् । तर ति मध्ये करिव ७० देखि ८० प्रतिशत आत्महत्याका कारण तल उल्लेखित रोग र समस्याहरु हुन् । जसलाई बेलैमा उपचार गरेर आत्महत्या कम गर्न सकिन्छ ।

१. डिप्रेसनः डिप्रेसन एक प्रकारको मानसिक रोग हो । डिप्रेसनमा मन उदास हुने, कुनै कुरामा चाख नलाग्ने र शरीर अत्यन्त शिथिल र कमजोर भएको अनुभव हुन्छ । कुनै कुरामा पनि चाख नलाग्ने भन्नाले वोल्न, हाँस्न, रमाउन, कुरा गर्न, खान, लाउन, प्रेम गर्न आदीमा चाख लाग्दैन । रोग छिप्पिदै गएपछि बाँच्न पनि इच्छा लाग्दैन र मर्न पाए हुन्थ्यो भन्ने विचार वारम्वार आउँछ । कसरी मर्ने वा आत्महत्या गर्ने भन्ने सोचाइ जति बलियो हुदै जान्छ त्यति बेला आत्महत्या गर्ने सम्भावना वढ्छ ।

२. रक्सीको लतः रक्सिको लत लागिसकेपछि पारिवारिक, सामाजिक, आर्थिक र स्वास्थ्य सम्वन्धि समस्याहरुले यति बढी पिरोल्न थाल्छन् कि केहि प्रतिशत व्यक्तिहरुले रक्सि छाड्न पनि सक्दैनन्, आफ्नो समस्या सुल्झाउन पनि सक्दैनन् र आत्महत्याको वाटो रोज्छन् ।

३.  केहि दिर्घरोगहरु जस्तै धेरै दुख्ने खालको वाथरोग, केहि क्यान्सरहरु, नियन्त्रण नभएको छारे रोग, एचआइभीरएड्स लगायतका पिडितहरुले पनि आत्महत्या गर्ने डर हुन्छ ।

४. किशोर, किशोरीहरु जसले पढाईमा चाहेजति राम्रो गर्न सक्दैनन् वा वावु आमाको अझ राम्रो गर, सबैभन्दा राम्रो बन्नु पर्छ, हामीले यतिका पैसा तेरो पढाईमा लगानी गरेका छौं, हाम्रो इच्छा पुरा गर्नु प¥यो जस्ता मनोभावनामा ठेस पुग्ने दबाबले पनि आत्महत्या गर्ने सम्भावना बढ्छ । यस्तो दबाबमा उनीहरुलाई राम्रो गर्न नसकेकोमा हिन भावना उत्पन्न हुन्छ, आफ्नो भविष्य छैन जस्तो लाग्छ अनी आत्महत्या गर्छन् ।

५. वैवाहिक जीवन असफल, पिडा दायक, यातना दिने खालको परिवार र कतैबाट जीन्दगी जीउने आधार भेटिएन भने आत्महत्याको वाटो रोज्ने सम्भावना वढी हुन्छ । अर्थात लगातारको मानसिक तनावका कारण पनि मानिस आत्महत्या गर्न अग्रसर हुन्छ ।

विभिन्न अध्ययनहरुले आत्महत्याको प्रयास गर्ने मध्ये झण्डै १६ प्रतिशत जतिले केहि वर्ष भित्रै फेरी आत्महत्याको प्रयास गर्छन् भन्ने देखाएको छ । आत्महत्याको प्रयास गर्नेहरुको कारण पत्ता लगाई उपचार वा समस्या समाधान गर्दा आत्महत्या घटाउन सकिन्छ । आजकल किशोर–किशोरीहरुमा पनि आत्महत्याका घटना देखिन थालेका छन्, यो पनि धेरै चिन्ताको विषय हो । किशोर–किशोरीहरुमा आत्महत्याको कारण भावनात्मक पिडा मानिन्छ र यसतर्फ परिवार र स्कुलको वातावरण तर्फ ध्यान जानु पर्छ ।

आत्महत्या गर्न सक्ने खतरालाई कसरी चिन्ने ?

–    आत्महत्या गर्ने विचार वारम्वार मनमा आउन लागेपछी त्यस्ता व्यक्तिले  कुनै रुपमा आफ्नो विचार पोक्छन् । जस्तैः जीवन निराश छ, अब भेट नहुन पनि सक्छ, जीवनको कुनै सार छैन, सपनाहरु कुनै सफल भएनन् आदि ।

– कुनै निराश मानिसले विष, हातहतियार वा डोरी किनेर घरमा ल्याउँदा सजग हुनुपर्छ ।

– जोखिममा रहेका व्यक्तिले आफ्ना महत्वपूर्ण सामग्रीहरु अरुलाई दिन वा वाँड्न थाले भने पनि शंका गर्नु पर्छ ।

– ठूलो आर्थिक संकटमा परेका, जागिर गएको वा डिभोर्स वा ठूलै झगडा परेका मानिसहरु टोलाएर वस्न, केहि काम गर्न नखोज्ने, अरुसँग घुलमिल नहुने आदि भए पनि शंका गर्नुपर्ने हुन्छ ।

– यसैगरी पहिले आत्महत्याको प्रयास गरेका व्यक्तिल फेरी आत्महत्याको प्रयास गर्ने सम्भावना रहन्छ ।

आत्महत्यालाई कसरी रोक्न सकिन्छ ?

