तातो खाडीको कडा रमादान भोग्दै गैर मुस्लिमहरु

हरिकृष्ण न्यौपाने, कुवेत

काम बिशेषले जुन १८ को दिन कुवेत सिटी जानु पर्ने थियो। बिहानको ११ बजे सार्क पुगीसक्नु पर्ने भएकोले बिहान १०ः०५ बजे फिन्तास बस स्टप पुगें। बिहान ४ बजे नाइट डिउटीबाट फर्केकोले हल्का अनिदो अनी कुवेतको गर्मी र केही धुलाम्य मौसम। सधैं झै ५ १० मिनेटमा आउने बसलाई रमादानको कारण ३५ मिनेट कुर्नु पर्यो । ३५ मिनेटसम्म बाहिरी तातोको कारण भित्री कपडा करिब करिब भिजी सकेको थियो। मसँगै बस कुर्ने केही अन्य देशका नागरिकहरु बस लामो समय कुर्नु परेकोमा बस कम्पनीलाई सराप्दै थिए।  

यतिकैमा सिटी बस आयो। ड्राइभर नेपाली दाई नै रहेछन। करिब ७ ८ जना चढे पछी म पछी पछी बस चढें । बसमा अरु यात्री थिएनन । त्यहीबाट चढेका मात्रै।

म ड्राइभर दाईकै छेउमा बसेँ। बसमा एसी बिग्रिएको रहेछ। सबै यात्री एसीकै बारेमा गाली गर्दै थिए । ति दाई भने अहिलेको ट्रिपबाट मात्र एसीले काम नगरेको र अरु बस कम भएकोले १/२ ट्रिप पछीमात्र ग्यारेज जान कम्पनीले भनेको सबैलाई सम्झाउँदै थिए। बसमा यात्रिहरु चढ्ने र ओर्लने अनी एसीको बारेमा बहस चली रह्यो। ती दाइले अरबिक भाषामा सबैलाई चित्त बुझाउदै गरे।

ति दाई मकवानपुरका रहेछन। ठट्यौली पारामा उत्तर दिने दाई बोलाइया रहेछन। उनी आफैं पनि एसी बिनाको ठुलो गाडी चलाऊँदा, बाहिरी अत्याधिक तातो हावा, तातो सडकका कारण करिब-करिब पसिनाले भिजेका थिए। उनले भनेः नेपालमा दिनभर भारी बोके पनि यस्तो पसिना आउन्न, यहाँ त एक घण्टामै भिजायो। उनले आफ्नो पिडा खोले अनी भने, “कुवेतको खाडी, ठूलो गाडी, तातो सडक तातै गाडीम सुनी रहेँ। उनले आफ्नो पिडा पोख्दै गए।

रमादानमा कम यात्री हुने कारण कम बस चल्ने अनी मुस्लिम धर्मका ड्राइभरलाई सकेसम्म बेलुकीको डिउटी दिने हुनाले धेरै दौडिनु पर्ने उनले बताए। उनले थपे “दिन भर खाने कुरा त रमादानमा नसोचेनी भो। पानी पिउन पनि पाइन्न। यस्तो तातो छ, कतै धारो पाए भने मुख धोए जस्तो गरी पानीले मुख भिजाउथे।” उनले थप्दै गए “डिउटिको ठेगान नहुने, सधैं सडकमा कुदेको कुद्यै गर्नुपर्ने, ट्वाईलेट बस्ने समस्याको त कुरै छोडै दिसापिसाब शरीरमै सुक्छ। यो कम्पनीमा ४ बर्ष हुन लाग्यो, छुट्टीको दिन बाहेक एक छाक खाएको ४ बर्षै हुन लाग्यो। रमादान नहुँदा पनि प्लास्टिक कपको चिया र ब्रेडको खाना हो।बस दौडाउँदै गर्दा चिया पिउने र समोसा वा रोटी केही खाने हो ।” उनी भन्दै गए “कहीं रोक्नै नपाउने, खान नि समय नपाउने । पेट्रोल हाल्दा वा कतै स्टेशनमा शौच पनि हतारमा। अब त बानी परी सक्यो । एक छाकको खानाले होला ग्यास्टिक बढेर अल्सर पो होला जस्तो भएछ।” 

कुरा गर्दा गर्दै गर्मीको त्यति वास्तै भएन । म मजाया टावरको छेउ पुग्न लगे पछी उनले भने, “कुवेतको गरिम-रमादान करिम, तपार्इ हाम्रो भेट खाली पेट, धर्म बैगुनी, घाम छउन्जेल पानी पिउननी नहुनी।” मैले उनलाई ओर्लने संकेत गरेपछी, मजाया टावर अगाडी गाडी रोके र भने, “नभन्नु गफाडी ड्राइभर दाई, अहिलेलाई बाइ।” उनलाई मैले पनि तपाईंको कुरा मन पर्योै भन्दै बिदा भए।

मैले उनको भावना र काम प्रतीको सम्मान अनी बाध्यतालाई सलाम गरे। उनको दैनिकी साँच्चै कष्टकर रहेछ। झन रमादानमा बाहिर अरुले देख्ने गरी केही खाए, केही पिए वा रोजा भंग हुने कुनै काम गरे १ महिना जेल वा १०० केडी जरिवाना वा देश निकाला वा तीनवटा नै सजाय पाउने भएकाले उनको एक छाकमा दिन भरको रोजाले खाली पेट गाडी कुदाउनु पर्ने वाध्यता रहेछ। तैपनी भन्नै पर्यो उनकै शब्दमा ‘कुवेतको गरिम- रमादान करिम।’ 

(यो लेखले कुनै पेशा, कम्पनी वा धर्मावलम्बी माथी कुनै प्रकारको आक्षेप लगाउन नखोजिएको र ड्राइभरदाइको आफ्नै भोगाइलाई प्रस्तुत गरिएको जानकारी गराउदछु।)

यो पनि पढ्नुहोस् 

तीन लाख पाउन अझै कति समयसम्म विदेशमै मर्नुपर्ने हो ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय