महेश भट्टराई, कोलम्विया, अमेरिका
हामी मानव चेतनशिल प्राणी । हाम्रा इच्छा, चाहना र आवश्यकता पनि अनगिन्ति । साच्चै आवश्यकता हो वा महत्वकांक्षा, हरेक मानिसको परिभाषामा फरक पर्न सक्छ । हाम्रो आवश्यकता के हो ? कति भय पुग्छ ? सीमा के हो ? धेरै नै विवादस्पद बिषय ।
सानो वच्चाको इच्छा र आवश्यकता भनेको स्वतन्त्र रुपमा खेल्न पाउनु हो । उसलाई आफ्नो स्वतन्त्रता हनन् गरेको मन पर्दैन । उसलाई पैसाको कुनै सरोकार हुँदैन ।
बयस्क अवस्था तीन त्रिलोक चौध भुवन देख्ने समय । अहम् र महत्वकांक्षाले चुचुरो नाघेको अवस्था । बाबुआमा भन्दा साथीभाई प्यारो । आकासको जुन टिपी दिने मन । पैसाको हाहाकार लागेको अवस्था । युवा अवस्था पढाइ लेखाइ च्याप, जीवनसाथीको खोजी, आफ्नै महत्वकांक्षा, बाबुआमा प्रतिको कर्तब्य, आफ्नै खुट्टामा उभिनु पर्ने चुनौती । जागीर, पैसाको महत्व, जिम्मेवारी, सबै सन्तुलन मिलाउनु पर्ने अवस्था ।
मुख्य प्रश्न भनेको अमेरिकमा एउट तीनचारजना परिवार भएको व्यक्तिले कसरी सरल र सफल जीवन बिताउने ? कति बार्षिक आय भए सकिएला ? निर्धारण कसरी र के को आधारमा गर्ने ?
निश्चयनै उतर सजिलो छैन । हरेक मानिसको ऊत्तर फरक फरक हुन सक्छ । अवस्था र आवश्यकता हेरी । दुई परिवारमा जीवनशैली र सोचमा त अवश्य फरक होला तर मानिसको जीवन त एउटा होइन र ? तेसो भए सामान्य मापदण्ड कति त ?
सामान्यतया नीजि विद्यालयमा बाहेक प्लस टु सम्म सरकारले पढाइदिन्छ । कलेजको लागि छात्रबृत्ति, चन्दा तथा ऋण लगायत विभिन्न विकल्प हुन सक्छ ।
सरसर्ती हेर्दा अनुमानित मुख्य घर खर्चमा स्वास्थ्य विमा, घरको भाडा, बीमा र मर्मत खर्च, कर, विजुली, ग्यास, गाडीको मासिक शुल्क, बीमा तथा मर्मत खर्च, टेलिफोन खर्च, खाना तथा लत्ताकपडा, विदाको समयमा गरिने खर्च मुख्य हुन् ।
मेरिल्याण्ड राज्यको एक तथ्याँक अनुसार बार्षिक आम्दानी ६० हजार देखि १ लाख(सरदरमा ७२ हजार) गर्नेहरु मध्य परिवारमा पर्दछन् ।
सरदर ४० हजार भन्दा कम आम्दानी गर्ने(परिवारको संख्या र आम्दानीको आधार हेरेर) न्यून आय गर्ने परिवारमा पर्दछन् । न्यून आम्दानी भएका परिवारको जीवन संघर्षमय तरिकाले गुज्रिरहेको भएपनि सरकारबाट पाउने स्वास्थ्यय बीमा, कर फिर्ता र अन्यले ठूलो सहयोग गरिरहेको हुन्छ ।
जसले बार्षिक १ लाख भन्दा माथि आम्दानी गर्छन्, उनीहरुका बारेमा यो लेखमा चर्चा गर्न खोजिएको होइन । उनीहरुका समस्या पनि आफ्नै खालका छन् । लगानीको चिन्ता, कर तिर्ने र कर छल्ने चिन्ता, लखपति वा करोडपति बन्ने चिन्ता यस्तै यस्तै महत्वाकाँक्षी सपनाहरु ।
