
मेघराज सापकोटा, युएई– ‘तिमीले नि लाएछौ नि खादा‘ कस्तो निचोरिएको रिस उठ्ने बोली ? उनले अली होच्याए जस्तो गरी इनबक्स गरे । लाउँछु त नि मलाई मायाले पहिर्याइ दे‘को हो, मलाई सम्मान गरेको हो, मैले जवाफ फर्काएँ । अनी तिमी पनि त्यही नलगाउने ‘ग्याँग‘को रे त नि । उनले मेरो ‘ग्याँग‘ तोकिदिए पछी चाही मलाई नि पारो तात्यो । केही समय पहिले २-४ करोड कुम्ल्याएर भाग्ने ‘हुण्डी समाजसेवी‘को फोटो पठाइदिएँ उनको इनबक्समा र भनें, मलाई यस्तो समाजसेवी भएर खादा ओढ्नु छैन । कि खादा ओढ्दिन कि ओढेपछी यस्तो काम गर्दिन ।
उनी झन टेढा-टेढा कुरा गर्न थाले बा । त्यसपछी त सुनबुडा समाजसेवीको समाचारहरु पठाइदिएँ । कलाकार भन्दै पैसा लिदै गैर कलाकार युवतीहरुलाई युएई ल्याउने समाजसेवीहरु बारेको समाचार पठाइदिएँ । र, भनें, यस्तो समाजसेवी बनेर चाहिं खादा ओढ्दिन । “तिमी बाहुन भएर यस्तो कुरा गर्दैछौ”, उनले यस्तै जवाफ फर्काए । हुन त उनी पनि बाहुन नै हुन तै पनि मलाई चिढ्याएर केही बोल्न वाध्य बनाउदै थिए ।
मैले युएईमा बसेर गाउँमा कम्प्युटर अभियान संचालन गरेका समाजसेवी भुवन गुरुङको स्ट्याटस सहितको अर्को फोटो पठाइदिएँ । गुरुङले १३ अप्रिलमा एउटा स्ट्याटस लेख्दै भनेका थिए ‘नयाँ बर्षको सुरुवात सँगसँगै मानव तस्कर, हुण्डीवाला, सुन तस्कर, हत्यारा, चोर, फटाहा र जालीहरुलाई पवित्र खादा ओढाइ खादाको मर्म मुल्य र मान्यताको अपमान नगरौ ।‘ उनले जवाफ फर्काउने ठाउँ नै पाएनन क्यारे चुप लागेर बसे ।
यो बिषयमा पाशांग शेर्पाले भने अली अप्ठेरो तर झट्ट सुन्दा ठीक जस्तो लाग्ने कुरा गरे । ‘खादाले को साधु र को चोर हो चिन्दैन, कसैको निधारमा को के हो भनेर लेखेको पनि हुँदैन । तसर्थ खादा प्रयोग नगरौ भन्ने महानुभावहरुले युएईमा को को बदमास छ्न नामावली जारी गरेर हामीलार्इ पनि सहयोग गर्नु होला ।‘ उनको स्ट्याटसमा यस्तै थियो । यो प्रश्न जटिल तर ‘ओपन सेक्रेट‘ जस्तै हो । प्रायः सबैलाई थाहा छ तर भन्न मिल्दैन । किनकी यस्ता कुराको प्रमाण हुँदैन ।
………………………………………….
झापाली समाजको बिधान पारित तथा आजीवन सदस्यलाई सदस्यता प्रदान गर्ने कार्यक्रम हुँदै थियो । मञ्चमा पत्रकार महासंघ युएईका अध्यक्ष त्रिलोचन कोइराला, नेपाली जनप्रगतिशिल मञ्चका अध्यक्ष हेमन्त पौड्याल र नेपाली समाजका अध्यक्ष सिपी सापकोटा आसिन थिए । बिधान समितिमा आफु पनि रहेको हुनाले म पनि मञ्चमा सँगै थिएँ । अतिथिहरुलाई खादा र ब्याच लगाइएको थिएन । कार्यक्रम अगाडि बढीरहेको थियो । यसै बिचमा ब्याच र खादा सामुन्ने आईपुग्यो । सिपी दाईले ‘अब यो काम नगरौ हो‘ भन्नु भो । सबैले हो मा हो मिलाए । तर कार्यक्रमका सभापति बिकास उप्रेतीले ब्याच र खादा आईसकेको हुनाले लगाउन अनुरोध गरे । हामी सबैले लगायौ । बहसको बिषय बनेन ।
एकजना हितैषी मित्रसँग यही बिषयमा फोनमा कुरा हुँदै थियो, उनी टक्क अड्किए र भने, यो चाँही ‘अफ दि रेकर्ड‘ है । उनले थपे, ‘प्रभु, फोन त रेकर्ड गरेको छैन नि ? मैले पक्का रेकर्ड छैन भन्ने विश्वाश दिलाए पछी उनले २-४ जना समाजसेवी, राजनीतिकर्मी, कलाकार, पत्रकार आदिको नाम भने र यसअघि युएईमा भएका नेपालीका कार्यक्रमका केही तस्बीरहरु हेर्न भने । उनका भनाइमा तिनीहरु पनि त्यस्तै दुई नम्बरी खादाप्रेमी हुन रे । हो रैछ गाँठे । सबको जय होस् ।
ती तस्वीर देखे पछी बडो बिलखबन्दमा परियो । खादाको बिषयमा यसअघि आएको बिबाद ठीक कि बेठिक छुट्याउन सकिन । नलगाउने कुरा ठीक भनौ आफ्नै साथीहरुको मन दुख्ने किनकी यो बौद्द धर्मावलम्बीहरुको धार्मिक आस्थासँग जोडीएको पवित्र चिज हो । लगाउनु पर्छ भनेर बहस गरौ न त तस्बीरमा देखिएकाहरु सँगै बसेर खादा के लगाउनु र ? माथि पाशाङ जी ले भने जस्तो खादाले त चोर र साधु चिन्दैन । हुण्डीवाला र सुनतस्कर पनि चिन्दैन ।
अनी मनमनै निधो गरेँ । बाहिर लगाउँदिन किन भन्नु पर्यो र ? कसैलाई खादा नलगा पनि किन भन्ने ? यसो गर्दा सम्बन्धित धर्मावलम्बी साथीहरुको पनि मन नदुख्ने, अपमान पनि नहुने । धार्मिक आस्थासँग जोडीएको कुरामा एक आपसको मन दुख्ने कुरामा तर्क बितर्क नगरौ भन्ने बिचारमा भने म अहिले पनि अडिग छु ।
……………………..
काम गर्नेले गफ गर्दैन, गफ गर्नेले काम गर्दैन । यो ध्रुब सत्य हो । यिनै काम गर्ने तर गफ नगर्ने मध्येका एक हुन भुवन गुरुङ । धादिङ जिल्लाबाट १२ बर्ष पहिले युएई आएका भुवन गुरुङलाई आफुले कम्प्युटर शिक्षा हासिल गर्न नपाएकोमा कता-कता मनमा नमिठो लागेको थियो । २००७ साल देखी २०६३ सालसम्म आईपुग्दा राजा र शासनमा परिवर्तन त आयो तर जनताको स्तर झन झन गिर्दो अवस्थामा रहेको महशुस भयो । पुराना राजा गए तर नयाँ राजाहरु उदाएको देख्दा मन यसै अमिलो हुन्थ्यो ।
शिक्षामा आधुनिकीकरण गर्न कम्प्युटर शिक्षाको आवश्यकता अनिवार्य छ । अहिलेको सरकार र परिबेशमा सबै बिद्यालयहरुले कम्प्युटर खरिद गर्न सक्लान त ? सबै विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा उपलब्ध होला ? त्यो सम्भव देखिन्न । त्यसो भए हामी आफैं किन नगर्ने ? यस्तै सोच पलायो गुरुङलाई ।
‘समाज आफैं होइन, हामी आफैंले बदल्नुपर्छ’ भन्ने सोच भएका गुरुङले गाउँमा कम्प्युटर शिक्षा अभियान संस्थाको स्थापना गरे । धादिङबाट २०१२ मा सुरु भएको यो अभियान देशैभरि फैलाउने सपना बोकेका गुरुङ यसलाई मूर्तरुप दिने लक्ष्यमा साथ अभियानमा लागेका छन् । सुरुमा धादिङ, ज्यामरुङको श्री शंखा उच्च माविलाई २०१३ जनवरी ७ मा २४ थान कम्प्युटर, १ थान प्रोजेक्टर र एक थान स्मार्ट बोर्ड प्रदान गर्दै अभियानको औपचारिक सरुवात गरे गुरुङले ।
त्यसयता अभियानले दाङ, कञ्चनपुर, लम्जुङ लगायत विभिन्न ५ जिल्लाका विद्यालयमा १ हजार भन्दा बढी कम्प्युटर सहयोग गरिसकेको छ । यस्तै अभियानले कम्प्युटर शिक्षा विस्तार बाहेक सिसी टिभी, शिक्षक छात्रवृत्ति, अस्थाई शिक्षकलाई पोशाक, भुकम्पपीडितलाई सहयोग तथा आर्थिक अभावमा स्वास्थ्य उपचार गराउन समस्यामा परेकाहरुलाई सहयोगसमेत अभियानले गर्दै आएको छ ।
हो, अबको बहस यता मोड्ने हो । यी गुरुङ र गुरुङको अभियानलाई हेरौ र सकेको सक्दो सहयोग गरौ । बहस यसमा गरौ। समाज आफैं होइन, हामी आफैंले बदल्नुपर्छ ।
यो पनि पढ्नुहोस्
दुई बर्षदेखि वेखवर दुर्गा मलेसियाबाट घर फर्केपछि ……………..