काठमाडौं- मलेसियास्थित नेपाली दूतावासले वैदेशिक रोजगार प्रबर्द्धन बोर्डबाट कामदारको उद्धार र संरक्षणका निम्ति भन्दै लगेको लाखौं रुपैयाँ फजुल काममा खर्चेको खुलासा भएको छ । २०६९ फागुन ३० मा फिल्म निर्माता तुलसी घिमिरे मलेसिया गएका थिए । उनलाई तत्कालीन कार्यवहाक राजदूतले २ सय ५३ रिंगेट (करिब ७ हजार रुपैयाँ) खर्चेर लञ्च दिएको बिल वैदेशिक रोजगार कल्याणकारी कोषको रकमबाट बेहोरिएको पाइएको छ । सोही मितिमा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडाल ३७ जनाको जम्बो टोली लिएर दूतावास पुगेका थिए । उनीसहितको ४५ जनाको सत्कारमा दूतावासले १ सय ७३ रिंगेट खर्चेको बिल देखिन्छ । त्यो श्रमिककै कोष हो ।
आर्थिक वर्ष २०७१-७२ मा दूतावासले कामदारको उद्धार र कानुनी उपचारका निम्ति भन्दै २० लाख र अतिरिक्त कर्मचारीको खर्च भन्दै १८ लाख रुपैयाँ लगेको थियो । २०७२-७३ मा २७ लाख रुपैयाँ लगेको छ । यीसहित ०६५-६६ देखिकै ७१ लाख ६८ हजार ८ सय ८ रुपैयाँ दूतावासले अहिलेसम्म फछ्र्योट गरेको छैन । फछ्र्योट गर्न बोर्डले दबाब दिएपछि दूतावासले पछिल्ला केही खर्चका बिल–भर्पाइसहित विवरण पठाएको छ । त्यसलाई केलाउँदा अचम्मलाग्दा खर्चमा कोष दुरुपयोग भएको देखिन्छ ।
२०६९ चैत १५ मा दूतावासमा भ्याकुम लाउँदाको २५ रिंगेट कोषको रकमबाट खर्चिएको देखिन्छ । स्यान्डविच, बदामदेखि क्रिमवाला बिस्कुट खाएको खर्चसमेत दूतावासले कोषकै रकमबाट खर्चने गरेको छ । कतिसम्म भने राष्ट्र बैंकका गभर्नरलाई दूतावासदेखि एयरपोर्ट पुर्याउँदा लागेको खर्च र उनलाई कफी पिलाएको रकमसमेत कोषबाटै बेहोरिएको छ । परराष्ट्र मन्त्रालयबाट पुगेका सहसचिव अर्जुनकान्त मैनालीको खातिरदारीमा दूतावासले ९८ रिंगेट खर्चेको बिल पेस गरिएको छ । त्यस्तै राति अबेरसम्म काम गर्दा कर्मचारीले खाएको चिकेन आइटम, चिसो पेय पदार्थमा ६९ रिंगेट पनि कोषकै नाममा पारिएको छ ।
वैदेशिक रोजगारमा जाने कामदारबाट जनही एक हजार रुपैयाँ उठाएर उनीहरूको उद्धार र संरक्षणका निम्ति खोलिएको वैदेशिक रोजगार कल्याणकारी कोषको रकम व्यापक दुरुपयोग भएको हो । कोषमा अहिले करिब साढे तीन अर्ब रुपैयाँ छ । यसको उपयोग विदेशमा अलपत्र परेका कामदारको उद्धार, न्यायिक उपचार र शव ल्याउनभन्दा राजदूत र दूतावासका कर्मचारीको सेवा सुविधामा मनोमानीमा भइरहेको छ । मलेसियाको क्वालालम्पुरस्थित दूतावासले उक्त कोषबाट नियम मिचेर विभिन्न प्रयोजनका निम्ति जथाभावी रकम खर्चेको प्रमाण कान्तिपुरले फेला पारेको हो ।
२०६९ चैत २ मा राजदूतको कोठा सफा गर्दा २ सय १३ रिंगेट खर्च भएको देखिन्छ । त्यसको व्ययभार कामदारको हितका निम्ति भन्दै खडा गरिएको कोषलाई बोकाइएको छ । २०६६-६७ मा दूतावासले घरमर्मतदेखि फर्निचर, नोटिस बोर्डदेखि मोनिटर र प्रिन्टर किन्नसमेत कोष खर्च गरेको छ । यस्तै दुरुपयोग त्यसपछिका वर्षहरूमा पनि लगातार गरिएको प्रमाण फेला परेका छन् । उक्त आर्थिक वर्षमा घर मर्मत गर्न ३ हजार ६ सय ६० रिंगेट खर्च भएको देखिन्छ भने योसहित अन्य शीर्षकमा कुल ५ लाख १२ हजार ७ सय ६८ रुपैयाँ खर्चिएको छ । कोषको रकम यसरी अन्य प्रयोजनमा खर्चिनु गैरकानुनी हो । आर्थिक वर्ष ०६७-६८ मा कानुनी सहायताका निम्तिभन्दा धेरै रकम दूतावासका निम्ति गाडी किन्न खर्च भएको देखिन्छ । १८ लाख ८६ हजार ७ सय ९ रुपैयाँ २०६८ असार ३१ मा गाडी किन्नमा खर्चिएको देखिन्छ ।
दूतावासले कामदारको हितका निम्ति भन्दै रकम माग्ने र बोर्डले पठाउने गरे पनि वर्षौंदेखि लाखौं रुपैयाँको हिसाबकिताब दूतावासले पठाएको छैन । बोर्डका एक कर्मचारीले भने, ‘निजी प्रयोजनका काममा कोषको रकम खर्चिएका थुप्रै प्रमाण छन् ।’ स्रोतका अनुसार कोषको लाखौं रुपैयाँ दुरुपयोग गरेको र हिसाब फछ्र्योट नगरेको दूतावासले फेरि ५३ लाख रुपैयाँ खर्च मागेको छ । मलेसियास्थित विभिन्न सञ्चारमाध्यमबाट नेपाली कामदारका निम्ति चेतनामूलक सूचना प्रसारण गर्ने भन्दै दूतावासले त्यति धेरै रकम मागेको हो ।
कान्तिपुरबाट