मेरो नाम बिनोद बिसि हो । घर सुर्खेत जिल्ला लाटिलोइली गाबिसमा पर्छ । म मलेसियामा बेल्मेटर कम्पनीमा काम गर्न भनेर आएको हो । तर बिचैमा एजेन्टबाट बेचिएपछी बिगत दुईबर्ष देखि एमजेसी कम्पनी, पेनाङमा बाध्यात्मक रूपमा काम गर्दै आएको छु ।
सबैभन्दा पहिलो कुरा त मलेसियामा म एउटा पीडित नेपाली श्रमिक हो । म मलेसिया आएको एक बर्षमा मेरो हात काटियो र अहिले मेरो दाइने हातले कुनै पनि काम गर्न मिल्दैन । म कामै गर्र्न नसक्ने अवस्थामा छु तर पनि बाध्यतावस काम गरिरहेको छु । काम कै सिलसिलामा कम्पनीमा मेरो हात काटिए पश्चात् पनि मैले न त कुनै राम्रो उपचार नै पाएँ न त कानुनले तोकेको बिमा नै । हात काटिएको आठ महिना भयो अझैसम्म पनि ठिक भएको छैन । घरमा जाउँ कसरी जानु हात काटिएको छ । परिवारलाई मेरो अवस्था सह्य हुँदैन । मेरो यो हालत हेर्न सक्नुहुन्न । न त मैले नेपाल गएर कुनै काम नै गर्न सक्छु । अब मेरो त जिन्दगी नै बर्बाद भयो । खै कसरी सुनाउँ म मेरा यी वेदना । घरमा दैनिकी चलाउन समेत धौ धौ भएर एउटा जीवनको सुन्दर मार्ग बनाउने लक्ष्य लिएर यो नरकजस्तो भूमि मलेसिया छिरेको म केहि महिना बित्न नपाउदै मेरा ति सुन्दर सपना गुमे । अहिले यो हालतमा आइपुगेको छु ।
सुरुमा बिदेशीने हजारौं साथीहरूको भिडमा भौतारिदै रोजगारको खोजीमा आएको म आफुले भनेको र सम्झौता गरिएको कम्पनी नहुँदाबाट नै ठगिएको थिएँ । म बेचिएपनि भरसक दुःखपूर्वक गुजारा चलाउँदै थिएँ । अब त जीवन धान्न नै मुस्किल पारिदियो मलाई यो मलेसियाले । बिदेश आउन त सायद कसैलाई पनि रहर हुने थिएन होला । सबैलाई आफ्नो आफन्त कै माझमा रमाउदै बस्ने रहर भै नै हाल्थ्यो । तर के भनौ नेपालमा देखिएको राजनीतिक अस्थिरता अनि चरम भ्रष्टाचारको फन्दाले हामीजस्ता युवालाई देश छोडेर हिंड्न बाध्य पारिरहेछ । रोजगारी कै लागि आएका हजारौं नेपाली कोही म जस्तै अपाङ्ग बनी सके त कोहि बाकसमा नेपाल पुगिसके । तैपनि कहिल्यै खुलेन सरकारको आँखा । अनि कहिलै बोलेन सम्बन्धित निकाय ।
हुनत नेपाली भनाइ छ सबैले परेपछि चेत्छन । हो सच्चै अब सबैले चेत्ने बेला आएको छ । यो मेरो मात्र घटना हैन यहाँ कैयौं यस्ता घटना छन जसलाई सायद कमैले नियाल्ने गर्लान ।
त्यसैले अव युवा पुस्ता तपाईं हामी सबैले गम्भीर भएर सोच्ने बेला आएको छ । बाबु आए बिदेश, छोरा पनि आए तर अब नाति आउनु नपरोस् । वैदेशिक रोजगारीलाई पुख्र्यौली पेशा नबनाउँ ।
अन्त्यमा मेरो जिन्दगीमा आएको एउटा ठूलो आँधिबाट सबैलाई सजग गराउन म एउटा सन्देश दिदैछु । मेरो जिन्दगी बिग्रीए पनि अनि मैले दुःख कष्ट भोग्नु परे पनि नेपालमा भएका नेपाली युवा साथीहरूलाई भन्न चाहान्छु बिदेश भनेको जस्तो सजिलो छैन । न त बिदेशमा पैसा फल्ने बोट नै कतै भेटिन्छ , यहाँ त केबल वेदना पिडा दुःख अनि कष्ट र अपमानको भण्डार छ । बरु नेपाल मै केहि गरौ अर्काको देशमा १२ घण्टा काम गर्नु त्यति सजिलो छैन । न त खानको नै समय छ न त सुरक्षा नै हुन्छ । न त भनेको जस्तो काम पाइन्छ न त पैसा नै हुन्छ ।
बिदेशमा म जस्ता धेरै नेपाली छन जो पीडित छन अनि जिन्दगी बिग्रीएको हँुदा पनि काम गर्न बाध्य छन परिवारको लागि । अनि तिनै गन्नेमान्नेहरुका सामु झुकेर लिएको ऋण तिर्नको लागि । काम गर्न नसक्ने हँुदा पनि काम गर्न बाध्य छन ।
सरकार छ भनें त्यसले हामीजस्ताका कुरा सुनोस् । यो भड्खालोमा जाकिनु अगाडी नै नेपालमै युवालाई रोजगारी दिलाओस् । यसरी भकाभक युवालाई सरकारले नबेचोस् । भविष्यका लागि कुनै योजना बनाओस् । ताकी आफ्नो परिवारको गुजारा चलाउन कै लागि कोहि कसैले पनि बिदेशमा आफ्नो प्राण दिन नपरोस ।
अन्त्यमा तमाम नेपाली दिदिबहिनी दाजुभाइहरुमा देखिएको वैदेशिक रोजगारीको मोह अनि उत्सुकतालाई केहि हदसम्म रोक्न सक्ने मनसाय लिएर मैले आफुले पाएको, भोगेको अनि देखेको पीडा मार्फत सार्वजनिक गरेको छु । पक्कै तपाईले मनन गर्नुहुनेछ भन्ने आशा छ ।
नारकिय भूमि मलेसियाबाट बिनोद बिसी