मध्यम परिवारमा पर्ने धेरैजसो परिवार खुशी रहन्छन् वा देखिन्छन् । अनुसन्धानले यहि देखाउँछ । आवश्यकता छ त उपयुक्त रकम व्यवस्थापन र मानसिक सोचको ।
त्यसो भए विदेशमा सफल जीवन कसरी विताउन आवश्यक पर्ने मुख्य कुरा वा आधार के त ? हालै गरिएको अनुसन्धानले निम्न ५ कुरा भएमा सामान्य सुरक्षित सफल जीवन विताउन सकिन्छ ।
१. सुरक्षित जागिर । यदि जागिर गुम्यो भनें पनि अर्को पाइनेछ ।
२. स्वास्थ्य बीमा । स्वास्थ्य बीमा वापतको रकम तिर्न सक्ने तथा स्वास्थ्य सम्वन्धि खर्च तिर्न सक्ने अवस्था ।
३. घर । घरसँग सम्वन्धित सम्पूर्ण खर्चहरु तिर्न सक्ने अवस्था ।
४. बचत गर्र्न सक्ने । आपतकालिन अवस्थाका लागि केहि रकम संचित गर्न सक्ने अवस्था ।
५. विदा मनाउन सक्ने । हरेक बर्ष कम्नीमा ३ देखि ५ दिन बाहिर विदा मनाउन घुमफिर गर्न जानसक्ने अवस्था ।
यदि तपाईसँग यी माथिका ५ बुँदाहरु छ र गर्न सक्नुहुन्छ भनें तपाई मध्यमवर्गिय खुशी परिवारमा पर्नुहुन्छ । खुशी हुनु नहुनु तपाईको कुरा हो । मानिसका ईच्छा र आवश्यकता अनगिन्ति हुन्छन् जुन कहिल्यै पुरा हुँदैनन् । यदि हामीले हाम्रो आवश्यकतालाई निश्चित गरेनौं भने हाम्रो जीवन संघर्षै संघर्षमा वित्नेछ । लोभ, लाभ र अरुसँग तुलना गर्ने हाम्रो बानीले हामीलाई सधैं दुःखी तुल्याउनेछ, बनाइरहनेछ ।
अझै पनि हामी हाम्रा छोराछोरीलाई हाम्रो ईच्छा अनुसार राख्न, बाच्न र पढाउन चाहन्छौं । कतै हामी हाम्रा छोराछोरीलाई कमजोर त बनाइरहेका छैनौं ? अझै हाम्रो मानसिकता बदलिएको छैन । विदेशमा आएरपनि तीन पुस्तालाई पुग्ने सम्पत्ति कमाउन लागि परेका छौं । छोराछोरीहरुलाई अमेरिकाको हावा लागिसकेको यथार्थलाई स्वीकार गर्न अनकनाउँछौं । नर्सिंग होम वा बृृद्धबृद्धा स्याहार केन्द्रमा छिर्ने बाध्यता र दिन नआएसम्म हाम्रो आँखा नखुलेकै त होइन ? न हामी नेपाली बन्न सक्यौं र अमेरिकी । कतै हामी संस्कार र मायाको जालमा आफ्नो खुट्टामा आफैं बञ्चरो हानी राखेका त छैनौं ?
कतै हामी आफूले आफैंलाई बुझ्न र चिन्न नसकिरहेका त छैनौं ? संघर्ष नै जीवन हो भन्नु भन्दा सन्तोष नै जीवन हो भन्नु पर्ने होइन र ? कतै पैसा पैसा र परिवार परिवार भन्दा भन्दै ‘म’ हो हुँ भन्ने आफ्नो परिचय भुलेको त होइन ? जवसम्म ‘म’ को परिभाषा र म” भित्रको महत्वकाँक्षा, घमण्ड र अदुरदर्शिता मैले बुझ्न सक्दिन तवसम्म खुशी ‘म’ बाट टाढा टाढा भागिरहनेछ । एकातिर हामी खुशी खोजिरहेका छौं, अर्कातिर खुशीलाई आफूबाट टाढा टाढा भगाईरहेका छौं ।
“फूलको आँखामा फूलै संसार, काँढाको आँखामा काँढै संसार “
यो पनि पढ्नुहोस्