आत्महत्यालाई पूर्ण रुपमै रोक्न नसके पनि धेरै हदसम्म घटाउन भने सकिन्छ । आत्महत्याका कारण मानिने नकारात्मक असरहरु घटाउन सके आत्महत्याका घटना धेरै हदसम्म कम गर्न सकिन्छ । यसका लागि निम्न प्रयास गर्नु राम्रो हुने छ ।

१. मानसिक र सामाजिक स्वास्थ्यमा ध्यान दिने

विभिन्न मानसिक रोगहरु जस्तै डिप्रेसन, मानसिक असन्तुलन, मद्यपानको कुलत, लागूपदार्थ दुव्र्यसन, केहि दिर्घ रोगहरु, छारे रोग, एचआइभी÷एड्स आदिका कारण आत्महत्या हुने भएकाले यस्ता समस्याहरुको पहिचान गर्ने र उपचार सेवामा सुधार ल्याउने हो भने यिनै कारण हुने आत्महत्या घटाउन सकिन्छ ।

यसैरी महिलाहरुमा गर्भवती भएको बेला र बच्चा जन्मेको केहि हप्ता भित्र पनि आत्महत्या गर्ने सम्भावना अन्य महिलाको तुलनामा वढी भएको देखिएको छ । उपचार नपाएको डिप्रेसन यसको मुख्य कारण हुनु पर्छ भन्ने धेरै विशेषज्ञहरुको राय छ । गर्भवती भएको वेला महिला जचाँउन आउँदा र वच्चा जन्मेपछी ६ देखि ८ हप्तासम्म डिप्रेसन छ की छैन परिक्षण गर्नु नै यसरी हुने आत्महत्या घटाउने तरिका हो ।

२. रिसको झोकमा वा आवेगमा आएर तुरुन्तै आत्महत्या गर्ने वाहेक अन्य आत्महत्या गर्ने सोचाई अलिअलि गरेर आउने र विस्तारै वढ्दै जाने हुन्छ । अर्थात आत्महत्या गर्ने विचार आउँछ वा आउदैन सोधेर पनि पत्ता लगाउन सकिन्छ । आत्महत्या गर्ने विचार आएकाहरुलाई राम्रो उपचार र काउन्सिलिङ गर्न सके आत्महत्या रोक्न सकिन्छ ।

केही आमाले साना वच्चालाई मारेर आत्महत्या गर्ने गरेको पनि देख्न वा सुन्न पाइन्छ । यस्तो प्राय डिप्रेसनका कारणले हुन्छ । डिप्रेसनमा बाच्न मन लाग्दैन, भोक लाग्दैन र थकाई बढी लाग्छ । यस्ता आमाले मायाका बच्चाको हत्या गर्छन् । किनकी उनीहरुको मनमा आत्महत्या गर्ने सोच आउको हुन्छ । अनि उनीहरु म मरें भने बच्चाको हेरचाह कसले गर्छ रु बच्चादे दुःख पाउँछ भन्ने सोचाई राख्छन् र बच्चाको हत्या गर्छन् । त्यसैले यस्ता अमालाई समयमै उपचार गर्न सके शिशु र आमा दुबैको ज्यान जोगाउन सकिन्छ ।

आत्महत्या गर्नु अघि लेखिएको सुसाइड नोटको अध्ययन गर्दा धेरै जनाले भावनात्मक पिडासहन नसकेर मृत्युवरण गर्ने निर्णय गरेको देखिन्छ । भावनात्मक पिडाका कारणहरुमा पारिवारिक, आर्थिक, सामाजिक, शारीरिक र मानसिक आदि पर्छन् । आत्महत्या गर्न चाहने  व्यक्तिले मर्न वाहेक अन्य विकल्पहरु नदेखेको आत्महत्याको बाटो रोज्छ ।

आजकाल स्मृति ध्यानले आफ्ना भावनाहरु चिन्न, त्यसको व्यवस्थापन गर्न र भावनात्मक पिडाको निकास खोज्न धेरै सहयोग गर्छ र आत्महत्या घटाउन सकिन्छ भनेर स्मृति ध्यान सिकाइन्छ । डिप्रेसन, चिन्ता रोग, लागूपदार्थ दुव्र्यसन, मद्यपानको उपचारसँगै स्मृति ध्यान पनि सिकाउने हो भने आत्महत्या कम गर्न सकिन्छ ।

स्वास्थ्य खवर पत्रिकाबाट साभार 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय