देश टुक्रियाउँछु भन्नेहरुका नाममा

 

निमेश गिरी, युएई   

प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र जे भने पनि नेपाली जनताले भोकतन्त्र मात्र पाए । समय अनुसार क्रान्ति क्रान्ति भन्दै धेरै कराए, रुमानी सपनाहरु जसरी आए त्यसरी नै हराए । मज्जाले मोज गरेर मुख मिठ्याउनेहरुले मनमोहक जीवन पाए । सपनाहरु वेच्नले जनताको नाम भजाउदै क्रान्तिको विगुल वजाए । समान अधिकार चाहिन्छ, जातिय समानता पाईन्छ र मानिसले मानिस भएर वाँच्ने अधिकार ल्याईन्छ, यस्तै भन्थे । वाह, क्या वात ! आकाशको जुनलाई सुन वनाएर ल्याउने प्रतिवद्धता गरिने हाम्रो देशमा छिमेकीले सीमा बन्द गर्दा नुन पनि नपाईने वाध्यता छ यो वेग्लै समस्या हो । 

“देश भनेको माटो होईन, जनता हो” हरेक पटक करायो, सत्तामा पुगे पछि जनताको सपना हरायो । जंगलमा पसेर होस की कुर्सीमा वसेर होस, प्रतिपक्षमा होस वा सत्ता पक्षमा होस तर नेतालाई दैनिक भत्ता होस । राति सुत्ने वेलामा कुखुराको साप्रो होस, वदेलको मासु चाम्रो होस, जोनी वल्कर अलि राम्रो होस । यस्तै छ नेताको चाल अनि, कहाँ हुन्छ जनताको राम्रो हाल । 

भर्खैरै हो हामीले समाचारमा सुनेको, सीकेको कुरा मनमनै गुनेको । तराई वेग्लै देश हो रे ! कस्तो अचम्म लागेको । मैले पनि नेपालको ईतिहास पल्टाएर यसो हेरेको । ईतिहासमा उनले भने जस्तै तराईमा सेन वंशको नै राज थियो । तर एकछत्र होईन रे क्या ! कतै लिम्वुवान त कतै मिथिला, कतै नेवा त कतै गोर्खाली । के अव त्यसो भए सवैलाई देश नै माग्ने हो ? कस्तो अचम्म, टुक्रा टुक्री जुटेर अमेरीका संयुक्त राज्य अमेरीका वन्न हुने । केरल, मद्रास, कर्नाटक जस्ता कति कति भारतमा पनि छ नी । के उसो भए सवैले आफ्नो आफ्नो देश माग्ने ? ईतिहासलाई सम्झेर त्यसैको पुनरावृति गर्ने भए पृथ्वी गोलो छैन च्याप्टो हुन्छ । हवाई जहाज पनि लुप्त हुन्छ । किन पढ्नु ठेलीका ठेली पुस्तक र लेख्नु नामको अगाढी डाक्टर ? ईन्जिनियर र शिक्षक ? पसे हुन्छ सवैजना जंगल । अनि खोज्ने कन्दमुल र रुखको जरा कस्तो हुन्थ्यो होला नाङ्गा नाङ्गैको संसार ? किनभने कपडा पनि त पछि त हो बनेको त्यो भन्दा अगाडी त पातले नै त हो काम चलाएको । 

हो देशमा विभेद छ । मधेसलाई मात्र हैन पहाडलाई पनि हेला गरेको छ । जातिय विभाजनले तल्लो र माथिलो जाति वनेको छ । तराईको कुनै नेपाली काठमाडौंमा भैया कहलिन्छ, चाहे त्यो वुढो होस वा जवान । अनी हुन्छ धोति र भेले पनि । त्यो अपमान सहन नसक्दा उ प्रत्येक वेलुका कोठामा पुगेर सधै रुन्छ । आफ्नै देशमा अनागरिक बनाइएपछि कसको मन गह्रौं हुन्न र ? तर त्यही मौका हेरी वेग्लै देश चाहिन्छ भन्दै सीके राउत कुर्लन्छन् । र त्यहि प्रवृत्तिका लोभिपापीहरु हाँमा हाँ मिलाइरहन्छन् । 

सत्ता र भत्ताका लागि दुईचार टाउकालाई शासन र राशनको आसन दिएर निर्धो, निमुखा, सोझा र सिधा जनतालाई सरकारले समान पहँुच र अधिकार प्रदान नगरेको सत्य हो । म ठोकेर भन्छु । तर त्यहि नाममा अहिले देशका टुक्राका अवशेष खोज्दै हिंड्नु हुन्न ।  

त्यसैले रावत तिमी आऊ, ज्ञान बढाउ । दाईजो नपाएर छोरी चेली मर्नु नपरोस । तल्लो र माथिलो जातको चपेटमा सड्नु नपरोस । एक गिलास रक्सीमा बाबु वाजेको सम्पती साट्नु नपरोस् । यीनै ज्ञान तराईमा बाँडेर त्यहाँका बासिन्दालाई अकवरी सुन वनाउन तिमी आऊ । सभ्य र समुन्नत मधेश वनाऊ । धर्मको राग अलापेर बोक्सी भाका छन । ईतिहासको विस्कुन फिजाएर हैन, मलमुत्र पिउन विवस निर्धो निमुखाको लागि उदाउदो घाम बनेर आऊ । तर मधेश वेग्लै देश बनाउने हल्ला नचलाऊ । 

समाज फुटेर, टुटेर अगाडी जाने होईन । तिमीले मरेपछि हातमा केही लाने होईन । परिवर्तनका नारा भजाएर धेरैले रगत वगाए । अखिरमा पहाडको न्यौपाने होस वा तराईको मुसहर, हिमालको शेर्पा होस वा मध्य पहाडको लिम्बु, सवैले अधिकारको नारा उराले परिवर्तनको आन्दोलनमा जीवन गुमाए । तर हातमा लाग्य शुन्य भयो । हिजो बन्दुक बोकेका थुप्रै हातहरु आजकाल परदेशमा पसिना वगाउदै छन् । वालुवामा फूल फूलाउदै छन् । विगतको विरासतको रति रागको रुमानि सपनावाट विउँझिएर यथार्थको धरातलमा उभिएका छन । अनि आफ्ना सन्ततीको उज्वल भविष्यको कल्पनामा श्रम वेचिरहेका छन् । 

परिवर्तन आजको आवश्यकता हो । समाजमा जाति, धर्म, भाषाको आधारमा विभाजन हुनु हुँदैन । अधिकार सवैलाई बराबर प्रत्याभुत हुनुपर्दछ । त्यसको कामना र चाहना हामी पनि गर्छौ । आफ्नै माटोमा आफन्तका गला रेटेर, गोली ठोकेर अधिकार पाउने भए पाईसक्नु पर्ने हो । त्यसैले भुगोललाई चिरेर, भ्रमलाई घोलेर अनि नयाँ देश वनाउन छिमेकी दाजुभाईको छाति टेकेर परिर्वतन सम्भव छैन ।

तिमी त विदेशमा पसेर नाशामा वसेर चन्द्र सुर्यको हिसाव गर्न सफल छौ । तिम्रो मष्तिष्कमा ज्ञान र विज्ञानको सुत्रले सहकार्य, सहअस्तित्वमा विश्वास गर्ने विवेक छ । तर किन गर्दैछौ समाजमा हत्याको र हिंसाको विजारोपण ? छि कस्तो विडम्वना ! हाम्रो माटो र वाटोको विकासको नक्सा कोर । शिक्षा र चेतनाको आभाव छ । समानता र सभ्य समाजको निर्माणका लागि संकल्प गर्दै मानचित्र कोर । हामी काँधमा काँध दिन तयार छौ । देश विकास र समाजको समृद्धिकालागि बालुवामा वगाएको पसिना आफ्नै माटोमा वगाउन फर्किन तयार छौ । शिक्षा र चेतनाको आभाले दमनकारी व्यक्ति र दलको विरुद्धमा बुलन्द आवाज उराल । चुनावी माहोलमा तिनीहरुको अस्थित्व झराल्न हामी तयार छौ । तर बन्दुक र हतियारले होईन, कोदालो, फरुवा, कलम र बुलन्द आवाजहरुले परिवर्तन सम्भव छ । 

यदि होईन तिमीलाई मधेशको वेग्लै सरकार वन्ने चाहना । देशलाई टुक्राउने कल्पना र भाईचाराको सम्वन्धलाई फुटाउने चाहना हो भने । तिमी तिम्रा डाक्टरी गरेका प्रमाणपत्र वोकी फर्कनु वेश होला । किनकी हाम्रो पनि नशा नशामा तातो र रातो रगत वग्छ । रंग फरक छ, वोली र व्यवहार फरक छ । भाषा र संस्कृति फरक छ । तर देशप्रतिको माया अविचलित छ । त्यसैले सीके रावत देश टुक्राउने हल्ला नचलाऊ ! हामीलाई बौलाहा वनाउने अभियान नचलाउ । हामीलाई थाहा छ, देश भनेको माटो होईन । देश भनेको भावना हो । हामी आम नेपाली जनताको सौहाद्र्ध, सम्मुनत र सह अस्तित्वको भावना नै देश हो । वरु मधेशको अशिक्षा र अमर्यादित व्यवहार रुपी चेतनालाई टुक्राउन । त्यसैले सुन हाम्रा आवाजहरु ! 

मैले पुजेको माटो

तिमीले हिडेको वाटो

हामी सवैले गोडेको माटो

फगत देश होईन

कुनै सीमारेखाको चौघेरामा वाँधिएको

आली र डिलले साँधिएको जमिन

देश हुन सक्दैन

कदाचित त्यो देश हुदैन

देश त त्यो हो

जहाँ मेची रुदाँ रोल्पा रुनुपर्छ

सगरमाथा हाँस्दा कर्णाली मुस्कुराउनु पर्छ

त्यो आँसु माटोले होईन

मनले पोख्नु पर्छ

त्यो हाँसो हिमालले होईन

मुटुले वोक्नु पर्दछ

त्यसैले देश भनेको माटो होईन

कहि त्यो बञ्जर हुन्छ

कहि त्यो मलिलो हुन्छ

कहि ढुंगैढुगा हुन्छ

कहि वालुवाको थुप्रो हुन्छ

त्यसैले देश भनेको माटो होईन

देश भनेको

त्यहाँको जनता हुन्छ

जनताको मानव प्रतिको समानता हुन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय