हिन्दी फिल्म ‘बारबार देखो’ भन्दा नेपाली फिल्म ‘६क्का पञ्जा’ले तान्यो दर्शक  

काठमाडौं – प्रदर्शनको दोस्रो दिनमा फिल्म ‘६क्का पञ्जा’ले उल्लेख्य व्यापार गर्नुका साथै राजधानीका केही हलहरुमा नयाँ रेकर्डसमेत तय गरेको छ। करिब ८० हलहरुबाट प्रदर्शनमा आएको फिल्म शनिबार देशभरका लगभग सबै हलमा हाउसफुल भएको वितरक गोपालकाजी कायस्थको दाबी छ।

राजधानीका गोपीकृष्ण र अष्टनारायण हलमा दीपाश्री निरौला डेब्यु निर्देशित ६क्का पञ्जाले पछिल्लो समय ‘हिट’ भएका नेपाली फिल्महरुको तुलनामा नयाँ रेकर्ड बनाएको छ। गोपीकृष्णको हाल रहेको सात पर्दामध्ये ६क्का पञ्जाले शनिबार ६ वटा पर्दा एकैसाथ कब्जा ग¥यो भने चारवटा हल भएको अष्टनारायणमा पनि शनिबार दिउँसो सबै हलमा आफ्नो कब्जा जमाउन सफल रह्यो।

महाप्रबन्धक तीर्थ पौडेलका अनुसार सञ्चालनमा आएको २१ वर्षमा गोपीकृष्णमा नेपाली फिल्मको अहिलेसम्मकै नयाँ रेकर्ड हो। किनकी अहिलेसम्म कुनै पनि नेपाली फिल्म ६ वटा हलमा एकैसाथ रिलिज भएका थिएनन्। ‘चार वा पाँचवटा सम्म त कब्जा गरेको थियो तर झन्डै १२ सय सिट क्षमताको गोपी हलसहित ६ वटा पर्दा दिनभर एउटै फिल्मले कब्जा गर्नु भनेको हाम्रो लागि नयाँ अनुभव हो,’ नेपाली फिल्मलाई हेला गरेको आरोप खेप्दै आएको गोपीकृष्णका महाप्रबन्धक पौडेलले सो आरोप खण्डन गर्दै सेतोपाटीसँग भने, ‘राम्रो चल्यो भने हामी जति पनि हल दिन्छौं भन्ने उदाहरण पनि हो यो।’ 

रिलिज भएको पहिलो दिन गोपीकृष्णमा ६क्का पञ्जाले तीन हलमा गरी कुल नौ शो पाएको थियो। शनिबार भने बिहानैदेखि बेलुकासम्म ६ पर्दामा लगातार चल्दा कुल २४ शो भएको र एक शोमा करिब दुई हजार दर्शकले फिल्म हेरेको पौडेलको दाबी छ। गोपीकृष्णमा पछिल्लो समय अनमोल केसी अभिनित ‘ड्रिम्स’ ले गोपीसहित एकैसाथ चारवटासम्म पर्दा पाएको थियो।

बताइएअनुसार शुक्रबारै रिलिज भएको क्याट्रिना कैफ र सिद्धार्थ मल्होत्रा स्टारर हिन्दी फिल्म ‘बार बार देखो’को व्यापारमाथि ६क्का पञ्जाको धक्का लागेको छ। सो फिल्मलाई गोपीकृष्णले नेपाल वितरण गरेको हो। स्रोतको भनाइमा आफैंले वितरण गरेकाले गोपीकृष्णले सो हिन्दी फिल्म हटाएन। नत्रभने सातैवटा पर्दा ६क्का पञ्जाले ओगट्ने थियो। पौडेलले यो कुरा स्वीकारेनन् तर यसोचाहिँ भने, ‘आफ्नो लगानी परेकाले माया लाग्ने भइहाल्यो। हिन्दी फिल्मको व्यापार पनि राम्रै छ। तर, हिन्दीको भन्दा ६क्का पञ्जाको व्यापार धेरै माथि छ।’

त्यस्तै, अष्टनारायणका त्रिरत्न मानन्धरका अनुसार श्रीकृष्ण श्रेष्ठको निधन भएपश्चात् ‘कोहिनुर’ हेर्न जम्मा भएको दर्शकको भीडभन्दा ६क्का पञ्जाको भीड ठूलो देखिएको छ। ‘१६ वर्षअघि खुलेको अष्टनारायणमा अहिले चार पर्दा छन्,’ उत्साहित हुँदै मानन्धरले भने, ‘चारवटा हल बनेपछि एउटै फिल्मले सबै पर्दा ओगटेको यो पहिलो घटना हो। दिउँसो दुई बजे त आठवटा हल भएको भएपनि दर्शक अटाउँथेनन् होला।’ अष्टनारायणमा ६क्का पञ्जाले शनिबार कुल ११ शो पाएको मानन्धरले बताए।

छक्का पञ्जास् दर्शकलाई ‘सुपर डुपर’ मनोरञ्जन

शनिबार बाराही हलका तीनवटै पर्दामा पनि दिनभर ६क्का पञ्जा नै प्रदर्शन भएको जानकारी प्राप्त भएको छ। राजधानीका अन्य एउटा मात्र पर्दा भएको हल मात्र नभइ दुईवटा भएका सबै हल हाउसफुल भएको वितरक कायस्थले बताए। झन्डै तीन दशकदेखि फिल्म वितरण गर्दै आएका कायस्थले अहिलेसम्मको वितरण अनुभवमा ६क्का पञ्जाकोजस्तो सुरुवाती माहोल अहिलेसम्म कुनै पनि फिल्मको नदेखेको बताए।

आठवटा पर्दा भएको गुण सिनेमाको एउटा मात्र पर्दामा मात्र लागे पनि हजार सिट क्षमताको हलमा प्रदर्शन भएकाले शनिबार मात्रै करिब चारहजार दर्शकले ६क्का पञ्जा हेरेको गुण सिनेमाका प्रमुख महेशकिजु श्रेष्ठले जानकारी दिए।

फिल्मले राजधानीका मल्टिप्लेक्सका हलहरुमा समेत उत्तिकै कब्जा जमाउन सफल भएको छ। एफक्युब, क्युएफएक्स, क्युज र बिग सिनेमागरी राजधानीका यी मुख्य मल्टिप्लेक्समा फिल्मले उल्लेख्य शो पायो।

चाबहिलस्थित एफक्युबमा शुक्रबार ७ शो पाएको फिल्मले शनिबार नौ शो पाएको थियो। सिभिल, लाबिम, जय नेपाल र कुमारीगरी चार हल सञ्चालन गर्ने क्युएफक्समा शुक्रबार १४ शो प्रदर्शन भएको थियो भने शनिबार पनि उत्तिकै तोकिएको थियो। तर, दर्शकको संख्या बढेपछि शनिबार दुई शो थप्दा कुल १६ शो प्रदर्शन भयो। फिल्मले मंगलबारसम्म हरेक दिन १४ का दरले शो पाएको छ।

त्यस्तै, दरबारमार्गस्थित क्युजमा शुक्रबार ६ शो पाएको ६क्का पञ्जाले शनिबार कुल नौ शो पाएको थियो। कमलपोखरीस्थित बिग सिनेमामा शुक्रबार नौ र शनिबार ११ शो पाएको थियो। 

फिल्मको सुरुवाती व्यापार सुखद पाएपछि निर्देशक दीपाश्री निरौलाले व्यक्त गर्न नसकिने अनुभव रहेको बताइन्। ‘सुरुमा दर्शक आउँछन् भन्ने विश्वास त थियो,’ दिनभर राजधानीका हल चाहारेकी दीपाश्रीले अनुभव साटिन्, ‘तर, मनमा दर्शकले के भन्लान् भन्ने एकखाले डर पनि थियो। अहिले सबैले राम्रो भनेपछि मलाई त त भीडमा हुँदा पनि सन्नाटमा बसेजस्तो भइरहेछ। के भएको होला यो, कहाँ छु म, साँच्चै भएको हो कि सपना होजस्तो अन्योलमा छु म त।’

‘कुनै बेला लाग्थ्यो, म काठमाडौं किन्दिन्छु’

उनले ठट्टासमेत गर्न भ्याइन्, ‘वडा नम्बर ६ को सुर्के थैलीमा नाचेकी केटी ६क्का पञ्जामा अहिले फुर्के भएकी छे।’ यसअघि ६ एकान ६, वडा नम्बर ६जस्ता हास्यप्रधान फिल्म बनाएका दीपकराज गिरी, दीपाश्री निरौलालगायत हास्य कलाकारको समुहको निर्माण रहेको फिल्ममा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, बुद्धि तामाङ, वर्षा राउत, नम्रता सापकोटालगायतले अभिनय गरेका छन्।

यो समाचार सेतोपाटीमा समुन्द्रराज घिमिरेले लेखेका हुन्  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय