श्रीमति खोज्न साउदी !

उमा पौडेल, नवलपरासी 

उनी कमाउन मलेसिया पुगेका थिए । घरमा थिए चार सन्तान सहित श्रीमति र बाबुआमा । ऋण थियो । मलेसियाको उनको एक्लो कमाईले त्यो तिर्न पुगिरहेको थिएन । त्यसैले उनी मलेसियामा नै हुँदा यता घरमा श्रीमति मालतीले अर्कै योजना बनाइन् ।

देशमै सवैभन्दा धेरै बैदेशिक रोजगारीमा जानेहरुको जिल्ला धनुषामा बैदेशिक रोजगारीमा जाने महिलाको तथ्याँक हेर्दा साह्रै न्यून छ । यो सरदर सवै मधेसी मुलका नेपालीको बसोवास भएको जिल्लामा देखिने तथ्याँक हो । अर्थात सरदर तराईका गाउँबाट बैदेशिक रोजगारीमा मधेसी मुलका महिला कमै जाने गरेका छन् । तथ्याँकले त्यहि भन्छ ।

तर नवलपरासीको सदरमुकाम परासीबाट झण्डै १० किलोमिटर पश्चिम तर्फ पर्ने बञ्जरिया गाविसको चित्र भनें फरक छ । यस गाउँबाट बैदेशिक रोजगारीमा गएका महिलाको संख्या उल्लेख्य छ । र, दुर्भाग्य त्यसरी गएकाहरु भारत हुँदै अवैध बाटोबाट घरेलु काम गर्न कुवेत र साउदी पुगेका छन् । भाग्यमा विश्वास गर्नेहरुका लागि मालती पासी तिनै अभागि मध्येकी एक हुन् ।

सासुलाई चार सन्तान जिम्मा लगाएर जेठानीको साथ लागेर साउदीका लागि ६ बर्ष अगाडी उडेकी उनी चाहेर पनि घर फर्किन पाएकी छैनन् । साउदी उत्रेपछि कागजपत्र नपुगेर फर्काएको बताउने मालतीकी जेठानी कुवेत पुगेर काम गरेर फर्किसकिन् । तर मालतीको फर्किने कुनै अत्तोपत्तो छैन ।

मनकुमारी अधिकारीको पासपोर्टमा उडेकी मालती साउदीको डेइरा भन्ने ठाउँमा काम गर्न पुगेको परिवारलाई खवर गरेकी थिइन् । उनले मलेसियामा रहेका श्रीमान् रविन्द्रलाई फोन गरेर आफूले निक्कै दुःख पाएको भन्दै रुने गरेकी थिइन् । आफूले केहि खान समेत नसकेको भन्दै उनले आफू घर फर्किन चाहेको बताएकी थिइन् । तर त्यो उनले चाहेजस्तो सजिलो थिएन ।

यहिबीचमा रविन्द्रका बाबु बिते । उनी मलेसियाबाट घर फर्के । र, त्यसपछि उनी चाहेर पनि विदेश जान सकेनन् । घरमा चार सन्तान छन् । आमा बेखवर भएका उनीहरु बाबुलाई पनि कहिंकतै जान दिन्नन् । “बाहिर कहिं जान खोज्दा छोराछोरी रुन्छन्, त्यहि भएर म कहिं बाहिर कमाउन जान पाउँदिन ।  यदि श्रीमति घरमा भएको भए म काममा जान्थें” रविन्द्र भन्छन् ।

साउदीको डेइरा भन्ने ठाउँमा बन्दर सुल्तान भन्ने मालिकको घरमा काम गर्ने बताएकी मालतिले आफू कहिलेकाहिं मालिक्निको माइत जेद्धामा पनि काम गर्न जाने गरेको घरमा बताएकी थिइन् । उनले आफ्नो साहु गरिव भएको, कामको समय ठेगान नभएको भन्दै घर फर्किन नदिएको बताएको रविन्द्रको भनाई छ ।

श्रीमति यसरी बेखवर भएपछि त्यसले रविन्द्रलाई रातदिन पोलिरहेको छ । “मेरी श्रीमति असल थिइन्, पक्कै साहुले आउन दिएन” रविन्द्र भन्छन् “तपाईहरुले जसरी पनि उनको उद्धार गरिदिनुपर्यो ।”

छोराछोरी बेलुका ओछ्यानमा पुगेपछि आमा सम्झेर सुँक्सुकाउने गर्छन् । रविन्द्र जसोतसो उनीहरुलाई आमा आइहाल्छिन् भनेर फकाउन त फकाउँछन् तर स्वयं रविन्द्रसँग पनि उनी कहिले फर्किन्छन् भन्ने जवाफ छैन ।

श्रीमतिको खोजिका लागि धेरैतिर हारगुहार गरेका रविन्द्र कुनै सीप नचले स्वयं साउदी जाने सुरमा छन् । त्यसका लागि उनले रकमको जोहो गर्दैछन् । “अव श्रीमति नआएपछि खोज्न भएपनि त जानै पर्यो” उनले भने “उता गएपछि पहिले फोन गरेको नम्वरबाट कतै पत्ता लगाउन सक्छु की ?

भिडियो हेर्नुहोस् 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय